coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ नीति तथा कार्यक्रमः स्वास्थ्य र कृषिमा योजनाका बिस्कुन

स्वास्थ्य र कृषि क्षेत्रलाई उच्च महत्व दिँदै प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७–७८ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार प्रदेशसभामा पेश गरेको छ। स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा योजनाका बिस्कुन लगाउँदै सरकारले नीति कार्यक्रम अघि सारेको छ।  

प्रदेश १ का प्रत्येक जिल्ला अस्पतालमा कम्तीमा चार वटा भेन्टिलेटरसहितको स्वास्थ्य सेवा सुरु गर्ने, प्रदेशमा सरुवा रोग अनुसन्धान तथा उपचार केन्द्र बनाउने , कोरोनाले प्रभाव परेको कृषि क्षेत्रका लागि ४५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा पनि नीति तथा कार्यक्रममा गरिएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कोरोना कहरले रोजगारी गुमाएर विदेशबाट फर्कने र प्रदेशका बेरोजगार २ लाख युवालाई रोजगारीका लागि आधार तयार गरिनेछ।  

‘आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि विषयगत रुपमा स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा रहने छन् भने दशौं हजारको संख्यामा विदेशमा आफ्नो रोजगारी गुमाएर घर फर्किएका र लाखौंको संख्यामा फर्कने यस प्रदेशका युवाहरुका लागि उत्पादनशील रोजगारी व्यवस्था गर्न उद्योग र भौतिक पूर्वाधार विकास उच्च प्राथमिकतामा रहने छन्’, नीति तथा कार्यक्रममा भनिएको छ ‘विद्यमान उत्पादन र वितरणको परम्परगत प्रणालीमा व्यापक सुधार गरिनेछ। त्यस प्रणाली मार्फत् समाजको सबभन्दा तल्लो वर्गका समुदायमा पहुँच पुग्ने गरी न्यायोचित वितरणको सुनिश्चत गर्दै समाजवादको आधार निर्माणमा जोड दिइनेछ।’  

कोभिड १९ को महामारीले खडा गरेको चुनौती र त्यससंगै जोडिएर आएका अवसरहरुलाई समेत ध्यानमा राखी भविष्यमा आइपर्ने सम्भावित महामारीहरुसँग सुनियोजित रुपमा जुझ्न, बिरामीहरुको उचित उपचार र व्यवस्थापन गर्न तथा सुक्ष्मातिसुक्ष्म जिवाणु र मानव स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्न, जडीबुटीको उपयोग र उपयोगिताका बारे प्रदर्शन, प्रचार र तालिम सहित उपचार सेवा प्रदान गर्न एक प्रादेशिक बहुविशिष्टीकृत सेवा आरोग्य अस्पताल तथा सरुवा रोग अनुसन्धान केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी सरकारी, सार्वजनिक तथा निजी साझेदारीमा निर्माण कार्य शुरु गरिने पनि सरकारले घोषणा गरेको छ।  

त्यस्तै कोभिड १९ को महामारीका कारण बैदेशिक रोजगारी गुमेका तथा स्वदेशमा बेरोजगार रहेका उत्साहित युवाहरु अधिकांश कृषि, उद्योग र स्वरोजगारमा आवद्ध भएको हुने अनुमान एबं बिश्लेषण गरी उनीहरुको सिप र अनुभवयुक्त मानवपूँजीलाई उत्पादनशील क्षेत्रसँग जोड्न, उनीहरुमा भएको आत्मविश्वासलाई पुनर्ताजगीकृत गर्न र व्यवसायिकताद्वारा कृषिक्षेत्रको आत्मनिर्भरतालाई कायम राख्दै अझ समृद्ध बनाउन स्थानीय तह, सहकारी एवम् निजीक्षेत्र, बैंक तथा वित्तिय क्षेत्र र स्वीस बिकास नियोग समेतसँगको सहकार्यमा कार्यान्वयन हुने गरी एक कोरोना पुनरुत्थान कोष खडा गरिने उल्लेख छ।  मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम र मेरो कृषि, मेरो पौरख भन्ने नाराका साथ प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम कार्यान्वयन गरिने सरकारले घोषणा गरेको छ।  

प्रदेशका जिल्लास्थित अस्पतालहरुलाई आइसोलेन वार्ड सहित १०० शैय्याको क्षमतामा स्तरोन्नती गरिने नीति कार्यक्रममा उल्लेख छ। आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा चार वटा भेन्टिलेटर सहित आवश्यक चिकित्सक सहित जनशक्तिको ब्यवस्था मिलाइनेछ। कोशी अस्पताललाई प्रदेश मातहत ल्याउन पहल थालिने  र स्तरोन्नतिको कार्य शुरु गरिने जनाइएको छ। मेची अस्पताललाई कम्तिमा ६ वटा भेन्टिलेटर सहित स्तरोन्नति गरिने ,  सबै अस्पताल तथा आयुर्वेद संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड निर्धारण र कार्यान्वयन गर्दै आयुर्वेद, प्राकृतिक चिकित्सा तथा होमियोप्याथी सेवाको समेत सेवा विस्तार गर्दै लगिने पनि सरकामरी घोषणा  छ।  

धनकुटामा जिल्ला अस्पताललाई ६ वटा भेन्टिलेटर सहित बहु(बिशिष्टिकृत प्रादेशिक शिक्षण अस्पतालको रूपमा स्तरोन्नति गर्दै लगिने र  स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरोन्नतीमा सहकार्य गरिने नीति कार्यक्रममा उल्लेख छ।  

 

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App