coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ मा कोरोना नियन्त्रणका लागि कसरी काम गर्दैछन् स्थानीय तह?

यो लकडाउनको सुरुकै कथा हो। सीमा नाकामा कयौं नेपाली घर फर्किने अनुमतिको पर्खाइमा थिए। स्वदेशमा मजदुरहरु कयौं दिन पैदल नापेर पीडादायी यात्रा गरिरहेका थिए। उनीहरुलाई गन्तव्यमा पुर्याउन माग गर्ने आवाज चर्को थियो। सीमामा अलपत्र नेपालीलाई नेपाल भित्र्याएर क्वारेन्टिनमा राख्न सरकारमाथि तीव्र दबाब पर्दै आएको थियो।  

तर, सरकारले उनीहरुको आग्रह पटक्कै सुनेन। उल्टै सेरोमेनियल भूमिाकाकी राष्ट्रपतिदेखि  प्रधानमन्त्री, मन्त्रीहरुसम्मले ‘भावुक नहुन’ भन्दै थर्काए। फलस्वरुप भारतबाट भाइरस संक्रमितहरु लुकेरै गाउँ–गाउँ पुगेको प्रमाण अहिले धमाधम सक्रमित थपिएर देखापरिरहेको छ। जनस्वास्थ्य विज्ञहरु बेलैमा व्यवस्थापनमा लागेको भए अहिलेको अवस्था फरक हुने बताउँछन्।  

यसको प्रमाण देखिन थालेका छन्।  स्थानीय तहका जनप्रतिनिधिको सक्रियताका कारण कोभिड १९ संक्रमितहरु सोझै घर पुग्नबाट रोकिएर उपचारको ढोकासम्म पुगेका छन्। प्रदेश १ का स्थानीय तहको सक्रियताले संक्रमितहरु सोझै समुदायको सम्पर्कमा पुग्नबाट रोकिएका हुन्।  

पछिल्लो समयमा भारतबाट घर फर्किएका धेरै नेपालीमा कोभिड १९ को संक्रमण धमाधम पुष्टि भइरहेको छ। मंगलबार प्रदेश १ मा संक्रमण पुष्टि भएका ११ मध्ये झापा कचनकवलका नौ जना भारतीय भूमिबाटै नेपाल भित्रेका नेपाली हुन्। सोमबार पनि कचनकवलकै एक जनामा संक्रमण पुष्टि भएको थियो।  

कचनकवल गाउँपालिका उपाध्यक्ष निम्सरी राजवंशीका अनुसार लुकिछिपी नेपाल प्रवेश गर्न खोजिरहेका ती १० जना संक्रमितलाई जनप्रतिनिधि र सुरक्षाकर्मीले नेपाल प्रवेश गराएका हुन्। ‘धन्य हामीले नेपाल प्रवेश गराएर उनीहरुलाई क्वारेन्टाइनमा राख्यौं र बेलैमा थाहा भयो’, उपाध्यक्ष राजवंशीले भनिन् ‘यदि लुकेरै नेपाल प्रवेश गरेका भए उनीहरु घर घर पुग्थे, आफूसँग लिएर आएको भाइरस अरु धेरैलाई सार्न सक्थे।’ उनका अनुसार संक्रमित सबै यतिबेला स्वास्थ्यकर्मीको सम्पर्कमा छन् , उनीहरुलाई कोशी अस्पतालको कोरोना उपचार केन्द्रमा भर्ना गर्ने तयारी भइरहेको छ। स्थानीय दुईटा विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका ३३ जनाको स्वाब संकलन गरिएको उनले बताइन्।  

