८ वैशाख २०८१ शनिबार
राजनीति

कोरोना नियन्त्रण: भगवान पुकार्दै प्रदेश सरकार, मानिस फर्किदै छन, राख्ने ठाउँ अझै यकिन छैन

शनिबार सर्लाहीका १३ जना र बाराका १ जना गरी १४ जनामा कोरोना भइरस संक्रमण भएको पुष्टि भएको छ। सर्लाहीको गोडैता नगरपालिकामा १२ तथा कविलासी नगरपालिकामा १ र बाराको करैयामाइ गाउँपालकाका १ गरी १४ जनामा संक्रमण पुष्टि भएको हो। यो सहित प्रदेश २ मा  संक्रमितको संख्या १७२ पुगेको छ।  

संक्रमित सबै केही दिनअघि भारतबाट घर फर्केका हुन्। भारतको मुम्बइ, दिल्ली र सुरतबाट फर्केका गोडैताका १२ जना संक्रमित स्थानीय तहको क्वरेन्टिनमा बसेका छन। उनीहरुको गत मंगलबार स्वाब संकलन गरी काडमाडौं पठाइएको नगर प्रमुख देवेन्द्र यादवले बताए। कविलासीका एक जना भारतबाट फर्किने क्रममा दुर्घटनामा परेपछि उपचारको क्रममा काठमाडौंमा चेक गराउँदा पोजिटिभ देखिएको हो। शुक्रबार मात्र गोडैताको क्वरेन्टिनमा बसेका १३ जना र रामनगरको क्वरेन्टिनमा बसेको एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरु सबै भारतको मुम्बइ, दिल्ली र सुरतबाट फर्केका हुन।

गोरैता नगरपालिकाको क्वरेन्टिनमा १६४ जना छन। उनीहरु सबै भारतको रेड जोनबाट फर्केकाहरु हुन। दुई दिनमै २५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका सिल गरिएको छ। क्वारेन्टिनहरु पनि सिल गरिएको छ। प्रमुख यादवले भने,‘शुक्रबारबाट यहाँका क्वारेन्टिनमा नयाँ मान्छे राख्न बन्द गरिएको छ। ८४ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएकाहरुमध्ये २५ जनामा संक्रण पाइएको छ उनले भने,‘अझै रिपोर्ट अउन बाँकी छ। संक्रमितको संख्या अझ बढ्छ। ८० जना बाँकीको पनि स्वाब संकलन गरी परीक्षणको लागि पठाउने तयारी गर्दैछौं, उनले भने,‘सबैको परीक्षण रिपोर्ट आइसकेपछि संक्रमितलाई अस्पताल र बाँकीलाई घर पठाएर क्वारेन्टिनलाई डिसइनफेक्ट गर्छौ। त्यसपछि मात्र नयाँ मान्छेलाई क्वारेन्टिनमा राख्नेछौं।’ पछिल्लो समय भारतबाट मजदुरी गरेर नेपाल फर्केका मजदुरहरुमा कोरोना संक्रमण पुष्टिको क्रम बढेको छ। खुला सीमाका कारण भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्न थालेपछि स्थानीय तहहरुले आ–आफ्ना नागरिकलाई ल्याएर क्वारेन्टिनमा राख्दै आएको छ।

सीमामा अझै पनि ठूलो संख्यामा भारतबाट फर्केका मजदुरहरु बसिरहे पनि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्थापन गर्न नसक्दा उनीहरुलाई ल्याउन सकेका छैनन्। भारतबाट फर्किनेहरुको लर्को तथा संक्रमितको व्यवस्थापन अनुभूति साझा गर्दै प्रदेश २ को कोरोना ‘हटस्पट’ सार्लाहीको गोरैता नगरापालिकाका प्रमुख देवेन्द्र यादव :

कोरोना महामारी रोकथाम तथा नियन्त्रण कसरी गर्दै हुनुहुन्छ ?

संक्रमितको पहिचान र परीक्षणलाई प्रमुखताका साथ अघि बढाउँदै छौं। अहिले भारतबाट आउनेहरुको पहिचान गरी क्वारेन्टिनमा राख्दै छौं। क्वारेन्टिनमा बसेकाहरुको पिसिआर परीक्षण गराउँदै छौं। परीक्षणबाट संक्रमण पुष्टि भएकाहरुलाई सरकारले तोकेको कोरोना उपचार अस्पतालको आइसोलेसन कक्षसम्म पुर्याउँदै छौं। गाउँटोलमा सामाजिक दूरी, सरसफाई तथा मास्कको समुचित प्रयोगका बारे चेतना जगाउँदै छौं।

गोरैता नगरापालिकाका प्रमुख देवेन्द्र यादव

कोरोना संक्रमण नियन्त्रणमा चुनौती के के छन ?

