७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजनीतिक उचाइ बढाउन गलत प्रचारबाजी

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो गृह जिल्ला रोल्पामा विभिन्न स्वास्थ्य सामग्री पठाइएको जानकारी दिइन् । उनले रोल्पाका लागि दुई हजार थान आरडिटी किट, पाँच हजार थान सर्जिकल मास्क र ७५ थान पिपिई सेटसहितका स्वास्थ्य सामग्री पठाएको लेखेकी छन् ।

फेसबुकमार्फत जिल्लामा स्वास्थ्य सामग्री पठाएको जानकारी दिए पनि घर्तीले उक्त सामग्री कहाँबाट कसको सहयोगमा रोल्पा पठाइएको हो भन्ने खुलाएकी छैनन् । फेसबुक स्टाटसलाई आधार मानेर कतिपय सञ्चारमाध्यमले उनकै लगानीमा सामग्री खरिद गरेर पठाएजसरी समाचार लेखे भने जिल्लाका धेरैले घर्तीलाई सामग्री पठाएकोमा सामाजिक सञ्जालमार्फत नै धन्यबाद र बधाई पनि दिए । त्यसो त कतिपयले यसलाई संकटको राजनीति पनि भनेका छन् । 

नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीका अनुसार यी सामग्री शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीको पहलमा स्वास्थ्य सेवा विभागमार्फत रोल्पा पठाइएको हो । उनले भने, ‘आफैंले किनेर पठाउनुभएको होइन, उहाँको पहलमा स्वास्थ्य सेवा बिभागबाट रोल्पा आएको हो । माथिल्ला निकायले भनसुन नगरेसम्म सामग्री पठाउदैनन् । त्यसैले उहाँले पहलकदमी लिनुभएको हो ।’ 

त्यसो त गत चैतमा ऊर्जामन्त्री वर्षमान पुनले विभिन्न स्वास्थ्य सामग्री पठाएको भन्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हल्लीखल्ली भयो । त्यति मात्र होइन, इँटाभट्टामा अलपत्र परेका सयौं रोल्पाली मजदुरलाई ऊर्जामन्त्री पुनले बस चढाएर रोल्पा पठाएको भनेर प्रचारबाजी गरियो । तर ती मजदुरहरू बस तथा टिपरमा कोचिएर साबिकको भन्दा तीनगुणा बढी गाडी भाडा तिरेर कष्टपूर्ण तरिकाले रोल्पा आएका थिए । पदमा बसेर गर्नै पर्ने काम गरेर त्यसलाई अतिरञ्जित गर्दै प्रचारबाजी गर्नु गलत भएको स्थानीयहरूले गुनासो गर्न थालेका छन् ।

राज्यले नियमित गर्ने काम नेता र मन्त्रीले गरेको वा पहल गरेको भन्नु गलत भएको बताउँदै नेपाली कांग्रेस रोल्पाका कावा सभापती किशोर आचार्य भन्छन्, ‘यो संकटका समयमा समेत गरिएको राजनीति हो । जिल्लामा आउने स्वास्थ्य सामग्री राज्यले विधिपूर्वक पठाएको हो । नियमपूर्वक हुनैपर्ने गतिविधिमा नेता मन्त्रीले गरेको भन्दै प्रचारबाजी गरिनु गलत हो,’उनि भन्छन्, ‘राज्यको गतिला पदमा बस्नेले गृह जिल्ला मात्रै होइन देशैभरिका लागि समानता र समतामूलक तरिकाले भूमिका निभाउनुपर्छ ।’

नियमित विधि र प्रक्रियाबाट हुनैपर्ने र भएका काममा राजनीति फाइदाका लागि गरिने यस्ता हल्लीखल्लीले राज्यलाई हेर्ने आमनागकिको दृष्टिकोण फरक हुने जानकारहरू बताउँछन् । ‘यस्तो प्रचारबाजीले आमनागरिकलाई पहँुच भए मात्र सेवा सुविधा पाइन्छ भन्ने सोचको विकास हुन्छ ।’ सत्तापक्षीय नेकपाका जिल्लास्तरीय एक नेताले भने, ‘पछिल्लो समय हाम्रो जिल्लामा राज्यले गरेका गतिविधि पनि मैले वा मेरो पहलमा भएको भनेर जनता झुक्याउने काम भइरहेको छ ।’

नेता, मन्त्री, सभामुखले जिल्लाका विभिन्न क्षेत्रमा नियमित आउनैपर्ने आएको बजेट आफूले ल्याएको दाबि गर्ने चलन विगतदेखि नै चलिआएको छ । जनता र मतदातालाई भ्रममा पार्नेगरी समयसमयमा गरिने गलत प्रचारबाजीले स्थानीय स्तरमा दीर्घकालीन राजनीतिक स्थायित्व नहुने सत्ता पक्षीय नेकपाका जिल्लास्तरीय नेताहरू बताउँछन् ।

प्रकाशित: ५ जेष्ठ २०७७ २०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App