coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली आक्रोशित, स्थायी कमिटी बैठक अनिश्चित

फाइल तस्बिर

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबारको सचिवालय बैठकमा ‘एक व्यक्ति एक जिम्मेवारी’ कार्यान्वयन गर्नुपर्ने विषयमा विवाद भएको छ। स्थायी कमिटी बैठकका अजेन्डा तय गर्न सचिवालय बैठक बसेको हो। सचिवालय बैठकले अजेन्डा तय गर्न नसकेपछि स्थायी कमिटी बैठक पनि अनिश्चित बनेको छ। यसअघि शनिबार बसेको सचिवालय बैठकमा बिहीबार स्थायी कमिटी बैठक बोलाउने सहमति भएको थियो। 

‘एक व्यक्ति एक जिम्मेवारी’ कार्यान्वयन गर्ने विषय स्थायी कमिटीको अजेन्डा बनाउनुपर्ने विषय उठेपछि सचिवालय बैठक कार्यसूचीमा प्रवेश नगरीकन टुंगिएको हो। 

सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध अन्य नेताहरूले जथाभाबी बालेको र कोठे बैठक गरेकोे भन्दै असन्तुष्टि पोखेका थिए। ‘जब स्थायी कमिटी बैठकमा एक व्यक्ति एक जिम्मेवारी कार्यान्वयनको विषय अजेन्डा बन्नुपर्ने कुरा सचिवालय बैठकमा उठ्यो तब अध्यक्ष ओली आक्रोशित हुँदै उठेर हिँड्नु भयो’, स्रोतले भन्यो, ‘उहाँ सचिवालय बैठकको कार्यसूचीमै प्रवेश गर्न चाहनु भएन।’

बैठक सुरुमै ओलीले आफ्ना धारणा राखेका थिए। उनले सरकारको प्राथमिकतामा बजेट रहेको र संसद् अधिवेशन पनि बोलाइएकाले स्थायी कमिटी बैठक छोटो बनाउनुपर्ने बताएका थिए। उनले तत्काल स्थायी कमिटी बैठक अनिवार्य पनि नभएको बताएपछि विवाद सुरु भएको थियो। बैठकमा ओलीले आफूविरुद्ध कहिले खुमलटार, कहिले कोटेश्वर त कहिले हात्तीवनमा बैठक गरिएको र यस्तो कार्य पार्टी अनुशासनविपरीत भएको बताएपछि भनाभन जस्तै भएको स्रोतको दाबी छ।

‘उहाँले आफूविरुद्ध भेला भएर बैठक गर्ने भनेपछि हामीले पनि भेटघाट गर्ने विषय नौलो होइन। छलफल गर्ने विषयमा तपाईंले आपत्ति जनाउन पाउनु हुन्न। यहाँ पनि कतिपय सन्दर्भमा तपाईंले भेटिरहनु भएको छ  भन्यौं। उहाँ अलि आक्रोशित हुनुभयो, भनाभन जस्तो भएपछि बैठक कक्षबाट निस्कनु भयो’, स्रोतले भन्यो। 

स्थायी कमिटी बैठकको कार्यसूची र एक व्यक्ति एक जिम्मेवारीको विषयमा छलफल हुने क्रममा ओली बैठक कक्षबाट निस्किएका थिए। उनी बाहिरिए पनि बैठक चलेको थियो। बैठक कक्षबाट निस्किएको ४५ मिनेटपछि फेरि प्रवेश गरेका ओलीले कार्यसूचीमा छलफल गर्नुपर्ने भएकाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग समय मागेका थिए। 

‘स्थायी कमिटी बैठकका अजेन्डा तय गर्न बुधबार बोलाइएको सचिवालय बैठकमा विवाद भयो। अजेन्डा तय हुन नसकेपछि बिहीबार बस्ने भनिएको स्थायी किमिटी बैठक पनि अनिश्चित भएको छ’, स्रोतले भन्यो। 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठकमा त्यस्तो विवाद नभएको बताए। उनले भने, ‘बैठकमा सके सबैजना बस्ने हो। कहिलेकाहीं बस्न सकिएन भने जानकारी गराएर बैठकबाट निस्कने प्रचलन छँदैछ। आज (बुधबार) अध्यक्ष एवं प्रधानमन्त्री कमरेडले आफ्नो केही व्यस्तता र स्वास्थ्यका कारण बैठकमा पूरा समय बस्न नसक्ने जानकारी गराएर निस्कनुभएको हो। त्यसमा अरु केही कारण छैन।’ श्रेष्ठका उनका अनुसार बिहीबारको स्थायी कमिटी बैठक अनिश्चित जस्तै भएको छ। 

