८ वैशाख २०८१ शनिबार
राजनीति

प्याकेजमै संविधान संशोधन गर्न समाजवादीको कांग्रेसलाई प्रस्ताव

नवगठित जनता समाजवादी पार्टीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मधेसका समस्या समाधान गर्नेगरी प्याकेजमै संविधान संशोधनका लागि आग्रह गरेका छ। प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई शनिबार बिहान उनकै निवास बूढानीलकण्ठमा भेटेर समाजवादी पार्टीका नेताहरुले सरकारले ल्याएको संविधान संशोधनको मुद्दामा प्याकेजमै समेट्न आग्रह गरेका हुन्।  

मधेसका मुद्दा सम्बोधन गर्नेगरी संविधान संशोधनका लागि कांग्रेसले यसअघि पनि प्रयास गरेको सुनाउँदै उनीहरुले सरकारले संविधानको अनुसूची –३ संशोधनका लागि प्रस्ताव ल्याएका बेला त्यसलाई पनि समेट्न आग्रह गरेका छन्।

‘हामीले उठाउँदै आएको संविधान संशोधनको अजेण्डा थाँती राखिएको छ। यी विषयहरुलाई पनि यसपटक संविधान संशोधनमा समेट्दा सिंगो देश एक ढिक्का हुन्छ,’ समाजवादीका नेता शरतसिंह भण्डारीले भने, ‘तपाईंहरुको अजेन्डा सम्बोधन गरेर उचित समयमा संविधान संशोधनको प्रस्ताव ल्याउछौं।’

जवाफमा कांग्रेस सभापति देउवाले समाजवादी पार्टीको प्रस्ताव पार्टी पदाधिकारी बैठकमा राखेर जवाफ दिने आवश्वासन दिएका छन्। प्रधानमन्त्री केपी ओलीले पनि प्रधानमन्त्रीले उचित समयमा मधेसको समस्या समाधान गर्नेगरी उचित समयमा संविधान संशोधनको प्रस्ताव ल्याउने आश्वासन दिएको सुनाउँदै भण्डारीले भने, ‘उचित समय भनेको यही हो। प्याकेजमै संविधान संशोधनको प्रस्ताव लैजान कांग्रेस सभापतिलाई आग्रह गरेका छौं। उहाँले पार्टीमा छलफल गरेर खबर गर्ने बताउनुभएको छ।’  

देउवालाई भेट्न बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, भण्डारी, राजेन्द्र श्रेष्ठसहित बूढानिलकण्ठ पुगेका थिए।

कांग्रेसले सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावसहित पछिल्लो अवस्थाका विषयमा छलफल गर्न आइतबार २ बजे पार्टी पदाधिकारी बैठक राखेको छ। लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको सरकारले संविधानको अनुसूची–३ मा रहको निशान छाप संशोधन गर्न विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ।

प्रकाशित: ११ जेष्ठ २०७७ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App