सुनसरीको  गढी गाउँपालिका वडा नं. १ मधेलीका २८ वर्षे युवा बैशाख ३० गते भारतबाट नेपाल आएका हुन्। संक्रमित युवासँगै मधेली वडा १ कै अन्य चार जना, धरान, इनरुवा वडा नं. ७ को चाँदवेला र मोरङ पथरीका एक–एक जना गरि आठ जना भारतबाट आएका थिए। गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव आफै गाउँपालिकाकाका पाँच जनालाई ल्याउनै पर्ने भएर एम्बुलेन्स लिएर जोगवनी गएर ल्याएका थिए। त्यहाँ समय लाग्ने भएपछि उनी प्रक्रिया पुर्‍याएर फर्किए। पछि आठ जना एम्बुलेन्समा आएपछि अन्यत्रतिरका तीन जना आ-आफ्नो घर गए। पाँच जनालाई गढी गाउँपालिकाकै गढी निमावि भमरीको क्वारेन्टाइनमा राखियो। पाँचै जनाको स्वाब परीक्षण गर्दा सोमबार एक जनामा कोरोना पेजेटिभ नतिजा आएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए।

प्रदेश १ मा सबैभन्दा पहिले संक्रमण देखापरेको उदयपुरको भुल्के क्षेत्रमा संक्रमण दर घटेपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सार्वजनिक रुपमै भनेका थिए ‘कोरोना भाइरसलाई हामीले घेराबन्दी गर्दैछौं। अब अन्यत्र फैलिन नदिन सबै उपाय लगाउँदैछौं।’ प्रदेशमा कोरोना नियन्त्रणको कमान्ड सम्हालेका विभागीय  मन्त्रीले यसो भनेको दुई साता बित्दा प्रदेशका विभिन्न नयाँ ठाउँमा संक्रमण विस्तार भइसकेको छ। मंगलबार मात्रै सुनसरीको इटहरी, गढी तथा कुशाहामा संक्रमण देखापरेको छ। यसअघि नै धनकुटामा फेला परिसकेको छ।  

यसरी संक्रमण  देखा परेकाहरुको ट्राभल हिस्ट्री  कुनै न कुनै रुपमा भारतसित जोडिएको स्वास्थ्यकर्मी बताउँछन्। दुई दिनअघि संक्रमण पुष्टि भएकी महिला त  भारतमा रहेको माइती पुगेर आएको खुलेको छ। ‘अहिलेसम्म लुकेर आएकाहरुले धेरै फैलाएका छन्’, विराटनगरमा कोरोना उपचारमा खटिएका एक जना चिकित्सकले भने ‘त्यसैले नाकामा रहेकालाई खुला रुपमा ल्याउने, क्वारेन्टाइन गर्ने र परीक्षण गर्ने काममा ढिला गर्न हुँदैन।’  

सुनसरीमा कोरोना पोजेटिभ देखिएका  इटहरी वडा नं. २ का युवक धरानको एक निजी माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने छात्र हुन्। सुनसरीकै अर्का  संक्रमित सशस्त्र प्रहरी हुन्। उनी कोशी गाउँपालिका क्षेत्रको कोशी टप्पु क्षेत्रमा कार्यरत छन्। उनी कोशी टप्पु क्षेत्रको पश्चिम कुसाहामा खटिएका पाँच महिना पुग्यो। पश्चिम कुासहामा कार्यरत एक जना सशस्त्र प्रहरीलाई ज्वरो आएर अहिलेको महामारीको समयमा तत्काल चेक गराउँन सुल्झाउँदै लिएर गएको बेला आफ्नो पनि स्वाब परीक्षण गराउने सोच जागेपछि रिजल्ट नेगेटिभ आएको हो। सशस्त्र प्रहरीको सीमा सुरक्षा बल सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले भने, ‘अर्का साथीको चेक गर्न गएको बेला उनले पनि गराउँदा कोरोना पोजेटिभ रिजल्ट आएको हो।’  

प्रदेश १ मा मंगलबारसम्ममा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ।  जसमध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ। प्रदेश १ मा ५४ जनालाई कोभिड—१९ पुष्टि भएको छ। आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ। प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ।  

 

 

 

प्रकाशित: ६ जेष्ठ २०७७ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App