७ वैशाख २०८१ शुक्रबार
राजनीति

दबाबमा दाहाल, सहमतीको प्रस्ताव ल्याउने जिम्मा

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि ‘एक व्यक्ति एक जिम्मेवारी’ को व्यवस्था गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहालमाथि दबाब सिर्जना भएको छ। 

प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकका पेस गर्ने अजेन्डा र सहमतीय प्रस्ताव तयार पार्ने  जिम्मेवारी दाहाललाई दिएका छन्। यसबाट पार्टीमा विभिन्न नेताले लिएको दोहोरो जिम्मेवारी हटाउन दाहालमाथि दबाब परेको छ।

नेपाल समूहले पार्टीलाई विधि र पद्धतिका आधारमा सञ्चालन गर्नुपर्ने, ‘एक व्यक्ति एक जिम्मेवारी’ को व्यवस्था गर्नुपर्नेलगायत माग गर्दै आएको छ।

सचिवालय बैठकको सहमति र भावनाअनुसार स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्ताव तयार पार्ने जिम्मेवारी ओलीले दाहाल र महासचिव विष्णु पौडेललाई दिएका हुन्। यो जिम्मेवारीसँगै नेपाल समूहको माग सम्बोधन गर्ने दायित्व अहिले दाहालको काँधमा आएको छ। ‘एक व्यक्ति एक जिम्मेवारी’ को व्यवस्था गर्दा अहिले दोहोरो जिम्मेवारी लिएका सबै नेताले एउटा छाड्नुपर्ने हुन्छ। दुई अध्यक्षबीच शक्ति बाँडफाँटको विषय मात्र नभएर समग्र पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नुपर्ने भएकाले ओलीले सहमतीय खाका तयार पार्ने जिम्मेवारी दाहाल र पौडेललाई दिएका हुन्। 

पार्टीमा नेपाल पक्षले उठाउँदै आएको ‘एक व्यक्ति एक जिम्मेवारी’ को व्यवस्था भए पूर्वमाओवादी खेमाका नेताले एउटा जिम्मेवारी छाड्नुपर्नेछ।

सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश जारी गरेपछि सत्तासीन दल नेकपामा बढेको विवादलाई सचिवालय बैठकले साम्य पारेको भनिए पनि स्थायी कमिटी बैठकमा बल्झिने देखिएको छ। समस्या बल्झिन नदिन दाहालले दोहोरो जिम्मेवारीमा रहेका नेताहरुको एउटा जिम्मेवारी खारेज गर्ने प्रस्ताव लैजानुपर्ने हुन्छ। 

ओलीले सोमबार सहमतीय प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएपछि दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन्। भेटमा  नेपालले  पार्टीलाई विधि र पद्धतिमा चलाउने प्रस्ताव आए मान्य हुने बताएका थिए। ‘मैले पटकपटक पार्टीका बैठकमा नोटअफ डिसेन्ट लेखेको छु। कसैलाई दोहोरो जिम्मेवारी दिएर जिम्मेवारीको खात लगाउने र कसैलाई जिम्मेवारीविहीन बनाउने पद्धति ठिक छैन। यसमा गम्भीर भएर सोच्नु होस्। पार्टीलाई विधिसंगत तरिकाले चलाऔं’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

नेपालले दुई अध्यक्ष मिलेर विधिभन्दा व्यक्ति केन्द्रित  तरिकाले पार्टी चलाउन थालेको आशंका नेता तथा कार्यकर्तामा उत्पन्न भएकाले त्यसलाई निवारण गर्नुपर्ने बताएका थिए। 

वैशाख २५ गते बस्ने स्थायी कमिटी बैठकमा ‘एक व्यक्ति एक जिम्मेवारी’ को प्रस्ताव आयो र अनुमोदन भएमा उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वामदेव गौतम, उपप्रधानमन्त्री एवं पार्टी स्कुल विभाग प्रमुख ईश्वर पोखरेल, गृहमन्त्री तथा राजकीय मामला तथा सुशासन विभाग प्रमुख रामबहादुर थापाले एउटा जिम्मेवारी छाड्नुपर्ने हुन्छ।