चुनौतीको चाङ नै छ। तर अहिले र आउनेबाला समयमा भारतबाट घर फर्किनेहरुको भिंड व्यवस्थापन प्रमुख चुनौती देख्दै छु। क्वारेन्टिन नाम दिएर मात्र हुँदैन नि, समुचित बन्दोबस्त मिलाउन सक्नु पर्छ। आवस, खानपान, सुरक्षा, स्वास्थ्य, सरसफाईलगायतको प्रवन्ध मिलाउनु कम्ता चुनौती छैन। भिड बढ्दै गएसँगै संक्रमणको खतरा पनि बढ्दै छ। भारतको रेड जोनबाट फर्कनेहरु अधिकत्तर संक्रमण साथ लिएर फर्किरहेकाले भोलीको दिन खतरापूर्ण छ।

कोरोना नियन्त्रणमा प्रदेश सरकारबाट सहयोग छ ?

प्रदेश सरकारको समाजिक विकास मन्त्रालयबाट अपेक्षित सहयोग पाइएको छैन। मन्त्री ज्युबाट त कुनै साथ छैन। सहयोगका लागि फोन गर्दा मनोबल बढाउने भन्दा हौसल गिराउने बचन मात्र बोल्नु हुन्छ। शुक्रबार एकै पटक १३ जना संक्रमण पुष्टि भएपछि मन्त्री ज्युलाई फोन गर्दा आशलाग्दो जवाफ पाइन। दिनभर एम्बुलेन्स जोगार गर्न भौतारिँदा साँझ मात्र एउटा एम्बुलेन्स संक्रमित बोक्न तयार भयो। संक्रमितलाई जनकपुर स्थित कोरोना उपचार अस्पाल (कोभिड–१९ अस्पताल) पठाउँदा मन्त्री ज्युबाट हप्की खानुपर्यो। नगरपालिकामै आइसोलेसन वार्ड बनाएर राख्नुस भन्ने जवाफले आगमी दिन झन अहसज हुने निश्चित छ। यती धेरै मानिस संक्रमण बोकेर फर्किरहँदा पनि व्यवस्थापन प्रति गम्भीर नहुनु डरलाग्दो अवस्थालाई संकेत गर्छ। समयमै गम्भीर नबने पुर्पुरोमा हात राखेर पछुताउनुको विकल्प रहेन्।  

प्रदेश सरकारले के गरिदिनुपर्छ जस्तो लाग्छ ?

सीमामा सुरक्षाकर्मी तायनाथ हुँदाहुँदै चोरबाटोबाट मानिसहरु प्रवेश गर्छन। यसलाई रोक्न पनि सकिँदैन। तर सीमामै सरकारले होल्डिङ क्वारेन्टिन संचालन गरेर रेड जोनबाट फर्केहरुलाई एउटैमा राख्न सकिए संक्रमणलाई केहि दलसम्म फैलिनबाट रोक्न सकिन्छ। अहिले सबै एउटै क्वारेन्टिनमा राख्नु पर्दा क्वारेन्टिनमै संक्रमण एकअर्कामा फैलिने खतरा बढ्दो छ। संक्रमितलाई अस्पतालसम्म पुर्याउने एम्बुलेन्स बन्दोबस्त आवश्यक छ। संक्रमितलाई बोक्न एम्बुलेन्स मान्दैन। सुरक्षा उपकरण उपलब्ध गराउँदा पनि मुस्किलले एम्बुलेन्स पाइन्छ। जसका कारण संक्रमितलाई उपचारसम्म पुर्याउन असहज भैरहेको छ।

सघन जनघनत्वका कारण प्रदेश २ कोरोना संक्रमणको रेड जोनमा छ। यस प्रदेशबाट रोजगारका लागि भारत जानेको संख्या उल्लेख्य छ। निम्न र निम्न मध्यम वर्गका पुरुषहरुका लागि कमाइको उर्वर गन्तव्य बनेको भारत हो। कोरोना संक्रमणका कारण रोजगार गुमेपछि उनीहरु धमाधम जोखिम मोलेर घर फर्कदै छन। यस प्रदेशमा कति मानिस भारतबाट फर्कदै छन्। उनीहरुको व्यवस्थापनका लागि प्रदेश सरकारको योजना के छ। यसबारे समाजिक विकास मन्त्री नवलकिशोर साह भन्छन् :

कोरोना विरुधको लडाइ कसरी लड्दै हुनुहुन्छ ?

