४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रहरीमाथि हातपात गर्ने चिनियाँलाई नाममात्रको कारबाही

काठमाडौं, - शुक्रबार सरकारको केन्द्रीय सचिवालयको ढोकैमा सुरक्षाकर्मीमाथि जाइलागेका चार दर्जन चिनियाँ नागरिकमाथि सरकारले झिनो कारबाही थालेको छ । प्रहरीलाई नै हातपात गरेका ४७ जनामध्ये चार जनालाई मात्रै काठमाडौं परिसरले अभद्र व्यवहारमा कारबाही थालेको हो । 

तर अति गम्भीर कार्यमा संलग्न ती व्यक्तिहरूलाई सरकारले गरेको कारबाही ज्यादै नरम भएको सुरक्षा निकायका जानकारहरू बताउँछन् । आफ्नो देशका सुरक्षाकर्मीमाथि हमला गर्नेजस्तो विषयलाई सरकारले हल्का लिएको उनीहरूको टिप्पणी छ । 

कुटनीतिज्ञ र सुरक्षाविद्हरूले चिनियाँप्रति कडा कारबाही हुनुपर्ने भन्दै सरकारले गरेको झिनो कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पूर्व डिआइजी हेमन्त मल्लले प्रहरीमाथि नै हातपात गरेको विषय गम्भीर भएकाले उनीहरूलाई यसै छाड्न नहुने बताए । ‘कहिलेकाहीं सरकारले आफ्नै नागरिकले सामान्य गल्ती गर्दा पनि अनावश्यक कारबाही गर्छ, तर विदेशीले गरेको त्यत्रो ज्यादतीलाई छुट दिन चानचुने कुरा होइन । यसले राज्य र सुरक्षा निकाय कमजोर रहेछ भन्ने सन्देश बाहिर फैलन्छ,’ उनले भने । उनले सुरक्षा निकायसँग टसल गर्दै जुधेका ती चिनियाँ नागरिकहरूलाई छानबिन गरी कडा कारबाही हुनुपर्ने माग राखे । 

सरकारको केन्द्रीय सचिवालयको ढोकैमा सुरक्षाकर्मीमाथि विदेशी जाइलाग्नु गम्भीर मामिला हो, यति गम्भीर विषयमा सरकारले चासै दिएन ।

कुटनीतिज्ञ दिनेश भट्टराईले चाइनिजहरूले सुरक्षा निकायको अति संवेदनशील ठाउँमा गरेको हर्कत असह्य भएको बताए । उनले यति गम्भीर विषयलाई सरकारले सामान्य बनाएर उम्काउन नहुने जानकारी दिए । ‘यो विषय सामान्य होइन, बाहिर मुलुकको नागरिकले सुरक्षाकर्मीमाथि हातपात गर्नु जघन्य अपराध हो, यसलाई कुनै सामान्य अपराधसँग दाँजेर हुँदैन,’ उनले भने । 

कुटनीतिज्ञ भट्टराईले लकडाउनको बेला ठूलो संख्या एकाएक सिंहदरबारनजिक ती चिनियाँ नागरिक कसरी आइपुगे भन्ने विषयमा सरकारी निकायले चासो नदिएको बताए । ‘छिमेकी हो भनेर दया–माया गरेर बस्न हुने जमाना छैन, उनीहरूलाई यसै छाड्न आवश्यक देखिँदैन,’ उनले भने, ‘यसो गर्नुको रणनीति बेग्लै पनि हुनसक्छ, चौतर्फी अध्ययन गरियोस् ।’ 

प्रहरीले आफूमाथि नै खनिएकालाई किन यति थोरै सजाय दियो भन्ने बारेमा अहिले प्रश्न उठिरहेको छ । दृश्यबाट प्रहरीमाथि हातपात भएको स्पष्ट देखिए पनि प्रहरीले त्यसलाई सामान्य रूपमा लिएको छ । सिंहदरबारअगाडि विदेशीले प्रदर्शन गर्ने आँट राख्दै प्रहरीमाथि झम्टिए पनि उनीहरूमाथि कडा कारबाही हुने देखिँदैन । 

नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीले प्रहरीमाथि कुटपिट गर्ने चार जनामाथि कारबाही गरिने बताए । उनले आइतबार म्याद थप गरी काठमाडौं परिसरले मुलुकी अपराध संहिता २०७४ को अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने तयारी गरेको बताए । ‘प्रहरीमाथि नै हात हाल्नु गम्भीर विषय हो, यसबारेमा छानबिन र अनुसन्धान भइरहेको छ,’ उनले भने । 
उनका अनुसार शुक्रबार प्रदर्शनमा उत्रिएका ४७ जनाले एक महिना अघिदेखि नै घर फिर्ता हुन पाउनुपर्ने माग राखेका थिए । खान–बस्न असहज भएको भन्दै उनीहरूले नेपालस्थित चिनियाँ दूतावासमा समेत धर्ना दिएका थिए, तर माग सुनुवाइ नभएपछि उनीहरू सिंहदरबार छेवैमा प्रदर्शनमा उत्रिएको हुनसक्ने महानिरीक्षक ज्ञवालीको भनाइ छ । 

चिनियाँले सिंहदरबार अगाडि देखाएको हर्कत चार दिनयता सामाजिक सञ्जालमा छताछुल्ल छ । विभिन्न व्यक्तिहरूले त्यसमा आरोप प्रत्यारोप व्यक्त गरिरहेका छन् । 

पूर्व सचिव भीम उपाध्यायले ठुलो गल्तीबिनै आफ्ना नागरिकलाई प्रहरी कारबाहीमा फसाउने सरकारले विदेशीले सुरक्षा निकायको संवेदनशील ठाउँमा ठूलो अपराध गर्दा पनि छुट दिन खोजेको बताए । उनले विदेशीले यसो गर्दा सरकारले झन् कडा कारबाही गर्नुको साटो वास्तै नगर्नु दुःखद् रहेको बताए ।

‘हाम्रो देश र यहाँको सुरक्षा निकाय कस्तो छ भन्ने कुरा यस्ता गतिविधिले पनि प्रकट गर्दछन्,’ उनले भने, ‘सीमा विवाद र प्रहरीमाथि नै हातपात भएको यति गम्भीर विषयलाई खेलाँची ठान्नु सरकारको गैरजिम्मेवारीपना हो ।’ 

प्रकाशित: २९ वैशाख २०७७ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App