coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एक ट्रेकिङ गाइडको कथा : मजदुरको कोही छैन

थोराङ पासमा जुन तामाङ ।

जुन तामाङले ट्रेकिङ गाइड गर्न थालेको झण्डै डेढ दशक हुन लाग्यो तर उनलाई यस्तो दिन आउला भन्ने लागेकै थिएन। उनले नाकाबन्दी, भूकम्प, र देशमा भएको द्वन्द देखे तर त्यो बेलामा पनि काम ठप्प भएको थिएन। 'काम थोरै पाइन्थ्यो तर यसरी घरमै बस्नु परेको थिएन', तामाङ भन्छन्, 'कोरोना महामारीले त उठिवासनै बनायो।'

उनले विशेषगरी अन्नपूर्ण क्षेत्रमा पथप्रदर्शकको काम गर्छन्। लकडाउन अगाडि राउन्ड अन्नपूर्ण, मर्दि हिमाल ट्रेक, अपर मुस्ताङ, पुनहिल लगायतका गन्तव्यमा पर्यटक लिएर उनी गइरहन्थे। देशमा कोरोना महामारी नियन्त्रणका लागि लकडाउन घोषणा भएको दिन पनि उनी आफ्ना विदेशी पाहुना सहित हिमाली क्षेत्रमै थिए। उनलाई लागेको थिएन, यति लामो समय काम बन्द होला भन्ने। त्यसैले उनी  आफुसँग ट्रेकिङमा निस्किएका फ्रान्सका पर्यटक सहित एक हप्ता जस्तो अन्नपूर्ण क्षेत्रमै बसे। तर महामारी नियन्त्रण नहुने र लकडाउन नखुल्ने बुझेका उनीहरु सातौं दिन पोखरा झरे। 'पोखरा त झरियो तर के गर्ने ?', उनको मनमा प्रश्न थियो। यतिबेला सम्म उनलाई लागिसकेको थियो अब काम नहुने भयो। ट्रेकिङबाट पोखरा झर्दा लेकसाइड सुनसान जस्तै थियो। यति सुनसान लेकसाइड उनले पहिलो पटक देखेका थिए। 'सँधै पर्यटकले गुल्जार हुने बैदाम क्षेत्र एक्लै हिड्दा पनि त्रसिएला जस्तो थियो', उनले भने, 'त्यो चकमन्नताले मेरो मनमा भने अब हाम्रो रोजिरोटी गुम्यो भन्ने अर्को डर थप्यो।' भयो पनि त्यस्तै। पोखरा बसेर साध्य थिएन। न काम थियो, न खाने ठाउँहरु थिए, न बोरोजगार भएर शहरमा बस्ने अबस्था नै थियो। उनी फर्किए आफ्नै गाउँ माछापुचछ्रे तक्रो।  

गाउँमा पुगेर खेती किसानीमै जोडिए। 'के गर्ने खान त पर्यो'', उनले भने , 'कुरिलो र अलैंचीका विरुवा लगाएँ।' अहिले उनले रोपेका विरुवा हुर्कँदैछन्। तर कृषकले उत्पादन गरेका अनाजले बजार नपाएको सुन्दा जुनको मन खिन्न हुन्छ। भएको रोजगारी महामारीसँगै गुम्यो। फेरी कतै खेती किसानीमा पनि अप्ठ्यारो पर्ने त होइन भन्ने पिरले उनलाई पोरोलिहन्छ।  

अन्नपूर्ण वेस क्याम्पमा जुन सहित साथीहरु

जुन एक समय वैदेशिक रोजगारीमा समेत गएका थिए। केही समय गल्फमा बसे। रेमिट्यान्स पठाए। उनको मनले फेरी तिनै डाँडा पाखा सम्झियो। फेरी नेपाल आएर पुरानै काम गर्न थाले। ट्रेकिङ गाइड भएर फेरी उकालो चढ्न थाले। अहिले सोच्छन् विदेशमै भएको भए पनि यस्तै समस्यमा भइने रहेछ।

उनलाई सँगै ट्रेकिङ गर्ने साथीहरुको सम्झना आइरहन्छ। ट्रेकिङ, र भरिया बनेर मात्रै दैनिक गुजारा गर्ने र परिवार पाल्ने साथीहरु पनि छन् उनका। ति साथीहरुको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको देखेर उनको मन दुख्छ। 'मन दुखेर के गर्ने। गर्नै पो के सकिदो रहेछ र,' उनी खिन्नता प्रकट गर्छन्। बाँडेको राहत लिएर मात्र दैनिकी गुजारा गर्न नसकिनेमा उनी प्रष्ट छन्। 'राहत ल्याएर १ महिना खाएर भएन', उनले भने, 'यहाँ त कामको सवाल भयो। जीन्दगी र परिवारको भविष्य भयो।'    

फेरी पर्यटन क्षेत्र राम्रोसँग सुचारु हुन अझै २/३ वर्ष लाग्छ भनेको समाचार बेला बेला उनले पनि पढ्छन्। उनलाई पनि त्यसमा सत्यता महसुस हुन्छ। ज्यानकै खतरा मोलेर कोही घुम्न हिँढ्दैन भन्नेमा उनी प्रष्ट छन्। उनले त्यो पनि बुझेका छन्, विश्वमा रोजगारी, व्यवसाय गुम्दा मानिससँग पैसा पनि नहुन सक्छ। यसैले सबै खुले पनि मानिस घुम्न निस्किहाल्लान् भन्नेमा उनी ढुक्क छैनन्।

एक जना पर्यटक ट्रेकिङमा जाँदा तीन जानाले प्रत्यक्ष रोजगारी पाउने उनको अनुभव छ। ड्राइभर त्यसपछि गाइड र पोर्टर। यी प्रत्यक्ष जोडिए पनि ट्राभल एजेन्सी, होटलदेखि धरैको साङ्लो यसमा जोडिन आउने उनले बुझेका छन्। तर अहिले त्यो चेन टुटेको छ।  

यही वर्ष सरकारले भ्रमण वर्ष घोषणा गरेको थियो। उनलाई लागेको थियो अब पर्यटक धेरै आउने छन्। पर्यटक धेरै आउनु भनेको जुनका लागि काम पनि धेरै आउनु हो। पर्यटनमा दुई सिजन हुन्छन्। ति सिजन भरी काम भरिभराउ होला र अफसिजनमा पनि छिफुट काम भइनै रहन्छ भन्नेमा उनि ढुक्क थिए। उनी मात्र होइन सँगै पथप्रदर्शक बनेर हिँड्ने उनका साथी पनि बेला बेला यही कुरा गर्थे। अनी अघि पछि भन्दा बली बढी पैसा जम्मा गरेर आफै पनि यही क्षेत्रमा केही गर्ने सपना सुनाउँथे उनका साथीहरु। तर ति सपना सपनामै विलिन भए। 'कोरोना महामारी पछि मानिसलाई बाँच्नु नै ठूलो कुरा भएको छ', जुन भन्छन्, 'तर त्यसो मात्र भनेर नहुने रैछ। रोगसँग त लडिएला तर काम नै नभएपछि भोकसँग कसरी लड्ने ?'  सरकारले जेठ १५ गते जारी गरेको बजेट भाषण आउँदा उनले पनि सुने। पर्यटन क्षत्रका मजदुरलाई केही राहत छ कि भनेर जुनले बजेटमा खोजे तर उनले भेटेनन्। त्यो नभेटेपछि उनलाई लाग्यो मजदुरको कोही छैन।  

 

प्रकाशित: २५ जेष्ठ २०७७ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App