coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसद्वारा संसद् अवरुद्ध, संसदीय विशेष समिति गठन गरिने भएपछि बैठक सुचारु

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ १० गते रुकुममा गैरदलितसँग प्रेम सम्बन्ध राखेको आरोपमा नवराज बिकसहित ६ जनाको मृत्यु भएको घटनामा संसदीय विशेष समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेको छ ।  

शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक निर्धारित समयभन्दा ४५ मिनेट ढिला सुरु भएको थियो । बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुषालले निर्मला पन्तको जस्तै रुकुम घटनाको राजनीतीकरण गरेर घटनालाई सामसुम पार्न खोजेको भन्दै संसदीय विशेष समिति गठन गर्न माग गरेकी थिइन् । उनले समिति गठन नभएसम्म संसद्को कारबाही अघि बढ्न नदिने घोषणा गर्नासाथ कांग्रेसका सबै सांसदले आआफ्नो स्थानबाट उठेर सदन अवरुद्ध गरेका थिए । 

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले रुकुम घटनाको छानबिन गर्न विशेष समिति गठन गरिने बताए । उनले अघिल्ला बैठकमा पनि यसबारे कुरा उठाइएको भन्दै दलहरूसँग परामर्श गरेर समिति गठन गरिने जानकारी दिए । घटनाको अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेस गर्न आवश्यक छलफलपछि प्रतिनिधिसभाको नियमावलीको नियम १७७ बमोजिम विशेष समिति गठन गरिने उनले बताए । त्यसपछि कांग्रेस सांसद आआफ्नो स्थानमा बसेपछि बैठकको कारबाही सुरु भएको थियो । 

विशेष समिति गठन गर्नुपरेमा समितिले गर्नुपर्ने काम र सोको समयावधि समेत उल्लेख गरी समितिमा रहने सदस्यको नामावलीसहितको प्रस्ताव सभामुखले संसद् बैठकमा प्रस्तुत गर्ने व्यवस्था नियमावलीमा छ । गत जेठ १० गते राति पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज बिकसहित ६ जनाको मृत्यु भएको थियो । गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको पीडित पक्षको दाबी छ भने लखेट्दा नदीमा हाम फालेको गाउँलेको भनाइ छ । यसबारे के भएको हो सत्यतथ्य पत्ता लगाउन संसदीय समितिले अध्ययन गर्नेछ ।  

प्रकाशित: २४ जेष्ठ २०७७ ०१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App