८ वैशाख २०८१ शनिबार
राजनीति

लोकसेवाका सवै परीक्षा स्थगित, पदपूर्ति नरोकिने

लोकसेवा आयोगले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमका कारण परीक्षाको चरणमा प्रवेश गरेका बाहेकका सवै पदपूर्तिका कार्यक्रमहरु स्थगित गरेको छ।

कोरोना संक्रमणका कारण सिर्जना भएको स्वास्थ्य सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै मन्त्रीपरिषदको गत बैशाख १४ गते बसेको बैठकले आयोगबाट सन्चालन हुने सम्पूर्ण पदपूर्तिका कार्यक्रम स्थगन गर्न गरेको आग्रहपछि आयोगको सोमबार बसेको बैठकले पदपूर्ति स्थगित गर्ने निर्णय गरेको हो।  

आयोगको निर्णयसँगै निजामति सेवा, सुरक्षा निकाय, सार्वजनिक संस्थान र संठगित संस्थाका परीक्षाको चरणमा नपुगेका सबै तहको पदपूर्ति स्थगित भएको हो।  परीक्षाको चरणमा प्रवेश गरिसकेको अथवा कुनै एक चरणको परीक्षा भैसकेकाको हकमा भने त्यसलाई रोक्न नमिल्ने भएकाले स्थिती सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिने भएको छ।  ‘दरखास्त संकलन भैसकेका तर कुनै पनि चरणको कार्यक्रम परिक्षा कार्यक्रम सन्चालन नभएका विज्ञापन सरकारको अर्को निर्णय नआएसम्मका लागि सवै परीक्षा कार्यक्रम स्थगन गरिएको छ,’ आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले भने ‘कुनै पनि पदको कुनै एक चरणको परीक्षा भैसकेको छ भने त्यसको हकमा भने पदपूर्ति कार्यक्रम रोक्न मिल्दैन, स्थिती सामान्य भएपछि परीक्षा कार्यक्रम सन्चालन हुन्छ।’ सहायक प्रवक्ता सुवेदीले सरकारको अनुरोध अनुसार आयोगको सोमबार बसेको बैठकले पदपूर्ति स्थगन गर्ने सम्वन्धी विभिन्न निर्णय गरेको बताए।  

सोही बमोजिम लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिका निर्धारण गरि पछि प्रकाशन गरिने आयोगले जनाएको छ।  आयोगले आयोगले २०७६ फागुन २८ गते खरिदार र सो सरहका पदहरुमा विज्ञापन भएका विभिन्न विज्ञापनहरुमा दरखास्त लिने कार्य जेठ ९ गते शुक्रबारदेखि बन्द गर्ने निर्णय समेत गरेको छ।  उक्त पदको लागि दरखास्त बुझाइसकेका तर दरखास्त दस्तुर बुझाउन बाँकी रहेका उम्मेदवारका लागि स्थिती सामान्य भएपछि निश्चित अवधी तोकि दरखास्त बुझाउन प्रवन्ध गरिनेछ।  सरकारबाट अर्को निर्णय नभएसम्मका लागि उक्त विज्ञापनहरुको परिक्षा स्थगित गरिएको छ। 

यदि सरकारले पदपूर्ती रद्ध गर्न आयोगलाई आग्रह गरेको अवस्थामा भने आयोगले शुल्क बुझाइसकेका आवेदकहरुलाई शुल्क फिर्ता गरि रद्ध गर्न पनि सक्नेछ।  यसैगरि आयोगले स्विकृत कार्यतालिका बमोजिम विज्ञापन गर्न बाँकी रहेका सम्पूर्ण पदहरुको विज्ञापन प्रकाशन कार्य समेत स्थगित गरेको छ।  कोरोनाकै कारण अव आर्थिक बर्ष २०७७/०७८ को पदपूर्ती के हुन्छ भन्ने समेत अन्यौल देखिएको छ।  न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाका पदहरुको विज्ञापनको हकमा स्थिती सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गर्ने निर्णय आयोगले गरेको छ।  आयोगले सुरक्षा निकाय र संगठित संस्थाहरुको परीक्षा सन्चालन गर्ने विषयमा आयोगले कुनै पनि चरणको परीक्षा भैसकेका वा परीक्षा प्रकृयामा प्रवेश गरेका स्थिती सामान्य भएपछि नयाँ परीक्षा कार्यक्रम निर्धारण गरि सार्वजनिक गरिने जनाएको छ।  सम्वन्धित संस्थाहरुबाट विज्ञापन प्रकाशन गरिसकेको तर आयोगद्धारा परीक्षा निर्धारण हुन बाँकी निकाय, संस्थाहरुको विज्ञापन परिक्षा कार्यक्रम सरकारबाट अर्को निर्णय नआएसम्मका लागि स्थगित गरिएको आयोगले जनाएको छ।  यसअघि बैशाख १४ गतेको मन्त्रीपरिषद बैठकले कोरोना संकटका कारण आर्थिक संकट हुन सक्ने भन्दै पदपूर्ति रोक्न भनेको थियो।  आयोगले भने परीक्षाको चरणमा प्रवेश गरेका बाहेक अन्य मात्रै रोक्न सकिने बताउँदै आएको थियो।  केही समय अघि सार्वजनिक खर्च पुनरावलोकन आयोगले पनि निजामति सेवामा आवश्यकता भन्दा बढी कर्मचारी रहेको भन्दै ४५ हजार कर्मचारी कटौती गर्न सरकारलाई सिफारिस गरेको थियो।  

 

प्रकाशित: ५ जेष्ठ २०७७ १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App