१५ चैत्र २०८० बिहीबार
राजनीति

जुन र जुलाईमा कोरोना संक्रमण बढ्नसक्ने

नेपाली सेनाले आगामी जुन र जुलाईमा कोरोना संक्रमण बढ्नसक्ने आँकलन गरिएको जनाएको छ । सेनाले बुधबार भिडियो कन्फरेन्समार्फत गरेको पत्रकार सम्मेलनमा सेनाको चिकित्सक टोलीको समेत संलग्नतामा गरिएको एक अध्ययनका आधारमा यस्तो आँकलन गरिएको जानकारी दिएको छ । सेनाले कन्ट्र्याक ट्रेसिङ, केस स्टडिज तथा कोरोना प्रभावित विभिन्न मुलुकको तथ्यांक विश्लेषणका आधारमा यस्तो निष्कर्ष निकालेको हो । अध्ययन टोलीले गणितीय पद्धतिबाट उक्त अध्ययन गरेको र त्यो अनुमान पूर्ण रूपमा मिल्छ नै भन्ने नभएको सेनाले जनाएको छ ।  

अध्ययन टोलीले कोरोनाको व्यापक प्रभाव परेका अमेरिका र इटली तथा दुई छिमेकी मुलुक चीन र भारतमा कोरोनाको संक्रमणको अवस्थालाई समेत अध्ययन गरेको थियो । अध्ययन अनुसार अमेरिका तथा इटलीको जस्तै गरी कोरोना संक्रमण फैलिएमा त्यसबाट ठूलो मानवीय क्षति हुने अनुमान गरिएको छ । तर, भारत र चीनमा जस्तै कोरोनाको संक्रमण भएमा मानवीय क्षति कम हुने आँकलन रहेको छ ।  

सेनाले कोरोनाको सम्भावित बढ्दो संक्रमणलाई ध्यानमा राखी तयारी पनि गरिरहेको जनाएको छ । हाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई हजार दुई सय ९० जना सेनाका स्वास्थ्यकर्मी परिचालित भइरहेको सेनाले जनाएको छ । सेनाले कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै वीरेन्द्र सैनिक अस्पतालसहित देशभर आइसियू बेड, भेन्टिलेटर तथा क्वारेन्टिन स्थल पनि निर्माण गरिरहेको जनाएको छ ।  

सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री हवाई मार्ग तथा स्थलमार्गबाट ल्याउने काम भइरहेको जानकारी दिएको छ । औषधि ढुवानीका लागि नेपाल वायुसेवा निगमको जहाज बुधबार चीन प्रस्थान गरेको छ । सो जहाजमार्फत २८ टन स्वास्थ्य सामग्री बिहीबार काठमाडौं आइपुग्ने सेनाले जनाएको छ । सेनाले यसअघि पनि १८ दशमलव ९ टन स्वास्थ्य सामग्री हवाई मार्गबाट ल्याइसकेको छ । बाँकी सामग्री स्थलमार्गबाट ल्याउने र उक्त प्रक्रिया जारी रहेको सेनाले जनाएको छ ।  

सेनाले सिसिएमसीमार्फत मंगलबारसम्म १२ हजारभन्दा बढी स्वाब संकलन गरेको र तीन हजार आरडिटी परीक्षण गरेको छ । साथै कोरोनालाई लक्षित गर्दै हाल देशभर सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसमेत गरी ८७ हजार पाँच सय ७२ जना सुरक्षाकर्मी परिचालन भएको सेनाले जनाएको छ ।  

सेनाले काठमाडौं तराई द्रुत मार्ग निर्माणको कार्य दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । जसअन्तर्गत आवश्यक पुल तथा सुरुङ निर्माणका लागि विदेशी परामर्शदातासँग सम्झौता भइसकेकाले द्रुत मार्ग निर्माणको काम अब थप गतिमा अघि बढ्ने जनाएको छ । कोरोनाका कारण केही असर परे पनि आयोजनाको निर्माण तोकिएकै समयमा सम्पन्न गर्ने सेनाले जनाएको छ ।

प्रकाशित: १४ जेष्ठ २०७७ २३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App