४ वैशाख २०८१ मंगलबार
राजनीति

सरकारले भारतीय राजदूतलाई बुझायो कूटनीतिक नोट

सशस्त्र प्रहरी दार्चुला पुग्छ: परराष्ट्रमन्त्री

काठमाडौं - नेपालको भूमि लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरेका विषयमा सरकारले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई कूटनीतिक नोट बुझाएको छ। राजदूत क्वात्रालाई सोमबार परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोट बुझाइएको हो। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विषयमा नेपाल सरकारको पोजिसनबारे भारतीय राजदूतलाई जानकारी गराउँदै कूटनीतिक नोट बुझाएको मन्त्रालयले जनाएको छ।

भारतले नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर जोड्ने सडक बनाएर शुक्रबार उद्घाटन गरेपछि दुई मुलुकबीच विवाद उत्पन्न भएको छ। भारतले २ नोभेम्बर २०१९ मा नेपालको भूमि राखेर नक्सा प्रकाशित गरेपछि उत्पन्न विवाद साम्य नहुँदै लिपुलेकमा सडक बनाएको हो।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार  भिडियो कन्फरेन्समार्फत लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उद्घाटन गरेका थिए। भारतले आफ्नो नक्सामा नेपाली भूमि राखेको विषयमा पनि नेपाल सरकारले कूटनीतिक नोट पठाएर विरोध गरेको थियो।  

नेपाल भूकम्पको राहत र उद्धारमा जुटिरहेका बेला १५ मे २०१५ मा भारत र चीनले नेपालको सहमति नलिईकन लिपुलेकलाई अन्तर्राष्ट्रिय व्यापार केन्द्र बनाउने सम्झौता गरेका थिए। नेपाललाई जानकारी नदिईकन नेपालको भूभागका विषयमा दुई छिमेकी मुलुकले सम्झौता गरेपछि शुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले भारत र चीन दुवैलाई असहमतिसहितको कूटनीतिक नोट बुझाएको थियो।  

नेपालले भारतसँगको सीमा सुगौली सन्धिबाट निदृष्ट हुने बताउँदै आएको छ। सुगौली सन्धि, १८६० को सन्धि र १८७५ को सन्धिले नेपालको सीमा निर्धारण गर्ने सरकारले बताउने गरेको छ। त्यसयता सीमा परिवर्तन हुनेगरी दुईपक्षीय सीमा सन्धि नभएका र नेपाल ऐतिहासिक तथ्य, सन्धि र भोगचलन गरेका तिरोहरुका आधारमा समस्या समाधान गर्ने मान्यतामा अडिग रहेको परराष्ट्रमन्त्रीले बताउँदै आएका छन्।  

नेपाली भूमिमा भारतले सडक निर्माण गरेका विषयमा सरकारले औपचारिक रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाइसकेको छ। नेपालले आपत्ति जनाएलगत्तै भारतीय विदेश मन्त्रालयले नेपालको दाबीलाई खण्डन गर्दै सडक भारतीय भूमिमै निर्माण गरेको बताएका थिए।  

भारतले एकपछि अर्काे गर्दै नेपालको भूभागमाथि स्वामित्व स्थापित गर्न खोजेपछि त्यसको व्यापक विरोध र आलोचना भएको छ। कतिपयले यसलाई अन्तर्राष्ट्रियकरण गर्न र संयुक्त राष्ट्र संघलाई गुहार्न सरकारलाई सुझाव दिएका छन्।  

सशस्त्र प्रहरी दार्चुला पुग्छ: परराष्ट्रमन्त्री  

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सशस्त्र प्रहरी टोली सेनाको हेलिकोप्टरमा बुधबार भारतले अतिक्रमण गरेको दार्चुला क्षेत्रमा जाने बताएका छन्। प्रतिनिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले केही दिनभित्रै दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बटालियन राख्ने तयारी भइरहेको बताए।

