जनता समाजवादी पार्टीमा निर्वाचन आयोगमा कसको अध्यक्षतामा पार्टी दर्ता गर्ने भन्ने विवादको टुंगो अझै लागेको छैन । पार्टीमा मयर्दाक्रमको विवाद पनि मिल्न सकेको छैन । वैशाख १० गते मध्यरातमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पार्टी एकीकरण भई जनता समाजवादी पार्टी गठन गर्ने सहमति भएको थियो । त्यसको भोलिपल्टै नवगठित पार्टीका नेताहरू निर्वाचन आयोग र संसद् सचिवालय गई पार्टी एकीकरण भएको जानकारी गराएका थिए । कानुनअनुसार आयोगमा निबेदन दिएको ४५ दिनभित्र आयोगले मागेका सबै कागजातहरू बुझाउनु पर्ने छ ।
यसकोलागि एकीकृत पार्टीको विधान,घोषणा पत्र,संगठनात्मक संरचना र कसको अध्यक्षतामा पार्टी दर्ता गर्ने,नेतृत्व गर्ने व्यक्तिको नाम लगायतका कागजाताहरू आयोगमा बुझाउनु पर्छ । स्रोत भन्छ, पार्टीको नेतृत्वका लागि विभिन्न चरणमा बिकल्पमा छलफल भइरहेको छ तर कुनै पनि बिकल्पमा सहमति जुट्न सकेको छैन ।
पार्टी एकीकरण गर्ने सहमति हुँदा पहिलो अध्यक्षमा महन्थ ठाकुर र दोश्रो मर्यादामा बाबुराम भट्टराईलाइ राख्ने सहमति भएको थियो । अरु नेताको हकमा पछि छलफल गर्ने सहमति भएको थियो । स्रोत भन्छ,नव गठित पार्टीमा कार्यकारिणी समिति, राजनीतिक समति र केन्द्रीय समिति बनाउने विषयमा छलफल भइरहेको छ । तर कुन नेतालाई कुन समितिको अध्यक्षताको जिम्मेवारी दिने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । पूर्व समाजवादीका नेताहरू ठाकुरलाई मानर्थ अध्यक्ष र भट्टराइलाई कार्यकारिणी समितिको अधयक्ष बनाउनु पर्ने अडान राखेका छन् ।
उपेन्द्र यादव निकट नेताहरू भने तत्कालिन समाजवादी पार्टीमा झै यादवलाई कार्यकारीणी समितिको अध्यक्षको जिम्मेवारी दिनु पर्ने अडान राखेका छन् । तत्कालिन समाजवादी पार्टीमा राष्ट्रिय परिषद्को अधयक्ष भट्टराइ र कार्याकारिणी समितिको अध्यक्ष थादव थिए । पूर्व राजपाका नेताहरू पहिलो मयार्दामा ठाकुरलाई राख्ने हो भने कार्यकारिणी अधिकार पनि ठाकुरलाई दिनु पर्ने अडान राखेका छन् ।
स्रोतको अनुसार हालसम्म भएको छलफलमा मयार्दाक्रमा पहिलो स्थानमा ठाकुर, दोश्रोमा भट्टराइ, तेश्रोमा यादव, चौथोमा राजेन्द्र महतो, पाँचौमा अशोइ राइ, छैटौमा महेन्द्र यावद र सातौंमा शरतसिंह भण्डारीको स्थान रहने सम्भावना रहेको छ । सुरु देखि नै असन्तुष्ट जनाउँदै आएका अनिल झा र राजकिशो यादवलाई कसरी व्यवस्थापन गर्ने भन्ने अर्को चुनौती थपिएको छ । नव गठित पार्टीका सबै शिर्ष नेताहरूले जनता समाजवादी पार्टीमा राजपाकोे जस्तो अध्यक्ष मण्डल नरहने बताउँदै आएका छन् । तर नेतृत्व मण्डल कस्तो हुन्छ भन्ने जिज्ञासामा भने उनीहरूले प्रष्ट्र बोल्दैनन । ‘सबै विकल्पमा छलफल भइरहेको छ । तर कुनै बिकल्पमा टुंगो लागेको छैन’भण्डारीले भने,‘तर जनता समाजाद पार्टीमा राजपा जस्तो अध्यक्ष मण्डल नराख्ने विषयमा भने करिब करिब सहमति भएको छ ।’
दुवै पार्टीका नेताहरूको बराबरीको सिद्धान्तको आधारमा दुई पार्टीवीच एकीकरण भएको दावी गर्दै भएका छन । सहमति अनुसार बराबरी सिद्धान्तको आधारमा केन्द्रदेखि गाउँसम्म संगठनात्मक संचरना तयार हुने दुवै पार्टीका नेताहरूको भनाइ छ ।
नव गठित पार्टीको केन्द्रीय समितिको आकार कति ठूलो बनाउने भन्ने विषयमा टुंगो लगाउन पार्टीका शिर्ष नेताहरूलाई अर्को चुनौती थपिएको छ । एकीकृत पार्टीको केन्द्रीय समिति बढीमा २सय सम्मका हुने पार्टीका नेताहरूले जनाएका छन् ।
तत्कालिन राजपा र समाजवादीका केन्द्रीय सदस्यहरूलाई नव गठित पार्टीको केन्द्रीय समितिमा राख्दा एकीकृत पार्टीमा केन्द्रीय सदस्यको सख्या १३सय भन्दा बढीको हुन्छ । यती ठूलो संख्यामा केन्द्रीय समितिको आकार बनाउन उपयुक्त नहुने पार्टीका सबैजसो नेताहरूको भनाइ छ । ‘वैशाख १० गते राती जुनसुकै अवस्थामा पनि राजपा र समाजवादीवीच एकीकरण प्रक्रियालाई टुंगोमा पु¥याउनै पर्ने बाध्यता थियो’तत्कालिन राजपाका एक पदाधिकारी भन्छन,‘बाँकि अरु ऐजण्डामा पछि छलफल गर्ने भन्दै हतारमा टुंग्याऔ । त्यसैले अब यी विषयमा टुंगो लगाउन चुनौती थपिएको छ ’ ।आयोगमा बुझाउन केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलनको काम भने पूरा भएको पार्टीका नेताहरूले जनाएका छन् ।
आयोगमा बुझाउन पार्टीको घोषणापत्र र विधानको अझै टुंगो लागेको छैन । विधान मस्यौदा समितिले बनाएको विधान र घोषणा पत्रको मस्यौदालाई पार्टीका शिर्ष नेताहरूले पुनर्लेखन गर्न निदेृशन दिएका छन् । घोषणा पत्रमा नव गठित पार्टीलाई कम्युनिज्म आइडोलोजि (सिद्धान्त)मा लैजाने कि लोकतान्त्रिक आइडोलोजिमा लैजाने भन्ने विषयमा पार्टीका नेताहरू एक मत हुन सकेका छैनन् । यसकारण पार्टीको घोषणापत्र र विधानमा टुंगो नलागेको पार्टीका नेताहरू बताउछन् ।
प्रकाशित: १ जेष्ठ २०७७ १८:३३ बिहीबार