१५ चैत्र २०८० बिहीबार
राजनीति

कांग्रेस सांसदद्धारा संविधान संशोधन विधेयक दर्ता

नेपाली कांग्रेसका केही सांसदहरुले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्। विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरुले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन विधेयक दर्ता गराएको बताएका छन्।  

सांसद अमरेशकुमार सिंहले यस अघिको कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई नै अगाडि बढाइएको बताए। उनले आफुहरुले दर्ता गराएको विधेयकले सम्पूर्ण जनतालाई समानताको बोध हुने र तराई मधेसमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने बताए। उनले भने ‘संविधान संशोधन सरकारले दर्ता गरिसकेपछि हाम्रो पार्टी नेपाली कांग्रेसको नेतृत्वको सरकारको बेलामा जुन विधेयक संविधान संशोधनको लागि दर्ता भएको थियो त्यो तत्कालिन एमालेको असहयोगको कारण पारित हुन सकेन त्यही विधेयकलाई पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयले फेरी अगाडि बढाउने निर्णय गरेको हुनाले त्यो निर्णयको कार्यान्वयन स्वरुप हामी प्रतिनिधि सभाका नेपाली कांग्रेसका सदस्यहरु त्यो विधेयकलाई फेरी आज दर्ता गराउने प्रक्रियामा छौं।’

 

संविधानको धारा ७, ११, ३८, ८६, २७४, २८२, २८३ र २८७ मा भएको व्यवस्थाले आम जनसमुदायको हक, अधिकार पूर्णरुपमा सुनिश्चित गर्न नसकेकोले त्यसमा संशोधन र केही व्यवस्था गर्नु परेकोले संशोधन पेश गरेको सिंहले बताए।

कांग्रेस सांसदहरुले दर्ता गराएको विधेयकमा प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने विषयहरु राखिएका छन्। विधेयक दर्ताका लागि सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चत्रलेखा यादव, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी, पद्य्मनारायण चौधरी लगायत संसद सचिवालय पुगेका थिए।  

 

प्रकाशित: २० जेष्ठ २०७७ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App