८ वैशाख २०८१ शनिबार
राजनीति

कोरोना कोषमा २ अर्व २९ करोड भन्दा बढी रकम , अहिलेसम्म खर्च नै भएन

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्व २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ। 

कोरोनाको जोखिम नेपालमा बढेपछि कोरोनाको नियन्त्रण एवं उपचारका लागि सरकारले सुरु गरेको कोरोना भाइरस, संक्रमण, रोकथाम, नियन्त्रण तथाउपचार कोषमा विभिन्न व्यक्ति, संस्थाबाट उक्त रकम जम्मा भएको हो।  

कोरोना संक्रमितको संख्या बढेसँगै पछिल्लो समय आधारभूत औषधी, उपकरण तथा सामाग्रीको चरम अभाव देखिँदा पनि जनस्तरबाट कोरोना उपचारका लागि जम्मा भएको यति धेरै रकम भने अझै खर्च हुन सकेको छैन। स्थानीय तहहरु स्रोतकै अभावका कारण व्यापक परीक्षण हुन नसकेको, स्रोतको अभावमा आवश्यकता अनुसार क्वारेन्टाइन निर्माण, उद्धार एवं उपचार सामाग्रीको अभाव झेल्नु परेको बताइरहे पनि सरकारले उपचारकै लागि खडा गरेको कोषमा जम्मा भएको रकम भने खर्च हुन नसकेको हो।  

सरकारले गत चैतमा कोरोना रोकथाम र नियन्त्रणका लागि कोष खडा गरेको थियो। जसमा सरकारका सवै पदाधिकारीहरु, सांसदहरु, कर्मचारीहरु, निजी क्षेत्र, विदेशमा रहेका नेपालीहरु लगायत विभिन्न संघ, संस्था तथा व्यक्तिहरुले रकम जम्मा गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले कोषमा हालसम्म २ अर्व २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको बताए। उनले सरकार आफैले कोरोना नियन्त्रण, रोकथामका लागि ९ अर्वको हाराहारीमा खर्च भैरहेको आए पनि कोषमा जम्मा भएको रकम भने खर्च नभएको बताए। ‘खर्च गर्ने निकाय बजेटमा व्यस्त छन्, अलि अलि खर्च भएको भन्ने त सुनेको हो तर त्यसको डिटेल आइपुगेको छैन,’पौडेलले नागरिकसँग भने ‘सरकारले कोभिडका नाउँमा खर्च गर्ने विषय एउटा पाटो भयो, कोषको पैसा खर्च नगरे पनि सरकारले काम गरिरहेको छ, कोषमा जम्मा भएको पैसा कसरी खर्च गर्ने भन्ने छलफल भैरहेको छ, भोली (मंगलबार) सम्म यस विषयमा थप केही आउला।’

संघीय ममिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले कोषमा जम्मा भएको रकम स्थानीय तहमा पठाउने विषयमा कुराकानी भैरहेको बताए। ‘स्थानीय तह र प्रदेशमा जुन रकम थियो अहिलेसम्म त्यसैले काम चलिरहेको थियो, अव संक्रमण बढे सँगै स्थानीय तहमा पनि केही अभाव देखिन थालेको छ,’ मन्त्री त्रिपाठीले नागरिकसँग भने ‘कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अव कोषमा जम्मा भएको रकम स्थानीय तहमा पठाउने निर्णय गरिसकेको छ, अव छिट्टै स्थानीय तहमा रकम पठाउँछौं, अभाव हट्छ।’ मन्त्री त्रिपाठीले हालसम्म सामान्यीकरण अनुदानको रकमबाट कोरोना रोकथाम, नियन्त्रण, उपचार, राहत लगायतका कामहरु चलिरहेको भए पनि अब कोषबाट पठाइने बताए। अर्थ मन्त्रालयले कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत स्थानीय तहहरुमा उक्त रकम पठाउने मन्त्री त्रिपाठीले बताए।  

स्रोत अभावका कारण कतिपय ठाउँमा पर्याप्त क्वारेन्टाइनको व्यवस्था गर्न नसकिएको, स्वास्थ्य परीक्षणका लागि सामाग्री एवं पूर्वाधारको विकास गर्न गर्न कठिनाई देखिएको स्थानीय तहका जनप्रतिनिधिहरुले बताउँदै आएका छन्। हाल संघीय सरकारले झै प्रदेश तथा स्थानीय तहहरुले समेत कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि आआफ्नै कोषहरु स्थापना गरिआएका छन्।

 

प्रकाशित: १२ जेष्ठ २०७७ १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App