७ वैशाख २०८१ शुक्रबार
राजनीति

नयाँ नक्सा प्रयोगमा ल्याउन सबै निकायलाई परिपत्र

सरकारले राज्यका सबै निकाय र कार्यालयलाई कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको अद्यावधिक नयाँ नक्सा प्रयोगमा ल्याउन परिपत्र गरेको छ । भूमि व्यवस्था मन्त्रालयले आइतबार सबै मन्त्रालय तथा कार्यालयलाई नयाँ नक्सा प्रयोग गर्न पत्राचार गरेको हो । सरकारले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमार्फत सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तहमा नयाँ नक्सा प्रयोग गर्न परिपत्र गरेको छ । 

मन्त्रालयले राज्यका अन्य सबै निकायमा नयाँ नक्सा प्रयोग गर्न आग्रह गरेको छ । ‘राज्यका सबै निकायमा नयाँ नक्सा प्रयोग गर्न आग्रह गरेका छौं,’ भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले भने, ‘मुख्यमन्त्री कार्यालयहरूमा प्रधानमन्त्री कार्यालयमार्फत र स्थानीय तहहरू संघीय मन्त्रालयमार्फत यस्तो परिपत्र गरेका हौं ।’

संघीय मन्त्रालयहरू तथा संघ मातहतमा रहेका कार्यालयमा भने भूमि व्यवस्था मन्त्रालयले आफैं पत्र पठाएको छ । मन्त्रालयले पठाएको पत्रमा पुरानो नक्सा हटाएर त्यसको ठाउँमा नयाँ नक्सा प्रयोग गर्न आग्रह गरिएको छ । मन्त्रालयका अनुसार पाठयक्रममा पनि अद्यावधिक गरिएको नयाँ नक्सा राखिने भएको छ ।

नापी विभागले पनि सरकारले पास गरेको नयाँ नक्सा उत्पादन तथा वितरण गर्न सुरु गरेको छ । हालसम्म करिब ४ हजार प्रति नयाँ नक्सा छापिएको विभागले जनाएको छ । तत्काल १० हजार नयाँ नक्सा छाप्ने तयारी विभागले गरेको छ । ‘सरकारले अद्यावधिक गरेको नक्साको उत्पादन तथा वितरण गर्न सुरु गरेका छौं,’ नापी विभागका महानिर्देशक प्रकाश जोशीले बताए । विभागका अनुसार सर्वसाधारण जो कोहीले पनि नयाँ नक्सा विभागबाट लिन सक्नेछन् । विभागले आफ्नो वेबसाइटमा डाउन लोड गरेर नयाँ नक्सा प्रयोग गर्नसक्ने व्यवस्था पनि मिलाएको छ । 

मन्त्रिपरिषद्को बैठकको जेठ ५ गतेको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो । त्यसको दुई दिनपछि जेठ ७ गते भूमि व्यवस्था मन्त्रालयले औपचारिक रूपमा नक्सा सार्वजनिक गरेको थियो ,

घरघरमै गई नेतालाई नयाँ नक्सा हस्तान्तरण गर्दै मन्त्री

भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्सा सार्वजनिक गरेलगत्तै भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले विभिन्न दलका नेताका घरघरमै गई नयाँ नक्सा हस्तारण गरेकी छन् । मन्त्रीले मन्त्रालय तथा नापी विभागका केही उच्च कर्मचारीलाई पनि सँगै लिएर नेताहरूलाई घरघरमा नयाँ नक्सा पुर्याएकी हुन् । उनको यस अभियानको सामाजिक सञ्जालमा आलोचना भएको छ । 

अर्यालले शुक्रबार  राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी थिइन् । त्यस्तै उनले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेकी छन् । 

मन्त्री अर्यालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका नेता माधव नेपला, झलनाथ खनाल, वामदेव गौतमलगायत नेतालाई घरमै गई नयाँ नक्सा हस्तान्तरण गरेकी छन् । यसको चौतर्फी आलोचना भइरहे पनि मन्त्री अर्यालले यो क्रम अझै रोकेकी छैनन् ।

प्रकाशित: १२ जेष्ठ २०७७ ००:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App