माथिल्लो दार्चुलामा नेपालको उपस्थिति कम भएका कारण पनि सीमा समस्या भइरहेको उनले बताए। दार्चुला सदरमुकामबाट अतिक्रमित क्षेत्रमा पुग्न एक साता लाग्ने भएकाले नेपाल प्रहरीले पनि सशस्त्रसँगै २५ जनाको टोली पठाउने भएको छ। दुईटा प्रहरी चौकीका लागि करिब २२ जनाको टोली त्यहाँ जान लागेको मन्त्रालयले जनाएको छ। त्यस क्षेत्रमा चिसो बढेसँगै प्रहरी बेंसीतर्फ झर्छन् र गर्मी सुरु भएपछि उकालो लाग्छन्।  

बैठकमा नेकपा वरिष्ठ नेता माधव नेपालले भारतले नेपालको भूमिमा सडक निर्माण गरेको विषय गम्भीर भएको भन्दै सीमा क्षेत्रमा सुरक्षाकर्मी बढाउन सुझाव दिएका थिए।  

जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले परराष्ट्रमन्त्री ज्ञवालीलाई भाषणभन्दा काममा ध्यान दिन आग्रह गरिन्।  गुरुङले तत्काल भारतसँगको सीमा समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताइन्। उनले भारततर्फको सीमामा पर्खाल र काँडेतार लगाउन पनि माग गरिन्।

मिचाह प्रवृत्तिविरुद्ध एक हुनुपर्ने  

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदले नेपालको सीमा मिचिएकोमा आपत्ति जनाएका छन्। भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विषयमा आपत्ति जनाउँदै सत्तासीन नेकपाका सांसद खगराज अधिकारीले यसलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताए। मिचाह प्रवृत्तिविरुद्ध एकताबद्ध भएर मातृभूमि जोगाउनुपर्ने अवस्था आएको उनले बताए।  नेकपाका अर्का गणेश पहाडीले सीमाविवाद टुंगोमा पु¥याउनुपर्ने बताए।  

गगनको कविता

कांग्रेस सांसद गगन थापाले प्रतिनिधिसभामा सीमाक्षेत्र र भ्रष्टाचारको विषयमा कविता सुनाए। उनले ‘म त भाग्यमानी’ भन्दै कविता सुनाएका थिए।  उनको कविता थियो, ‘छैन यहाँ देशको नक्सा मेटिएको, न त लिपुलेकलाई डोजरले रेटिएको !, यस्तो सबल सरकार छ सीमा कसले मिच्नी ? कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी !! 

सयौं कोश हिँड्दा पनि श्रमिक छैनन् आहत, गरिबलाई सम्मान छ, सरकारबाट राहत ! विदेशमा कोही पनि अलपत्र छैनन्, दुख पीडा सुनाउने ती नेपाली नै हैनन् !! जनताको व्यथालाई ध्यान दिएर सुन्ने, कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने!, भ्रष्टाचारलाई नसहने सरकारको छ नीति, हावादारी हल्ला हुन्, ओम्नी र यति, सरकार यस्तो इमानदार यस्तो स्वाभिमानी, आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानी, सबैतिर वाह ! वाहै ! यस्तो विकास देख्दा, पत्रकार नि दंग छन्, यी समाचार लेख्दा !!, 

कोमल हृदयका प्रधानमन्त्री, आँशु कवि हाम्रा, दिन नबिराइ सिर्जना छ, आहा कति राम्रा, राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला, गीत, कविता भट्याउँदै कालापानी जाउँला !!, सारा नेपाल हाँसेको छ, मेची (काली गाउँछ, आँशु आए बरु त्यहीं कविताले आउँछ, यस्तो नायक गजबका ल्यायौं जानीजानी,  अहो! हामी नेपाली त सारै भाग्यमानी !, अहो ! सारै भाग्यमानी म त भाग्यमानी।’ 

प्रकाशित: ३० वैशाख २०७७ ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App