६ चैत्र २०८० मंगलबार
राजनीति

घेरा हाली लखेट्दा नदीमा खसेर मृत्यु : समिति

ठूलो संख्याका गाउँलेले घेरा हाल्दै ढुंगामुढा गरी लखेट्दा शरीर र टाउकोमा लागी भेरी नदीमा खस्दा रुकुमको चौरजहारीमा ६ जनाको मृत्यु भएको रिपोर्टिङ भएको छ । गृहमन्त्रालयबाट अनुसन्धानका लागि गएको सहसचिव जीतेन्द्र बस्नेत संयोजक रहेको समिति अनुसन्धान सकेर काठमाडौं आएपछि गृहमन्त्री रामबहादुर थापासमक्ष टोलीले शुक्रबार त्यस्तो रिपोर्टिङ गरेको हो ।

गाउँलेले लखेट्दा उनीहरूलाई ढुंगाले चोट लागेको र चोट लागेका व्यक्तिहरू भेरी नदीमा पसेपछि गाउँलेले उनीहरूलाई नै लक्षित गरी थप ढुंगा हान्दा लागेर मृत्यु भएको रिपोर्टिङमा उल्ल्ेख छ । बुधबार राति काठमाडौं आएको सो समितिले आफ्नो अनुसन्धान पूरा गरी त्यहाँको वस्तुस्थितिबारे गृहमन्त्री थापालाई जानकारी गराएर प्रतिवेदन लेख्न थालेको छ । समितिमा सहसचिव बस्नेत, एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिवद्वय वशिष्ट घिमिरे र माधव ढकाल छन् ।  

सुरुमा २५ देखि ४५ मिटरसम्मको दुरीमा केटी पक्ष र केटाहरूको ग्याप रहेको, केटी पक्षकाले ढुंगा हानेको, यसरी ढुंगा हान्दा उनीहरूलाई लागेको र घाइते अवस्थामै भेरीमा हाम्फाल्दा गाउँलेले थप उनीहरूमाथि थप ढुंगा वर्षाएका कारण उनीहरूको मृत्यु भएको गृहमन्त्री थापालाई समितिका संयोजकसहितको टिमले ब्रिफिङ गरेको थियो ।

‘तीनतिर छेकेको देखिन्छ, भाग्दै गर्दा उनीहरू एउटा भंगालोमा अडेको र त्यहाँ घाइते भएको तथा त्यहाँबाट उम्केर भेरी नदीमा हाम्फालेको देखिन्छ । त्यहाँ केटीको दाइ र अन्य गाउँले मिलेर ढुंगा हान्दा उनीहरू थप घाइते भई पौडिन नसक्दा मृत्यु भएको हुनुपर्छ,’ समिति स्रोतले भन्यो । समितिले पाएको जानकारीअनुसार पौडिन नजान्ने एक जना सन्जु विकबाहेक अन्य सबै पौडेर वारिपारि गर्ने युवाहरू थिए ।  

नवराज विकलगायत युवाहरू दुईतिर बाँडिएर भागेको पनि समितिले जनाएको छ । ‘नवराज विकसहितको एउटा समूहलाई भने केटीको दाइलगायत गाउँलेले लखेटेको देखिन्छ,’ समिति स्रोतले भन्यो, ‘उनीहरू नदीमा हाम्फालेपछि पनि गाउँलेले ढुंगा हानिरहेका थिए ।’

केटी भगाउन भनेर १० जेठमा जाजरकोटबाट गएका नवराजसहितका १९ जनामाथि सोतीका स्थानीयले आक्रमण गरेका थिए । लकडाउनका बेला उनीहरू गाउँमा आएको भन्दै गाउँलेले लखेटेको बताइए पनि नवराज विकलगायत युवाहरू केटी भगाउन त्यहाँ पुगेका थिए । सोही क्रममा नवराजसहित टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक, गोविन्द शाहीको हत्या भएको थियो । उनीहरूको पोस्टमार्टम रिपोर्टमा समेत शरीरभर निलडाम देखिएको थियो ।

गृहमन्त्री थापाले रुकुम पश्चिमको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका थिए । जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीचको प्रेम–सम्बन्धको विषयले रुकुममा ६ जनाको मृत्यु भएको थियो ।  

सो घटनामा संलग्न भएको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर, आमा प्रकाशी मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

घटनामा संलग्न भएको आरोपमा थप ६ जना केही दिनपछि पक्राउ परेका थिए । यसरी पक्राउ पर्नेको संख्या १८ पुगेको थियो । पीडित परिवारले २० जनाविरुद्ध जाहेरी दिएका छन् । जाहेरीमा उल्लेखित दुई जना फरार रहेका छन् । सो घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली तथा नेपाल प्रहरीका एसएसपी पोषराज पोखरेलेको टोली अहिले पनि रुकुममै छ ।

प्रकाशित: २४ जेष्ठ २०७७ ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App