३० असार २०७७ मंगलबार
राजनीति

भाारतमा रेलसेवा सुरु भएसँगै स्वदेश फर्कने क्रम बढ्यो

सीमाक्षेत्रमा ठूलो क्षमताको क्वारेन्टिन निर्माण गर्दै प्रदेश सरकार

भारतका विभिन्न सहरबाट फर्किएका र फर्किने तयारीमा रहेकाहरूलाई राख्न प्रदेश २ सरकारले सीमावर्ती पालिकाहरूमा क्वारेन्टिन निर्माणमा गर्दै छ । प्रदेश २ को सीमावर्ती ती ठाउँमा ठुलो क्षमताका क्वारेन्टिन निर्माण गरी भारतबाट आउने तयारीमा रहेकाहरूलाई राख्ने भएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भने, ‘प्रदेशको सीमावर्ती क्षेत्रमा ठूलो क्षेत्रफलको क्वारेन्टिन निर्माण गर्दै छौं । भारतबाट ठूलो संख्यामा नेपालीहरू घर फर्किन थालेपछि उनीहरूलाई राख्न क्वारेन्टिन निर्माण गर्न लागिएको हो ।’

सीमावर्ती भारतीय सहर र दशगजासम्म आएर बसेका नेपालीलाई उद्धार गर्न सीमावर्ती क्षेत्रका पालिकाहरूले भएको क्वारेन्टिनको  क्षमता बढाउँदै छन् । महोत्तरीको लजेश्वर नगरपालिकाले यहाँको क्याम्पसमा ३० शड्ढयाको क्वारेन्टिन निर्माण गरेको छ । बुधबार दिउँसोसम्म यहाँ ९ वटा शड्ढया खाली थिए । तर, अँध्यारो भएपछि पारिबाट आएका १७ जना थपिएकाले क्षमताभन्दा बढी मानिस भरिएका छन् । भारतले रेलसेवा सुचारु गरिदिएपछि घर फर्किने नेपालीको संख्या बढेको छ ।  

बोर्डरमा आइसकेपछि केही गरी पनि वारि आएरै छाड्छन । कारण नेपाली र सीमावर्ती भारतीयको घर जोडिएका छन् । उनीहरूको खेत खलिहान जोडिएको छ । वारिपारि नाता सम्बन्ध घनिष्ठ छ । यसकारण उनीहरूलाई वारि आउन अप्ठ्यारो छैन । अहिलेसम्म अवस्था भयावह थिएन । भारतको कोरोना संक्रमित क्षेत्रबाट नेपालीहरू धमाधम फर्किन थालेपछि संक्रमणको खतरा बढ्दै छ । बुद्यबार महोत्तरी आएकाहरू भारतको राजस्थानबाट आएका हुन् । उनीहरूमध्ये ९ जना जलेश्वरकै ५ नम्बर वडाका हुन् भने बाँकी धनुषाका हुन् ।

बुधबार भारतको नयाँ दिल्ली, हरियाणा र डुमरियाबाट सिरहाको बरियारपट्टी नाका हुँदै ६ जनाले प्रवेश गरेका छन् । त्यसै गरी भारतबाट आएका ५२ जनालाई सिरहा नगरपालिका १७ स्थित ब्रझ माविको क्वारेन्टिनमा राखिएको छ । उनीहरू कमला खोलाको तिरैतिर दशगजामा आएका थिए । तीबाहेक खुला सीमाको फाइदा उठाउँदै दशगजाबाट हिँडेरै लुकेर क्वारेन्टिनसम्म पुगेका हुन् ।  

अलपत्रलाई सीमापारि नै रोक्दा लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि संक्रमणबाट जोगिन वैधानिक रूपमा नाकाबाट ल्याउन लागिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए । ‘दशगजामा अलपत्र परेका विभिन्न जिल्लाका ५२ जनालाई सीमा नाकामै रहेको ब्रझ मावि सिरहाको क्वारेन्टिनमा राखेका छौं,’ प्रजिअ गुरागाईंले भने, ‘यो संख्या अब क्रमशः बढ्दै जान्छ । शुक्रबार उनीहरूको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाउँछौं ।’

प्रदेश २ का आठवटै जिल्ला भारतीय सीमासँग जोडिएका छन् । भारतबाट कति संख्यामा आउने हुन् भन्ने कुनै यकिन छैन । हजारौंको संख्यामा अहिले नै सीमावर्ती क्षेत्रमा रहेकाले भारतमा रेल सेवा सहज भएपछि त्यो संख्या बढ्ने निश्चित छ ।  

प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पिसिआर परीक्षणको दायरा बढाउन काठमाडौंबाट स्वाब संकलन गर्न विशेष टोली आइपुगेको छ । सो टोलीले प्रदेश २ का आठैवटा जिल्लामा सम्भावित कोरोना संक्रमितको स्वाब संकलन गर्ने सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । मंगलबार र बुधबार कोरोना पुष्टि भएका ६० जनालाई आधार बनाएर ३ सय ६० जनाको स्वाब संकलन गरिएको उनले जानकारी दिए ।  

प्रकाशित: २ जेष्ठ २०७७ ००:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App