coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद्मा नक्सा सच्याउने गृहकार्य सुरु

संघीय संसद्ले देशको नयाँ नक्साबमोजिम संसद्मा प्रयोग भइरहेको नक्सा सच्याउने गृहकार्य सुरु गरेको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि संसद्मा विभिन्न प्रयोजनमा प्रयोग भएका पुराना नक्सा हटाएर नयाँ नक्सा राख्न लागिएको हो । 

सरकारले संविधानमा रहेको निशान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन विधेयक दर्ता गरेको छ । संविधान संशोधन विधेयक दर्ता भएपछि आइतबार संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको कार्य व्यवस्था परमर्श समितिको बैठक बसेको छ । बैठकले  संसद्को लोगोमा रहेको नेपालको नक्सा र सांसदले प्रयोग गर्ने लोगोमा रहेको नेपालको नक्सा परिमार्जनको काम सुरु गर्ने निर्णय गरेको छ । 

नेपालको वास्तविक सीमाअनुरूपको नक्साअनुुसार संसद्को लोगो र सांसदको लोगोमा नेपालको नक्सा परिमार्जन गर्न सुरु गरेसँगै सचिवालयले अन्य नक्सा परिवर्तनका लागि पनि तीव्रता दिने जनाएको छ । कार्य व्यवस्था परामर्श समितिको निर्णयबाहेक संसद् सचिवालयले संघीय संसद्का पुराना लेटरप्याड, पुरानो ग्लोबल म्याप, भित्तामा प्रयोग भएका नेपालका पुराना नक्सा हटाउने तयारी गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

प्रतिनिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले निशान छाप संशोधन गर्न संसद्मा दर्ता भएको नेपालको संविधान (दोस्रो संशोधन) संविधान संशोधन, २०७७ विधेयकमा सबै दलबीच सहमति जुटाउन आग्रह गरेको हो । बैठकमा राजपाका नेता लक्ष्मणलाल कर्णले मधेसी दलले विगतदेखि नै संविधान संशोधनको माग उठाउँदै आएकाले तिनलाई पनि यसैमा सम्बोधन गर्नुपर्ने माग राखेका थिए ।

प्रकाशित: १२ जेष्ठ २०७७ ००:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App