coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पत्रकारका लागि स्वास्थ्य सामाग्री उपलब्ध होस् सभापति : देउवा

नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवसको अवसर पारेर देउवाले वर्तमान केपी ओली नेतृत्वको सरकारले पत्रकारहरुका लागि स्वास्थ्य तथा सुरक्षा सामाग्री उपलब्ध गराउँन नसकेको जिकिर गर्दै पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनुपर्नेमा जोड दिए।  

साथै सोही कार्यक्रमको अवसर पारेर देउवाले प्रेस युनियन सुनसरीले बनाएको डिजिटल पात्रो समेत उद्घाटन गरे। अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यरत पत्रकारहरू संकटमा परेको बताउँदै उनले भने, ‘मैले कोरोनाको महामारीको सुरुदेखि नै पत्रकारको हकमा बोल्दै आएको छु, मैले पत्रकारहरुका लागि सुरक्षा, स्वास्थ्य सामाग्री व्यवस्था होस् भनेर आवाज उठाउँदै आएको छु।’  

नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवस मनाउन मंगलबार जुम एपमा आयोजना गरिएको भर्चुल कार्यक्रममा देउवाले पत्रकारहरू समेत कोरोनाबाट संक्रमति हुन थालेकाले सजगता अपनाउन अपिल गरे।  

कार्यक्रममा युनियनका केन्द्रीय सभापति बद्री सिग्देलले युनियनले प्रेस स्वतन्त्रताको पक्षमा काम गर्दै आएको बताउँदै श्रमजीवि पत्रकारको हकहितमा काम गर्दै जाने बताए। कार्यक्रममा युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले लकडाउनको समयमा प्रेस युनियन जिल्ला कार्यसमितिले यहाँका क्रियाशिल २२० जना पत्रकारहरुको कोरोना बीमा गरेको बताउँदै निःशुल्क रुपमा स्वास्थ्य सामाग्री पनि वितरण गरेको उदृत गरे। उनका अनुसार युनियनको पात्रो प्ले स्टोरमा गएर सर्च गरेर डाउनलोड गर्न सकिनेछ।  

कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेविसंघका सभापति राजीब ढुंगाना, पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य, ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, प्रेस युनियका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु सिवाकोटी, पूर्व अध्यक्ष तथा पूर्वसूचना आयुक्त किरण पोखरेल, युनिय युरोप शाखाका अध्यक्ष विपिन निरौला लगायतले बोलेका थिए। कार्यक्रममा विभिन्न शाखाका २ सय ५० भन्दा बढी सक्रिय सञ्चारकर्मीको सहभागीता रहेको थियो।

 

प्रकाशित: १३ जेष्ठ २०७७ १०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App