७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रियताबारे एन्फा अध्यक्षको विवादास्पद भनाई

पछिल्ला समय संस्थाभित्रकै आन्तरिक द्वन्द्वमै रुमलिएका अखिल नेपाल फुटबल (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा एक  अभिव्यक्तिका कारण विवादमा फसेका छन्। एक सञ्चारमाध्यममा फुटबल गतिविधिबारे अन्तर्वार्ता दिने क्रममा एन्फा अध्यक्ष शेर्पाले तराईका मानिससँग राष्ट्रियताको भावना कमि भएको आरोप लगाउँदै विवादास्पद टिप्पणी गरेका थिए। फुटबलको विकास विस्तारका बारे सोधिएको प्रश्नमा उनले तराई केन्द्रित फुटबल गतिविधि सञ्चालन गर्नुपर्ने बताएका थिए। सोही क्रममा उनले त्यहाँका मानिसलाई ग्रासरुट फुटबलमा समावेश गराउनपर्ने दुई कारणमध्ये एक तराईका मानिसमा राष्ट्रियताको भावना कमि भएको टिप्पणी गरेका थिए।

शेर्पाले नेपाल आर्मीसँगको सहकार्यमा चार वटा जिल्ला सप्तरी, सिराह, धनुषा र महोत्तरीमा ग्रासरुट कार्यक्रमका सञ्चालन गर्ने लक्ष्य रहेको बताए। त्यसक्रममा उनले त्यहाँका मानिसलाई फुटबल सिकाउन आवश्यक रहेको एक कारण उनीहरूमा राष्ट्रियताको भावना कमि भएको विवादपूर्ण टिप्पणी गरे। तराईमा ग्रासरुट सञ्चालन गर्नुको अर्को कारण उनले तराई बच्चालाई फुटबल सिकाउने उद्देश्य रहेको औल्याएका थिए। ‘आर्मीको ब्यारेक आउँदा कम्तिमा राष्ट्रिय गीत गाउने, नेपालका विषयमा चर्चा हुने र फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले पनि हामीले काम गरेका छौं,’ शेर्पाले भनेका छन्।

उनले ग्रासरुट कार्यक्रम सफलताको शिखरमा पुगेको दाबी गरेका छन्। यद्यपि, एन्फाका अध्यक्ष शेर्पाले आफूले भनेको विषयलाई गलत तरिकाले अर्थ्याइएको बताए। ‘मेरो उद्देश्य सही नै थियो, बच्चाहरूमा सानैदेखि राष्ट्रियभावना जगाउनुपर्छ। उनीहरूलाई देशप्रतिको माया लगाव बढाउनुपर्छ, यसका लागि राम्रो माध्यम फुटबल हो भन्ने खोजेको थिएँ, तर त्यसलाई गलत तरिकाले अर्थाउने काम भयो। मैलें कहिले पनि तराईका मानिसलाई त्यसो भन्नै सक्दिन,’शेर्पाले भने।

एन्फा अध्यक्ष शेर्पाले देशभरि ग्रासरुटका कार्यक्रम सफल भइरहेको अवस्थामा आफ्नो भनाइको आशयबाट विवादमा ल्याउन खोजिएको आरोप लगाए। ‘देशका हरेक कुनाका बच्चाहरूमा फुटबलप्रति राम्रो लगाव हुन्छ। ग्रासरुट कार्यक्रमले सोही लगावबाट फुटबलमा विकास गर्न मद्दत पुग्छ र बच्चाहरूमा सानैदेखि राष्ट्रप्रतिको माया जगाउने काम पनि ग्रासरुटले गर्न सक्छ भन्ने मेरो आशय हो,’शेर्पा भने।

सांसद विमल श्रीवास्तवले शेर्पाको भनाईको विरोध गरेका छन्। संसदमा बोल्दै उनको भनाईबारे छानविन गरि कारबाही गर्न माग गरेका छन्। शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको बताएका छन्।

एन्फा विधानको धारा ३ ले तटस्थताको शिद्धान्तलाई अगालेको छ। उक्त शिद्धान्तलाई विपरित गएमा कारवाहीको व्यवस्था समेत गरिएको छ।  

 

 

प्रकाशित: १४ जेष्ठ २०७७ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App