८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीयतहका क्वारेन्टिनलाई आर्थिक सहायता दिन सांसदको माग

स्थानीय तहमा स्थापना भएका क्वारेन्टिनको व्यवस्थापनका लागि संघीय सरकारले आर्थिक सहायता गर्नुपर्ने माग सांसदहरुले गरेका छन्।  स्थानीय तहमा निर्माण भएका क्वारेन्टिन व्यवस्थित नहुँदा आत्महत्याका घटनाहरु बढिरहेको उल्लेख गर्दै सांसदहरुले थप बजेटको व्यवस्था गर्न माग गरेका हुन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुम पश्चिम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न पनि माग गरेका छन्। 

बैठकमा सांसदहरुले खेति लगाउने समयमा किसानलाई बिउ, मल र औषधीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण समेत गराएका छन्। सांसद लालबाबु पण्डितले कोरोनाबाट ज्यान गुमाउने भन्दा दशौं गुणा बढी आत्महत्या गर्नेको संख्या रहेको प्रति सरकारको ध्यानाकर्षण गराए। स्थानीय तहहरुमा भएका क्वारेन्टिनहरुको व्यवस्थापनका लागि संघीय सरकारले थप आर्थिक सहयोग गर्नुपर्ने उनले बताए। सांसद शशी श्रेष्ठले लक डाउनका कारण जनजीवन कष्टकर बनेको तर्फ सरकारको ध्यानाकर्षण गराइन्। कोरोना संक्रमणको जोखिमलाई विश्लेषण गरी लक डाउनको मोडालिटी परिवर्तन गर्नुपर्न उनले बताइन्। स्थानीय रुपमा मापदण्ड अनुसार निश्चित दुरीलाई कायम गरी आवतजावतलाई खुकुलो बनाई दैनिक जीवन सहज र व्यवस्थित बनाउन उनले आग्रह गरिन्। सांसद विनाकुमारी श्रेष्ठले राष्ट्रियताको सवालमा पक्ष विपक्ष हुँदैन भन्ने कुरा पुष्टि गर्दै संविधान संशोधनको पक्षमा कांग्रेसले गरेको निर्णयको स्वागत गरिन्। सांसद विरोध खतिवडाले सीमा समस्याको सवालमा राष्ट्रिय एकता प्रदर्शन भएकोमा खुसी व्यक्त गरे। भारतले उक्त सडकमा सवारी सञ्चालनको तयारी गरिरहेको उल्लेख गर्दै उनले यातायात चले होटेल, रेस्टुरेन्ट, रिसोर्ट र लजहरु खुल्ने भन्दै पहिलो चरणमा नै रोक्ने पहल गर्न सरकारसँग माग गरे। उनले भारतीय सरकारको रोड परमिट लिएर यातायात चल्न दिन नहुने विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसदहरु रुकुम पश्चिमको घटनाका सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद विनाकुमारी श्रेष्ठले रुकुम पश्चिम, रुपन्देही लगायत नेपालका विभिन्न ठाउँमा घटेका घटनाहरु दलित विरुद्ध मात्रै नभइ मानवता विरुद्धको अपराध भएको भन्दै दोषिलाई कारवाही गर्न माग गरिन्। सांसद शान्तिमाया तामाङ पाख्रिनले जातियताका कारण रुकुममा घटेको घटना अत्यन्तै अमानवीय रहेको बताउँदै दोषिमाथि कारवाही गर्न आग्रह गरिन्।  

सांसद शान्ता चौधरीले रुकुमको घटना कहालीलाग्दो र दर्दानाक भएको बताइन्। प्रेम गर्नु र त्यसलाई विवाहमा परिणत गर्नु अपराध नभएको उल्लेख गर्दै प्रेममा जातको प्रश्न नउठ्ने समेत बताइन्। जातिय रुपमा कसैलाई ठूलो र कसैलाई सानो ठान्नु सामन्तवादको पाखण्डी मान्यता स्वीकार्न नसकिने उनले बताइन्। प्रेमकै कारण मृत्युको अवस्थामा पुर्याडउनु खेदजनक भएको र  जातिय प्रश्न उठाउनु झनै निन्दनिय भएको उनले बताइन्। रुकुमको घटना अपराधजन्य भएको भन्दै दोशिलाई कारबाही गर्न उनले माग गरिन्।  

सत्यनारायण शर्मा खनालले कोरोनाले पुरै विश्वलाई ढाकिसक्दा पनि नेपालमा आवश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था हुन नसकेको बताए। हजारौं भोका नेपालीहरुको हुल सिमामा आइपुगे पनि सरकार आत्तिएर उनीहरुको चेकजाँच नै नगरी गाउँ भित्र्याइरहेको बताए। सांसद विद्या भट्टराईले बन्दाबन्दीको अवधिमा ५६ जना सुत्केरी महिलाहरुको मृत्यु भएको र ६० हजार भन्दा बढी गर्भवति महिलाहरु स्वास्थ्यसेवाबाट वञ्चित भएको तर्फ सरकारको ध्यानाकर्षण गराइन्। असुरक्षित गर्भपतनका कारण रक्तश्राब भई महिलाहरुको मृत्यु भइरहेको उल्लेख गर्दै उहाँले आधारभुत स्वास्थ्य सेवा र प्रजनन स्वाथ्य सेवालाई मौलिक हकको रुपमा स्वीकार गर्दै असहज अवस्थामा पनि सेवा प्रदान गर्न सरकारको ध्यानकाकर्षण गराइन्।  

सांसद विन्दा पाण्डेले लकडाउन सुरु भएपछि अस्पतालमा सुत्केरी हुने महिलाहरुको संख्या १० प्रतिशत भन्दा कम भएको बताइन्। बालिकाहरु माथिको हिंसा बढेको उल्लेख गर्दै उनले चैतमा महिनासम्म ५३ जना सुत्केरी महिलाको मृत्यु भएको बताइन्। महिलाहरुले क्वारेन्टिनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताइन्।  

 

प्रकाशित: १८ जेष्ठ २०७७ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App