coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारप्रति सांसदको रोष : 'प्रदेशसभा भत्ता खाने अखडा मात्रै हो ?'

प्रदेश १

कोभिड-१९ महामारीका बेला प्रदेशसभा र सदस्यहरुलाई प्रदेश सरकारले भूमिकाविहीन बनाएको बताउँदै सांसदहरुले आपत्ति जनाएका छन् । महामारीका बेला प्रदेशसभाका विषयगत समितिहरुसमेत निष्क्रिय रहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सांसदहरुले सदनको बैठकमै असन्तोष प्रकट गरेका हुन् ।

बिहीबार प्रदेश १ संसद् बैठकको शून्य समयमा बोल्ने सांसदहरुले प्रदेश सरकार आफै सांसदहरुको भूमिका खुम्च्याउन लागेको आरोप लगाए । 'प्रदेशसभा तलब भत्ता खाने अखडा मात्रै हो ?', काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले सोधे 'उदयपुरको भुल्के क्षेत्रमा महामारी फैलियो । म त्यही क्षेत्रको सांसद हुँ । तर, प्रदेश सरकारले एकैदिन समन्वय गरेन । मुख्यमन्त्रीले फोन पनि उठाउनुभएन ।'

काँग्रेसकै अर्का सांसद लोकप्रसाद संग्रौलाले महामारीमा प्रदेशसभा सदस्यहरुलाई  'बेरोजगार' पारिएको बताए । 'हामीलाई प्रदेश सरकारले बेरोजगार मात्रै बनाएन, अपमानित समेत गरियो', संग्रौलाले भने 'प्रदेशले बजेट पठाउने, वडासम्मलाई थाहा हुने तर प्रदेशसभा सदस्यलाई न कार्यक्रममा समेट्ने, न थाहा दिने काम नै भयो ।' प्रदेश सदस्यको मानमर्दन गरेर सरकारको पनि इज्जत नबढ्ने उनले चेतावनी दिए । 'प्रदेशसभा सदस्यलाई भूमिकाहीन बनाउने अनि मन्त्रीहरु चाहिँ झण्डा हल्लाएर हिँड्दा इज्ज्त बढ्दैन । सभाको भूमिका र गरिमा जोगाउनुपर्छ ', उनले भने ।

सांसदहरुले कोरोना महामारीसँग जुध्न अझै पनि पर्याप्त प्रबन्ध हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । अहिले प्रदेशकै सबैभन्दा धेरै संक्रमित भेटिएको झापाको कचनकवलकै बासिन्दा नेकपा सांसद वसन्त बानियाँले उक्त क्षेत्रमा स्वास्थ्यकर्मीकै अभाव भएको बताए । 'आजसम्म ४८ जना संक्रमित भेटिएको छ, ३ सय ४८ क्वारेन्टाइनमा छन्', बानियाँले भने 'तीमध्ये १ सय ४३ जनाको स्वाव परीक्षण नै भएको छैन । तत्काल स्वास्थ्यकर्मी पठाउने र स्वाब संकलन गर्न माग गर्दछु ।'

निजी अस्पतालहरुले महामारीका बेला उपचार गर्न अस्वीकार गरेर अमानवीय चरित्र देखाएको भन्दै कारवाही गर्न पनि सरकारको ध्यानाकर्षण सांसदहरुले गरेका छन् । काँग्रेस सांसद सूयर्माराज राई र हिमाल कार्कीले विराटनगरका निजी अस्पताललाई कारवाही गर्न माग गरे । 'अपरेशन थियटरमा हालेको विरामी उदयपुरको भनेपछि निकालियो' कार्कीले भने 'सरकारले यसबारे कदम चाल्नुपर्छ ।' सांसद राईले स्वास्थ्य र शिक्षा सरकारीकरण गर्न माग गरे ।

चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा धनकुटामा शिक्षण अस्पताल खोल्ने भनिएको तर त्यो कागजमै सिमित बनाइएको भन्दै नेकपा सांसद निरन राईले तत्काल काम थाल्न माग गरेका छन् । 'शिक्षण अस्पतालको काम थाल्न र धनकुटामै कोरोनाको पिसिआर परीक्षण गराउने व्यवस्था गर्न माग गर्दछु', उनले भने । नेकपा सांसद लिलाबल्लभ अधिकारीले दलित र भूमिहीन नागरिकलाई तत्कालै राहत उपलब्ध गराउन माग गरे भने सांसद उमिता विकले रुकुम पश्चिमको घटना छानबिनका लागि संसदीय समिति बनाउन माग गरिन् । नेकपाकै सांसदहरु गोपाल बुढाथोकी, विमल कार्की र राजकुमार ओझाले किसानलाई सहजै मल उपलब्ध गराउन माग गरेका छन् ।

प्रकाशित: १५ जेष्ठ २०७७ ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App