coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सत्तापक्ष र प्रतिपक्षबीच जुहारी

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम

गण्डकी प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्षबीच प्रदेशको नीति तथा कार्यक्रमको पक्ष र विपक्षमा जुहारी चलेको छ । आइतबार प्रदेशसभामा प्रस्तुत भएको प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सत्तापक्षीय सांसदहरूले नीति तथा कार्यक्रम २०७७÷७८ राम्रो तथा प्रतिपक्षले नराम्रो भन्दै जुहारी खेलेका हुन् ।

नीति तथा कार्यक्रम राम्रो भन्ने सत्तारूढ सांसदहरूले कोरोना केन्द्रित गर्दै प्रदेशको विकास र समृद्धिको खाकासहित नीति तथा कार्यक्रम आएको बताएका छन् भने प्रतिपक्षी सांसदहरूले सरकारले कोरोनालाई चिन्न नसकेकाले त्योसँग लड्न र त्यसबाट प्रभावित क्षेत्रलाई पुनरुत्थान गर्न ठोस योजना र कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।

सत्तारूढ नेकपाका सांसद राजिव पहारीले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारसँगै यसबाट प्रभावित पर्यटनसहितको अर्थतन्त्रलाई चलायमान गराउने ठोस खाका लिएर नीति तथा कार्यक्रम आएको बताए । ‘नीति तथा कार्यक्रम प्रदेशको समृद्धिको सपना पूरा गर्ने भिजन र मिसनसहित कार्यान्वयन गर्ने योजनासहित आएको छ ।’

सांसद दीपक कोइरालाले पटकपटक पढ्दा पनि नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ नपाएको बताए । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने उद्देश्यले आएको नीति तथा कार्यक्रमले कोरोना परास्त गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

सांसद प्रभा कोइराला, मनबहादुर गुरुङ, इन्द्रलाल सापकोटा, धनञ्जय दवाडी, रामबहादुर गुरुङ, दिलमाया रोकाले वर्तमान असामान्य अवस्थामा आएको नीति तथा कार्यक्रम आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित आएको बताए ।

प्रतिपक्षी सांसदहरू ओमकला गौतम, डोबाटे विश्वकर्मा, विष्णुप्रसाद सापकोटा, ललितकला गुरुङलगायतले जनताको भावना, चाहना र इच्छा, आकांक्षा तथा वर्तमान परिस्थितिको आवश्यकताविपरीत नीति तथा कार्यक्रम आएको आरोप लगाए । अहिले आएको नीति कार्यक्रमले जनताको रोग र भोक नटर्ने उनीहरूको भनाइ छ ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम साहीले नीति कार्यक्रम सुन्दा र पढ्दा राम्रो लागे पनि कार्यान्वयन हुने सम्भावना नदेखेको बताए । संसद्को अर्को बैठक यही जेठ २१ गते बुधबार पूर्वाह्न ११ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

प्रकाशित: २१ जेष्ठ २०७७ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App