९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

काउन्सिलको मिडिया सर्वेक्षण प्रतिवेदनप्रति सोसाइटीको आपत्ति

प्रेस काउन्सिलले सार्वजनिक गरेको मिडिया सर्वेक्षण प्रतिवेदनबारे मिडिया सोसाइटीले आपत्ति जनाएको छ।  नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलद्वारा जारी विज्ञप्तिमा उक्त सर्वेक्षण रद्द गरी क्षमायाचना गर्न माग गरिएको छ।

प्रेस काउन्सिल नेपालले जेठ १६ मा मिडियामाथिको विश्वसनीयतासम्बन्धी अध्ययन र सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो।  

काउन्सिलले सार्वजनिक गरेको प्रतिवेदन यस्ता थुप्रै अनर्गल दुष्प्रचार र दुराशयले भरिएको छ विज्ञप्तिमा भनिएको छ। 'त्यसकारण यसलाई तुरुन्त रद्द गर्दै प्रेस काउन्सिल नेपालबाट नेपाली मिडियाकै हुर्मत लिने कार्य हुन पुगेकोमा क्षमायाचना गर्नुपर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ। सर्वेक्षण प्रतिवेदन बदनियतपूर्ण, अवैज्ञानिक, गलत नियतबाट प्रेरित र हास्यास्पद रहेको सोसाइटीले निष्कर्ष निकालेको छ। 'आफैं सर्वेक्षण गर्ने, आफैं प्रतिवेदन तयार गर्ने र आफैंले सो बुझ्ने अचम्मको विधि अपनाउँदै प्रतिवेदन सार्वजनिक गरेर हास्यास्पद तमासा देखाइएको छ’, विज्ञप्तिमा भनिएको छ।

कोरोना महामारीको मौका छोपेर सार्वजनिक गरेको सर्वेक्षणले विधिको शासन र स्वतन्त्र पत्रकारिताको मर्ममा प्रहार गरेको सोसाइटीले बताएको छ। उक्त प्रतिवेदनले प्रेस काउन्सिल र त्यसका अधिकारीहरूको हैसियतलाई समेत धुलिसात पारेको विज्ञप्तिमा उल्लेख छ।  

'पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइन गरी देशभर २० हजारभन्दा बढी आमसञ्चार माध्यम क्रियाशील रहेको र त्यसका लाखौं उपभोक्ता नेपाल र विदेशमा रहेको उल्लेख गर्दै सोसाइटीले जम्माजम्मी १ सय ७६ जनामा सर्वेक्षण गरी विश्वसनीयतासम्बन्धी नतिजा सार्वजनिक गर्नु भनेको नेपालका मूलधारका सञ्चार माध्यमको तेजोबध गर्ने कुत्सित उद्देश्य रहेको छ', विज्ञप्तिमा भनिएको छ।  

उक्त प्रतिवेदनले सर्वेक्षण प्रणालीको प्राज्ञिक र वैज्ञानिक विधिको समेत हुर्मत लिएको छ सोसाइटीको ठहर छ। विज्ञप्तिमा मिडिया काउन्सिल विधेयक छिटो पारित गर्न पनि माग गरिएको छ।  

 

 

प्रकाशित: ३० जेष्ठ २०७७ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App