संसारका शक्तिशाली देश कोरोनाका अगाडि दम तोडिरका छन। हामी त्यसको समुन्ने केहि पनि होइनौ। कमजोर स्वास्थ्य सेवा, स्रोत, साधनका बीच पनि प्रदेशका जनता जोगाउन लागिपरेका छौं। उपलब्ध साधन, स्रोतसँगै उच्च मनोबल राखेर अघि बढ्दै छौं। उपचार भन्दा पनि सावधानीमा विशेष जोड दिँदै छौं। बाँकी इश्वरको कृपा।

समाजिक विकास मन्त्री नवलकिशोर साह

कोरोना नियन्त्रण गर्न प्रदेशमा मुख्य चुनौती के छ ?

जनसंख्या धेरै भएको प्रदेश हो यो। बसोबास पनि सघन छ। भारतसँग सीमा जोडिएको प्रदेश हो। यहाँका अधिकांश पुरुष रोजगारका लागि भारतमा छन। उता संक्रमण फैलिएपछि उनीहरु घर फर्किरहेका छन। उनीहरुको व्यवस्थापन पहिलो चुनौती हो। संक्रमित सहरबाट जोखिमपूर्ण यात्रा गरेर फर्किरहेकाहरु अधिकांशमा कोरोना संक्रमण पुष्टि हुनु थप चुनौतीपूर्ण हो। यस प्रदेशमा भारतबाट संक्रमण बोकेर फर्किनेहरुको व्यवस्थापन नै प्रमुख चुनौती हो।

भारतबाट कति मानिस फर्किने अनुमान छ ?

दैनिक सैयौं मानिस फर्किरहेका छन्। त्यतिकै संख्या सीमामा प्रवेश पर्खेर बसेका छन्। हजारौ मानिस रेल यात्रामा छन। त्यतिकै संख्या टिकटको लाइनमा छन। हाम्रो आकलन २ लाख मानिस फर्किने हो। भारतको अधिकांश प्रान्त रेड जोनमा परेपछि यहाँका मजदूरहरु रोजगार गुमाएका छ। रोजगार रोकिएपछि उनीहरु त्यहाँ रोकिने सवालै हुँदैन। सबै फर्किन्छन्।  

दुई लाख मानिसलाई कहाँ कसरी व्यवस्थापन गर्ने योजना बनाउनु भएको छ ?

प्रदेश सरकारले सप्तरीको राजविराज, बारा र वीरगञ्जलाई क्लस्टर बनाएर १५ सय बेड क्षमताको क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। स्थानीय पालिकाहरुले पनि धमाधम क्वारेन्टिन निर्माण गर्दै छन। जसोतसो व्यवस्थापन भैहाल्छ।

संक्रमितहरुको उपचारका लागि कस्तो बन्दोबस्त छ ?

यो रोगको यकीन औषधी छैन। आइसोलेसनमा राखेर लक्षणअनुसार उपचार गर्ने हो। त्यही भएर हामी आइसोलेसनको आयतन बढाउँदै छौं। नारायणी अस्पताल वीरगञ्जबाट सुरु भएको आइसोलेसन आठवटै जिल्लामा फैलाउँदै छौं। राजविराज, सिरहा, धनुषा, रौतहट, बारा र पर्सामा संक्रमितलाई भर्ना गरेर उपचार सुरु छ। महोत्तरीमा पनि छिट्टै सुरु हुँदै छ। प्रदेशभरी तीन सय आइसोलेसन बेड थपेर संरचना निर्माण भैरहेको छ। संक्रमितको संख्या बढ्दै गएपछि सकेजति सबैलाई आइसोलेसनमा राख्ने सोचमा छु। तर ठूला देशहरुको त बेहाल छ भने हामीले कतिसम्म गर्न सक्छौ र। हामीले सकेजति गर्छौ। बाँकी इश्वरको कृपा।

फोटो  

सर्लाहीको गोरैता नगरपालिकाका प्रमुख देवेन्द्र यादव

प्रदेश २, समाजिक विकास मन्त्री नवलकिशोर साह।

 

 

प्रकाशित: १० जेष्ठ २०७७ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App