त्यसैगरी पार्टीको शिक्षा तथा मानवस्रोत विभाग प्रमुख तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेल, वन तथा वातावरण विभाग प्रमुख एवं वनमन्त्री शक्ति बस्नेत, ऊर्जा तथा जलस्रोत सिँचाइ विभाग प्रमुख एवं ऊर्जामन्त्री वर्षमान पुन, खानेपानी तथा सरसफाइ विभाग प्रमुख एवं खानेपानीमन्त्री बीना मगर, सहरी विकास प्रमुख तथा उद्योगमन्त्री लेखराज भट्ट, प्रदेश ५ का इन्चार्ज एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेश इन्चार्ज एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायत नेताको दोहोरो जिम्मेवारी अन्त्य हुनेछ।

पार्टीमा ‘एक व्यक्ति एक जिम्मेवारी’ कार्यान्वयन भए यसबाट सबैभन्दा बढी पूर्वमाओवादीका नेता प्रभावित हुने भएकाले पनि दाहाल बढी नै दबाबमा परेको एक नेताले बताए। ती नेताका अनुसार ५३ केन्द्रीय सदस्यले दोहोरो जिम्मेवारीमा छन्। त्यसमा धेरैजसो पूर्वमाओवादी समूहका नेता दोहोरो जिम्मेवारीमा भएकाले दाहालले एक जिम्मेवारी हटाउने प्रस्ताव ल्याउनेमा नेपाल पक्ष विश्वस्त हुन सकेको छैन।

नेपाल समूहले ओली–दाहालले स्थायी कमिटी बैठकमा ल्याउने प्रस्ताव हेरेर रणनीति बनाउने भएको छ। नेपाल समूह अहिले ‘पर्ख र हेर’ को नीतिमा छ। ‘माधव नेपालले एक व्यक्ति एक जिम्मेवारीको कुरा धेरै पहिलेदेखि उठाउनु भएको हो। पार्टी विधानसम्मत चलोस् भन्ने हाम्रो चाहना छ। यसै अनुसार प्रस्ताव ल्याएर लागु भए पार्टीकै हितमा हुनेछ’, नेपाल निकट स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने।

ओलीले तत्कालै नेपालसँग कुराकानी गर्न चाहेका छैनन्। ‘ओलीले मिलाउने जिम्मा  दाहाललाई दिनुभएकाले नेपाल समूहसँग उहाँको खासै भेटघाटको अर्थ छैन’, ओलीनिकट स्रोतले भन्यो।  

नेता नेपाल समूहले सचिवालय बैठकमा दाहालले धोका दिएको निष्कर्ष निकालेको छ। शनिबार बसेको सचिवालय बैठकले नेतृत्व तहमा देखिएको असमझदारी र शक्ति संघर्षलाई सहमतिका आधारमा टुंग्याउने निर्णय गरेको थियो। सो बैठकमा अध्यक्ष ओली–दाहालले सरकार र पार्टीको कामकारबाहीमा भएका कमीकमजोरीबारे आत्मालोचना गरेका थिए। ओलीले एक कदम अघि बढेर पार्टीलाई सहमतिका आधारमा अघि बढाउने  आश्वासन दिएका थिए। 

नेताहरू छलफलमा व्यस्त
 सत्तारुढ दल नेकपाका नेता सोमबार नेता नेपाल निवास कोटेश्वर र प्रवक्ता नारायणकाजी श्रेष्ठको निवासमा आन्तरिक छलफलमा जुटे। श्रेष्ठ निवासमा कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनालबीच कुराकानी भयो। ‘केही समय नेताहरु श्रेष्ठ निवास पुग्नुभएको थियो’, खुमलटार निकट स्रोतले भन्यो। यसैगरी नेपाल निवास कोटेश्वरमा पूर्वमाओवादी निकट र नेपाल निकट नेताहरुको बैठक राति अबेरसम्म बस्योे। आन्तरिक रणनीति तय गर्न नेताहरू नेपाल निवास कोटेश्वरमा जम्मा भएको स्रोतले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७७ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App