१ श्रावण २०७७ बिहीबार
राजनीति

बजेटमा पर्यटन क्षेत्रको पुर्नउत्थानका कार्यक्रम छन् : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको बताएका छन्।

१३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्था अनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको बताए। उनले सरकारले बजेटमार्फत ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायिहरु उत्साहित भएको विश्वास समेत व्यक्त गरे। कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमा भएको र सरकारले छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेको मन्त्री भट्टराईले बताए।  

उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न लागिएको बताए। आरोहणको क्षेत्रमा भएका समस्या समाधान गर्ने र थप रोजगारी सिर्जना गर्नेगरी पर्यटन ऐन ल्याउन लागिएको मन्त्री भट्टराईले बताए। उनले पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठानको अवधारणा अनुरुप पर्यटन विश्व विद्यालय सञ्चालन गर्ने गरी ऐन ल्याउन लागिएको समेत बताए।

उनले नेपालको सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेकोले सगरमाथाको सरसफाई र सुन्दरता कायम गराउन सबै पक्षले ध्यान दिनुपर्ने बताए। सगरमाथाकै कारण नेपाल आगामी दिनमा विश्वको एक मात्रै आकर्षक गन्तब्यका रुपमा रहने विश्वास समेत उनले गरे। सन् १९५३ मे २९ मा साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिन पारेर सन् २००८ यता अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ। सन १९५३ देखि सन् २०१९को अन्त्य सम्म कुल ६ हजार ५ सय १ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। त्यस मध्ये ३ हजार ४ सय ७८ जना नेपाली नागरिक रहेका छन्। यो अवधिसम्म नेपालले विभिन्न हिमालको आरोहणबाट ५६ करोड रुपैयाँ बढी रोयल्टी प्रप्त गरेको छ भने सगरमाथाबाट मात्रै करिब ४५ करोड रुपैयाँ प्राप्त गरेको छ।  

 

 

 

 

प्रकाशित: १६ जेष्ठ २०७७ १४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App