coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘डेट बडी’ व्यवस्थापनबारे छैन सरकारको तयारी

कोरोना भाइरसले मृत्यु भएकी महिलाको अन्त्येष्टि गरेको टिमका राजेश गाइजु, अरुण सैजु, न्हुजकिजु र पुनम कर्माचार्य । तस्बिर सौजन्य : राम सुन्दर वासी

धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको शुक्रबार निधन भयो । मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आयो । कोरोनाकै कारणले मृत्यु भएकी ती महिलाको अन्त्येष्टि गर्ने सम्बन्धमा भने जिम्मेवारी निकायलाई शनिबार दिनभर टाउको दुखाइ बन्यो । 

सरकारी संयन्त्रसँग डेट बडीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा कुनै पनि निकायको पूर्वतयारी थिएन । शनिबार दिनभर स्वास्थ्य मन्त्रालय, धुलिखेल नगरपालिका, प्रहरी, भक्तपुर नगरपालिकालगायत बीच कुनै पनि प्रकारको समन्वय भएन । कोरोनाले मृत्यु भएका व्यक्तिको अन्त्येष्टि कसरी गर्ने भनेर पूर्वतयारी नभएकाले यी निकाय पन्छिए ।  

शनिबार साँझ ६ बजेतिर स्काउट र विपद् व्यवस्थापनमा काम गर्दै आएका राजेश गाइजुले भक्तपुर प्रहरी परिसरलाई आफूहरूले कोरोनाले मृत्यु भएको डेट बढीलाई अन्त्येष्टि गर्ने बताए । त्यसपछि शववहान लिएर उनीसहितको आरएएन १६ रेस्क्यु टोली धुलिखेलतर्फ प्रस्थान ग¥यो । यो टोलीले कोरोनाले मृत्यु भएको व्यक्तिको शव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पूर्ण तालिम लिएको थियो । 

सरकारी निकायबीच शव व्यवस्थापनमा पहल नभइरहेको अवस्थामा गाइजुको रेस्क्यु टोलीले शव व्यवस्थापन गरेको थियो । उक्त रेस्क्यु टोलीमा अरुण सैजु, न्हुजकिजु र पुनम कर्माचार्य छन् । उनीहरूले कोरोना संक्रमितबाट कसैको निधन भएमा आफूहरूले डेट बडीलाई व्यवस्थापन गर्नसक्ने उदारहण शनिबार देखाइसकेका छन् । ‘अरू निकाय तत्पर नभएको अवस्थामा प्रहरीसँग समन्वय गरेर हामीले शव व्यवस्थापन गर्यौं, हामीसँग पूर्ण सतर्कता र सावधानी अपनाउने तरिका छ,’ टोलीका अरुण सैजुले भने ।  

सरकारले महामारी फैलिरहेको बेला स्थानीय तहलाई गरेको व्यवहारप्रति भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति असन्तुष्ट छन् । उनले सरकारले महामारीको बेला स्थानीय तहलाई आदेशबाहेक अरू सहयोग नगरेको बताए । ‘न राहत वितरणमा तयारी थियो, एकैचोटि आदेश दियो केन्द्रबाट, क्वारेन्टिन बनाऊ भनेर आदेश दियो, त्यसका लागि आवश्यक बजेट र उपकरण दिएन,’ उनले भने, ‘यसकै व्यवस्थापन र राहत वितरणमा १ करोडभन्दा बढी बजेट खर्च भइसकेको छ ।’ उनले सरकारले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषमा २ अर्बभन्दा बढी बजेट संकलन भए पनि विपद्को बेला उक्त बजेट सरकारले परिचालन नगरेको जानकारी दिए । ‘हामी त्यति कमजोर त छैनौं तर केन्द्रीय सरकारले स्थानीय सरकारलाई हेला गर्दै आइरहेको छ, यस्तो बेलामा सबैभन्दा बढी जिम्मेवार र भूमिका स्थानीय तहले नै निभाइरहेका छन्,’ उनले सुनाए ।  

रेस्क्यु टिमकै अर्का व्यक्ति पुनम कर्मचार्यले सरकारी निकायसँग समन्वय गरी आफूहरूले सहयोग गर्ने बताइन् । उनले यस्तो अवस्थामा सरकारी निकायको तयारी नभएकाले आफूहरूले छलफल गरेर टिम तयार पारेको बताइन् । ‘हुन त यस्तो अवस्थामा सरकारले नै राम्रोसँग पूर्वतयारी गर्नुपर्ने हो, हामीले यस्तै महामारीलाई ख्याल गरेर पूर्वतयारी गरेका थियौं, काम लाग्यो,’ उनले भनिन् ।  

सामाजिक अभियन्ता राज घिमिरेले यस्तो बेलामा सरकारको पूर्वतयारी झिनो देखिएको बताए । सामान्य अवस्थालाई त थेग्न नसक्ने सरकारी संयन्त्रले भयावहलाई कसरी व्यवस्थापन गर्ला भन्ने विषय गम्भीर रहेको उनको भनाइ छ । ‘पहिलो चरणमै सरकारी निकाय थाकेझै देखिन्छ, संक्रमण फैलिरहेको बेला सरकारले पूर्वतयारी गरेको देखिएन,’ उनले भने ।  

मेयर प्रजापतिले एकजनाको मृत्यु हुँदा शव व्यवस्थापनमा कठिनाइ देखिनु केन्द्रीय सरकारकै कमजोरी भएको बताए । उनले भक्तपुर नगरपालिकाले सेनासँग मिलेर विपद् व्यवस्थापनमा काम गर्दै आइरहेको जानकारी दिए ।  

स्वास्थ्य मन्त्रालय पनि विपद्को सम्बन्धमा पूर्वतयार छैन । टेलिभिजनमार्फत कोरोना संक्रमितको संख्या बताउँदै आएको मन्त्रालयले डेट बडीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कुनै तयारी गरेको छैन । यस सम्बन्धमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले स्वास्थ्य मन्त्रालयबाहेक अरू निकायले पनि डेट बडी व्यवस्थापन गर्नसक्ने बताए । ‘मन्त्रालयले अरू व्यवस्थापन गरेको छ, यस विषयमा पनि स्थानीय सरकार र अन्य निकायसँग समन्वय गर्छ,’ उनले भने ।  

सुरक्षामा खटिएका केहीप्रहरी संक्रमित भएपछि प्रहरी कार्यालयहरूले कर्मचारीलाई सुरक्षित रहेर काम गर्न आग्रह गर्दै आइरहेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले प्रहरीले आफ्नो तर्फबाट गर्नुपर्ने सबैखाले पूर्वतयारी गरेको जानकारी दिए । उनले पहिलो डेट बडीलाई व्यवस्थापन गर्न केही अलमल भए पनि अबका दिनमा त्यसो हुन नसक्ने धारणा राखे । उनकाअनुसार शनिबार अप्रत्यासित ढंगले उक्त घटना भएकाले पनि व्यवस्थापनमा केही ढिलो भएको थियो । ‘राज्य नै तयार छैन भन्न मिलेन तर आवश्यक तयारीमा कमी नै छ,’ उनले भने, ‘डेट बडी म्यानेजमेन्ट’ तालिम पनि भइसकेको छ, परिसरले १५ जना प्रहरी कोरोना व्यवस्थापनकै लागि तयारी अवस्थामा  राखेको छ ।’

प्रकाशित: ५ जेष्ठ २०७७ २१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App