१० माघ २०७७ शनिबार
राजनीति

कोरोना रोकथाममा उदासिन, विकासे योजना अनुगमन नगरको प्राथमिकतामा

लकडाउनको समयमा त्रिपुरासुन्दरी नगरपालिका मन्दिर अनुगमन गर्दै उपमेयर चन्द्रकुमारी बुढा कार्यकारी प्रमुख प्रितिभक्त गिरी सहितको टोली।

डोल्पा - पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या दिनानु दिन बढिरहेको छ। औषधि उपचारदेखि जीवनयापनको लागि चाहिने अत्यावश्कीय बस्तुहरुको आपूर्ति थलोको रुपमा मात्र नभई रहनसहन र बसाइसराईको हिसावले पनि बाँकेको नेपालगन्जसंग डोल्पा र डोल्पालीको सम्बन्धको इतिहास लामो छ।

विश्वभर कोरोना त्रासदीले मानव जगत बेचैन बनिरहेको बेला हिमाली जिल्ला डोल्पाका बासिन्दाहरु चैनका साथ रहेका थिए।तर केहि समयअघि मात्र नेपालगन्जमा २३ जना कोरोना संक्रमित फेला परेपछि डोल्पा पनि कोरोना त्रासदीको उच्च जोखिममा परेको भन्दै सर्र्वसाधारण चिन्तित बनेका छन।

जोखिम क गर्न पूर्वसर्तकता अनुरुप सरकारले देश लकडाउन गरेको पनि ४५ औ दिन पुगिसकेको छ।कर्णाली प्रदेश सरकारले पनि छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमित फेला परेको भन्दै यसको फैलावट हुन नदिन पूर्वसर्तकताका लागि एक सातासम्म सबै नाका सिल गनुका साथै पैदल यात्रालाई समेत बन्द गरि सकेको अवस्था छ।

तर हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले भने कोरोना जोखिम रोकथामको सट्टा नगरभित्रका विकासे योजना अनुगमन निरीक्षण र सडक उद्घाटनलाई प्राथमिता दिदै आएको छ। लकडाउनलाई समेत वेवास्ता गर्दै नगरका मेयर ओमबहादुर बुढा उपमेयर चन्द्रकुमारी बुढा र कार्यकारी प्रमुख प्रितिभक्त गिरी हुलका हुल मानिसहरु लिएर सडक मन्दिर र सिचाई लगायतका योजनाको अनुगमन निरीक्षण र उद्घाटनमा ब्यस्त देखिन थालेका छन्।

लकडाउनको समयमा ठेलमठेल गरेर मानिसहरु कोचेर योजना अनुगमन गर्न जानु र समाजिक दुरी समेत कायम नगरेर गाउँ गाउँमा मानिसहरुको जमघट गर्न थालेपछि सामाजिक सन्जालमा त्रिपुरासुन्दरी नगरपालिकाको चौतर्फी विरोध र आलोचना हुन थालेको छ।

नेपाल तरुणदल डोल्पाका अध्यक्ष तुलबहादुर बोहराले देश नै कोरोना संकटमा फसिरहेको बेला यसको जोखिम हुननदिन पुर्वसर्तकतामा प्रभावकारी भूमिका र ब्यवस्थापनमा लाग्नुको सट्टा सरकारको लकडाउनलाई समेत उल्लंघन गरेर योजना अनुगमन गर्न जानु दुखद र गैह्रजिम्मेवार कार्य भएको बताए।

त्रिपुरासुन्दरी नगरपालिकाका नायव सुब्बा हिराचन्द्र धरलाले आफूहरु काठमाण्ठौबाट आएर क्वारेन्टाइनमा बसेको १४ दिन पुगिसकेको आरडिटी परीक्षणको लागि पटक पटक माग गर्दा पनि सुनुवाई नभएको बताए।उनले भने क्वारेन्टाइनमा औषधिको नाममा डुब्लीकेट सेनिटाइजर साबुन र पारासिटामोल बाहेक अन्य केहि ब्यवस्था छैन।गाउँ गाउँमा गएर योजना अनुगमन र निरीक्षणका साथै उद्घाटन गर्ने समय नभएर कोरोना रोकथामको पुर्वसर्तकता कसरी अपनाउन सकिन्छ भन्ने अवस्था हो धरलाले भने।

त्रिपुरासुन्दरी नगरपालिकाका मेयर उपमेयर र कार्यकारी सहितको जम्बो टोली बैशाख २४ गते वडा नं ७ पहाडा र छलमा निर्माण भइरहेका योजना अनुगमन र सडकको उद्घाटन गर्न पुगेको थियो।तर छल गाउँका स्थानीयले भने दलबलका साथ गाउँमा पुगेको उदघाटन टोलीलाई सडक निर्माणको केहि काम बाँकी नै रहेकाले अहिले नै औपचारिक उद्घाटन नगर्न दवाव दिएपछि उद्घाटन कार्यक्रम रद्द गरेर अनुगमनको नाम दिइएको थियो।

यसै गरि विहीवार पनि नगरको उक्त टोलीले तामझामका साथ लकडाउनको समयमा दुई ओटा गाडीमा हुलका हुल मानिस लगेर सामाजिक दुरी समेतको ख्याल नगरेर त्रिपुरासुन्दरी नगरको वडा नं २ रसिमा निर्माण गरिएको सडक उद्घाटन गर्न पुगेपछि चौतर्फी विरोध र आलोचना भएको छ।

जिल्लाका अन्य नगर र गाउँपालिकाले असहाय अशक्त र ज्यालमजदुरी गरि खाने नागरिकलाई खाद्यन्न लगायतका दैनिक उपभोग्यबस्तुहरुको राहत वितरण गरिरहेको भएपनि त्रिपुरासुन्दरीले अहिलेसम्म राहत वितरण नगरेको नागरिक र उदासिन हुँदै गएको आरोप स्थानीय दिलबहादुर विष्टले लगाए।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले त्रिपुरासुन्दरी नगरपालिकाका  कार्यकारी र जनप्रतिनिधिहरुले  लकडाउनको उल्लंघन गरेर सामाजिक दुरी समेत कायम नगरि विना मास्क गाउँ गाउँमा गाडी लिने विकास योजना उद्घाटन गर्ने तर सर्वसाधारणलाई नुनतेल किन्नसम्म बजार आउन नदिने गरेको गुनासो आफु कहाँ आएको बताए।

लकडाउनको पालना गर्न र मानिसहरुको भेला हुने कुनैपनि कार्य नगर्न बारम्बार आग्रह गरिरहँदा पनि प्रशासनलाई छलेर अटेर गरिरहेकाले अव आइन्दा यस्ता हर्कत नगर्न सुझाव दिएको र नमाने डन्डा चलाउन पछि नपर्ने पनि प्रजिअ सुनारले बताए।

त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले आफूहरु स्थानीयको अनुरोधमा योजना अनुगमन गर्न सीमित मानिसहरु लगेर गएको बताए।उनले भने स्वास्थ्य परीक्षणको लागि आरडिटी परीक्षण किट झिकाइ सकिएको र सम्भवत विहिवार सम्ममा आइपुग्ने छ।

प्रकाशित: २५ वैशाख २०७७ १७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App