७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस सडकमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाका कारण विकराल स्थिति बनेको भन्दै असार २ गते स्वदेश र विदेशबाट एकसाथ कार्यक्रम गरी सरकारको ध्यानाकर्षण गराउने भएको छ । कोरोना नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको कांग्रेसले आगामी दिन अझै विकराल बन्नसक्ने जनाएको हो ।

‘२०७७ असार २ गते सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, अक्षमता र भ्रष्टाचारविरुद्ध स्वदेश तथा विदेशबाट एकसाथ सामाजिक दुरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन–पत्र बुझाउने कार्यक्रम रहेको छ,’ कांग्रेसले भनेको छ ।  

संघीय संसद्, संसदीय दलको तर्फबाट प्रधानमन्त्रीविरुद्ध निर्णय गरेको कांग्रेसले प्रदेशमा मुख्यमन्त्री, ७७ वटै जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारी र जनसम्पर्क समितिले नेपाली दूतावासमार्फत प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण–पत्र बुझाउने भएको छ ।

लकडाउन घोषणाको ८० दिनसम्म कोरोना नियन्त्रणमा सरकारले राष्ट्रिय विमर्शका साथ ठोस दृष्टिकोण र आवश्यक कार्ययोजना निर्माण गर्न सरकारले नसकेको भन्दै उसले भनेको छ, ‘यस्तो विषम परिस्थितिमा पनि सरकार अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुब्नुले वर्तमान सरकार अक्षम र गैरजिम्मेवार बन्दै पूर्ण असफल भएको छ ।’  

जनशक्ति र स्वास्थ्य सामग्रीको अपर्याप्ता देखाएर पिसिआर परीक्षण सुस्त गतिमा गरिनुु, मानवीय संवेदनशीलताको ख्याल नगरी मापदण्डविपरीतका क्वारेन्टिनहरू निर्माण गरेका जस्ता विषयमा पार्टीले सरकारको निरन्तर ध्यानाकर्षण गराउँदै आए पनि त्यसलाई बेवास्ता गरेको उसले जनाएको छ ।

यसैबीच, कांग्रेसले पछिल्लो अवस्थाका विषयमा छलफल गर्न शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ ।

प्रकाशित: ३० जेष्ठ २०७७ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App