बैठकपछि दुवै अध्यक्षले स्थायी कमिटी केही पर सार्ने जानकारी सचिवालय सदस्यलाई 

गराएका छन्। पार्टी महासचिव विष्णु पौडेलले पनि बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठक अर्को सूचना नआएसम्म पर सरेको जानकारी स्थायी कमिटी सदस्यलाई गराएका थिए। 

स्थायी कमिटीको बैठकका लागि नेताहरुले आआफ्नो तयारी गरेका थिए। स्थायी कमिटी बैठक माग गर्ने नेताहरुले अध्यक्षद्वयको राजनीतिक प्रस्ताव र अजेन्डा हेरेर पूरक अजेन्डा लैजानेबारेमा पनि छलफल गरिरहेका थिए। पार्टीभित्रका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त भएका बेला ओलीको आग्रहपछि स्थायी कमिटी बैठक रोकिएको छ। ‘अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमण रोकथाम, वार्षिक नीति तथा कार्यक्रम र बजेटमा सरकार केन्द्रित हुनुपर्ने भएकाले  छोटो समयका लागि स्थायी कमिटी बैठक राख्ने मनसाय राख्नुभएको थियो। सचिवालयमा स्थायी कमिटीका अजेन्डामा छलफल भएको थियो तर ओली ती अजेण्डा नसुनी बाहिरिनुभयो’, बैठक स्रोतले भन्यो।  

स्थायी कमिटी अजेन्डा तया गर्ने जिम्मेवारी  दाहाले पाएका थिए। एक व्यक्ति एक जिम्मेवारीको विषय अजेन्डा बनाउन दबाब परिरहेका बेला ओलीले बैठक सारांै भनेपछि दाहाललाई केही सजिलो भएको छ। स्थायी कमिटीमा पेस गर्ने प्रतिवेदन तयारी गरिरहेका दाहालले बुधबार ओलीसँग परामर्श गरेका छन्। 

कोटेश्वरमा दाहाल

सचिवालय बैठकअघि ओलीले दाहालसँग बैठकका अजेन्डाबारे छलफल गरेका थिए। बालुवाटारमा अध्यक्षद्वयबीच करिब डेढ घण्टा छलफल भएको थियो। सचिवालय बैठक र स्थायी कमिटीमा लैजाने प्रस्तावबारे छलफल भए पनि टुंगो नलागेपछि दाहाल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए।

खुमलटारमा वाममदेव 

पार्टी अध्यक्ष दाहाललाई भेट्न बुधबार बिहानै  उनको निवास खुमलटारमा वामदेव गौतम पुगेका थिए। भैंसेपाटीस्थित आफ्नै घरमा बनेको गठबन्धन तोडेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई साथ दिएका गौतमले दाहाललाई भेटेर आफूले काँध नफेरेको बताएका थिए। ‘प्राविधिक कारणले शनिबारको सचिवालय बैठकमा जे जस्तो भए पनि मैले भावनात्मक रुपमा तपाईंहरुको साथ छाडेको छैन, छाड्ने छैन’, गौतमलाई उद्धृत गर्दै खुमलटार निकट स्रोतले भन्यो। तर खुमलटारले गौतमको भनाइ खासै विश्वसनीय नभएको भन्दै भेटलाई सामान्य रुपमा लिएको छ। गौतमको बुधबारको भेट सम्बन्ध सुधार्ने कोसिस मात्रै भएको दाबी गरिएको छ। गौतमले बुधबार बिहान नेता नेपाललाई पनि आफू दायाँबायाँ नलाग्ने सन्देश पठाएका थिए। तर नेपालले सन्देशबाहकलाई कुनै जवाफ नदिएको स्रोतले जनाएको छ। 

प्रकाशित: २५ वैशाख २०७७ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App