८ वैशाख २०८१ शनिबार
राजनीति

संसद् अधिवेशन आजदेखि, भौतिक दुरी कायम राखी संसद् बैठक

काठमाडौं, - सरकारले आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम जेठ २ गते संघीय संसद्को दुवै सदनमा प्रस्तुत गर्ने भएको छ । शुक्रबारदेखि संसद्को बर्खे अधिवेशन हुने भएपछि संसद् सचिवालयले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका पनि सार्वजनिक गरेको हो । 

संघीय संसद्को दुवै सदनलाई राष्ट्रपति विद्यादेवी भण्डारी जेठ २ गते चार बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ । बर्खे अधिवेशन शुक्रबार दिउँसो चार बजेदेखि सुरु हुनेगरी आह्वान भएको हो । अधिवेशनको पहिलो दिन राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार चार राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेर कार्यसूचीको टुंगो लगाएका थिए भने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर छलफल गरेका थिए । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबार, सोमबार र मंगलबार बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि छलफल हुनेछ । प्रि–बजेटमाथि तीन दिन छलफल भएपछि जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । जेठ १५ गते सरकारले वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण बजेट ल्याउने दिनको १५ दिनअगावै प्रि–बजेटमाथिको छलफल गर्न लागिएको हो । 

शुक्रबार दिउँसोदेखि संसद् बैठक बस्ने भएपछि बिहीबारदेखि संसद् सचिवालयले चिकित्सकहरू बोलाएर सांसद, कर्मचारी र मर्यादापालकहरूको पिसिआर परीक्षण गराएको छ । संघीय संसद्का दुवै सदनका सांसद र अन्य गरी चार सय ४१ जनाको पिसिआर परीक्षण गरिएको हो । प्रतिनिधिसभाका एक सय ७९ जना सदस्य र राष्ट्रिय सभाका ३३ सदस्य गरी दुई सय १२ सांसद र दुवै सदनका दुई सय २९ जना कर्मचारी तथा मर्यादापालक गरी जम्मा चार सय ४१ जनाको स्वाब संकलन गरिएको संसद् सचिवालयले जनाएको छ । 

परीक्षण गर्न बाँकी सांसद, कर्मचारी र मर्यादापालकको स्वाब शुक्रबार बिहान आठ बजेदेखि १० बजेसम्म संसद् भवनमै संकलन गरिने सचिवालयले जनाएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि राष्ट्रियसभाका सांसद र ११ बजेदेखि प्रतिनिधिसभाका सांसदको परीक्षण गरिएको थियो । परीक्षणमा प्रतिनिधिसभातर्फका एक सय ७९ जना र राष्ट्रियसभातर्फका ३३ जना सांसद सहभागी भए । प्रतिनिधिसभामा दुई सय ७५ जना सांसद छन् । राष्ट्रियसभामा हाल ५८ जना सांसद छन् । संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । परीक्षणको रिपोर्ट शुक्रबार दिउँसोसम्म आउने जनाइएको छ । रिपोर्ट आएपछि मात्रै सांसदहरू बैठक कक्षमा प्रवेश गर्न पाउनेछन् । 

संसद् बैठकमा बस्ने सांसदको सिट विभाजन पनि बिहीबार नै गरिसकिएको छ । एउटा रोमा एक सांसद बस्ने व्यवस्थाअनुसार दर्शक दीर्घामा प्रतिनिधिसभाका ३५ जना सांसद बस्नेछन् भने संयुक्त बैठक हुँदा ६९ जना सांसद बस्नेछन् । राष्ट्रियसभाले पनि यसैगरी तयारी गरेको छ । समितिले विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दुरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाएको छ । 

संसद् भवनमा प्रवेश गर्दा र फर्किंदा फरक ढोकाको प्रयोग गरिने व्यवस्था गरिएको छ । क्यान्टिन र सभाहलबाहिर पनि अनावश्यक भिड नगर्न तथा दुरी कायम गर्न भनिएको छ । संसद् भवनलाई बैठकअगाडि स्यानिटाइज तथा अन्य सरसफाइ गरिनेछ । दर्शकदीर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने तथा मिडियालाई आम रूपमा सचिवालयले फोटो उपलब्ध गराउने भएको छ । प्रिन्ट मिडिया र अनलाइन मिडियालाई सुरक्षाका दृष्टिले प्रवेश निषेध गरिएको छ ।

संयुक्त बैठक बस्दाको समयमा आउनैपर्ने मिडियालाई संसद्को पुरानो चमेनागृहमा बसेर रिपोर्टिङ गर्ने व्यवस्था मिलाइनेछ । संसद् सचिवालयले संसद्को गतिविधि लाइभ प्रसारण गर्ने हुँदा सबै मिडियालाई सोको प्रयोग गर्न भनेको छ । 

संसद् बैठकमा सबै सहभागीले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्ने, बैठक अवधिभर सबैले अनिवार्य रूपमा मेडिकल मास्कको प्रयोग गर्नुपर्ने, सबै सहभागीले बैठक समयमा भौतिक दुरीको पालना गरी तोकिएको कुर्सीमा मात्र बस्नुपर्ने, सकेसम्म समूहगत छलफल नगर्ने, यदि गर्नैपरेको अवस्थामा भौतिक दुरीको अनिवार्य पालना गर्नुपर्ने, आफूलाई स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या (ज्वरो, खोकी, थकान, शरीर दुखाइ आदि) देखापरेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्ने, बैठक हलबाट बाहिर निस्कनुपरेमा पुनः प्रवेश गर्दा साबुनपानी वा ह्यान्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने, बैठक अवधिभर घरमा गई स्वयं एकान्तवासमा रही नियम पालना गर्नुपर्ने निमय राखिएको छ ।

प्रकाशित: २६ वैशाख २०७७ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App