६ वैशाख २०८१ बिहीबार
राजनीति

एमसीसी जस्केलाबाट होइन, अगाडिको ढोकाबाटै आएको हो : प्रधानमन्त्री ओली (अपडेट)

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी जस्केलाबाट पारित गर्न नखोजिएको बताएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले एमसीसी पास गर्ने/ नगर्ने विषय अब संसदको भएको बताएका हुन् ।  

जेठ २ गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको बुँदा नम्बर २ सय ११ मा लप्सीफेदी– रातमाटे–हेटौडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४ सय केभी ट्रान्समिसन लाईन’को विषय उल्लेख छ । सोही विषयमा सत्तारुढ दलकै सांसदहरुले एमसीसी जस्केलाबाट ल्याउन खोजिएको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीले ट्रान्समिसन लाइन अनिवार्य ढंगले बनाउनु पर्ने कुरा भएकाले पछाडी ढोका नभई अगाडीकै ढोकाबाट बनाइने बताए । एमसीसी पास भए/नभएपनि लप्सीफेदी–रातमाटे–हेटौडा र लप्सीफेदी–रातमाटे–दमौलीबुटवल ४ सय केभी ट्रान्समिसन लाईन बनिछाड्ने उनले बताए ।  

प्रधानमन्त्री ओलीले भने ‘हाम्रो जलस्रोतको धनी देश । हामी बेसरी उत्पादन गर्दैछौँ र त्यसरी उत्पादन गरेको विजुलीका लागि ट्रान्समिसन लाइन चाहिएन ? त्यस कारण यो प्रश्न ट्रान्समिसन बनाउने भन्ने कुरा हो र ट्रान्समिसन लाइन अनिवार्य ढंगले बनाउन्छ । यो पछाडिको ढोकाबाट होइन अगाडीको ढोकाबाट । जस्केलाबाट होइन मुल बाटोबाट बनाइन्छ । एमसीसीले बनाउँछ भने एमसीसीले बनाउछ । त्यसले बनाउँदैन भने अरुले बनाउँछ । कसैले नभए हामीले बनाउँछौँ । तर यो बन्छ, बन्छ । बनाइन्छ बनाइन्छ ।’

नेपालमा उत्पादन भएको विद्युत अन्य देशमा निर्यात गर्न पनि ट्रान्समिसन लाइनको आवश्यकता पर्ने उनले बताए । ‘ठूलो लगानी गरेर उत्पादन भएको विद्युत कहाँ लाने ? डोकामा बोकेर लाने कुरा भएन् । केहीमा बोकेर लाने कुरा भएन् । त्यसकारण त्यसका लागि चाहिने ट्रान्समिसन लाइन त्यो अनिवार्य छ । हामी बनाउँछौँ ।’प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्ने÷नगर्ने कुराको निष्कर्ष सदनले निकाल्नुपर्ने बताए । विगतको सरकारले गरेको सम्झौता अविच्छिन्न उत्तराधिकारको हैसियतले अहिलेको सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको उनले बताए ।  

अघिल्लो सरकारले गरेका सम्झौता पारित गर्दैनौ भन्न नमल्निे भन्दै ओलीले सम्झौताको परिपालना नभए कुटनीतिक विश्वसनियता, राज्यहरुका बीचमा गरेका सम्झौताहरुको विश्वसनियता र नीतिहरुको निर्णयहरुको स्थिरता तथा स्थायित्वको विश्वसनियतामाथि प्रश्न उठ्ने बताए ।  

ट्रान्स मिसन लाइन बनाउने बुँदामा एमसीसी उल्लेख नभएको बताउँदै ओलीले सरकारले भोलीका लागि आज पेट काटेर, पटुका बाँधेर भएपनि बनाउने बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा विद्युतको व्यापार गर्नका लागि यसको आवश्यकता रहेको उल्लेख गर्दै उनले भने ‘लाइन नै नबनाई विद्युत कसरी अन्तर्राष्ट्रिय क्षेत्रमा ब्यापार गर्ने ? बंगलादेशसँग व्यापार गर्ने भनेका छौँ । अनि के गर्छौ ? कसरी लिएर जान्छौँ ? ट्रकमा त जाँदैन विजुली, रेलबाट, पानी जहाजबाट पनि जाँदैन ट्रान्समिसन लाइन चाहिन्छ । त्यसैले लाइन बनाउछौँ भनेर भनिएको हो ।’

प्रकाशित: ६ जेष्ठ २०७७ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App