८ वैशाख २०८१ शनिबार
राजनीति

पाल्पामा वामदेवको चर्चा मनगढन्ते: सांसद राना

पाल्पा, - सांसद दलबहादुर रानाले पाल्पा–१ बाट आफूलाई राजीनामा गराएर नेकपा उपाध्यक्ष वामदेव गौतमलाई चुनाव लडाउने विषय मनगढन्ते भएको प्रतिक्रिया दिएका छन् । शनिबार बसेको नेकपा सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय भएलगत्तै सांसद रानालाई राजीनामा गराएर गौतमलाई चुनाव लडाउने विषयले चर्चा पाएपछि पाल्पाको राजनीतिक वृत्तमा त्यसबारे विभिन्न कोणबाट छलफलहरू भइरहेका छन् ।

सांसद रानाले भने आफूले राजीनामा गरेर उपाध्यक्ष गौतमलाई छाड्नेबारे कुनै छलफल नभएको उल्लेख गरे । ‘हिजो (शनिबार) सचिवालयमा त्यो प्रसंग उठेकै छैन । वामदेवको प्रसंग उठेपछि पाल्पा देखे मानिसहरूले । किन देखे थाहा छैन,’ उनले भने, ‘यसको पछाडि कुनै गम्भीर कारण हुन सक्छ, कसलाई उचाल्ने, पछार्ने, थेचार्ने, बदनाम गर्ने भनेर । पाल्पामा सजिलो देखे होलान् । रानाले चिनेजानेकाले मान्छे होे भन्ने लागेर होला, पत्रपत्रिकाले लेखे । यो सबै मनगढन्ते, भ्रामक र काल्पनिक कुरा हो ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा पनि त्यसबारे प्रतिक्रिया दिएका छन् । ‘केही समयदेखि हाम्रो पार्टीभित्र देखापरेको आन्तरिक विवादलाई आजको सचिवालय बैठकमा सम्बन्धित नेताहरूले आत्मलोचना गर्ने, २५ गते स्थायी समितिको बैठक बस्ने, तीनजना अध्यक्ष राख्ने विषय अघि नबढाउने र कमरेड वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाएर प्रतिनिधिसभामा लैजान पहल गर्नेजस्ता महत्वपूर्ण निर्णयहरू गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रवक्ता कमरेडबाट जानकारी पाउँदा खुसी भएका छौं,’ उनले लेखेका छन्, ‘तर बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको विषय वामदेव गौतमलाई पाल्पा क्षेत्र नं. १ बाट चुनाव लडाउने सहमति भएको भन्ने समाचार झूटो, भ्रमपूर्ण र पार्टीको एकताविरोधी षड्यन्त्रबाट प्रेरित भएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।’

यसको पछाडि कुनै गम्भीर कारण हुन सक्छ, कसलाई उचाल्ने, पछार्ने, थेचार्ने, बदनाम गर्ने भनेर । पाल्पामा सजिलो देखे होलान् । रानाले चिनेजानेकाले मान्छे होे भन्ने लागेर होला, पत्रपत्रिकाले लेखे । यो सबै मनगढन्ते, भ्रामक र काल्पनिक कुरा हो ।

प्रतिनिधिसभाको गत निर्वाचनमा बर्दिया–१ बाट कांग्रेस नेता सञ्जय गौतमसँग सात सय ७५ मतले पराजित भएपछि गौतम संसद्बाहिर छन् । दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्युठान दुवै ठाउँबाट निर्वाचित उनले बर्दिया छाडेको भन्दै त्यहाँका मतदाता रुष्ट भएका थिए । बर्दिया घर भन्ने गरे पनि आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणजस्ता कार्यमा खासै मतलब नगरेको, भावी प्रधानमन्त्री मै हुँ भन्दै अर्को चुनावमा छोरा हरिष आउने अभिव्यक्ति दिएपछि बर्दियाका स्थानीय नेताहरू चिढिएर निर्वाचनमा उनलाई हराएको विषयले त्यतिबेला खुब चर्चा पाएको थियो । वाम गठबन्धनका सबैजसो शीर्ष नेताले चुनाव जित्दा वामदेव भने पराजित भएका थिए । निर्वाचन हारेको ६ महिनासम्म गौतम चुपचाप बसे पनि त्यसपछि प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रवेश गर्ने विषयलाई लिएर पटकपटक चर्चामा आइरहेका छन् ।

पाल्पाबाट सांसद बनेका नेता राना उपाध्यक्ष गौतम निकट मानिन्छन् । उनी तत्कालीन नेकपा एमाले विभाजन हुँदा गौतम र सीपी मैनालीकै पक्षमा लागेर नेकपा (माले) तिर गएका थिए । पछि गौतम एमालेमै फर्किएसँगै राना पनि पुनः एमालेमा आए । उनी नेता गौतमसँगै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहमा पुगेको बताइन्छ । २०७४ मंसिर २४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पा–१ मा वाम गठबन्धनका तर्फबाट राना नेपाली कांग्रेसका प्रतिस्पर्धी विजय घिमिरेलाई नौ हजार ६ सय ५६ मतले पछाडि पार्दै ३२ हजार पाँच सय ४९ मतसहित विजयी भएका थिए । तत्कालीन नेकपा एमालेका पोलिटब्युरो सदस्य राना २०५१ र २०६४ सालमा सांसद भइसकेका छन् । राना २०७० मा भूमिसुधार तथा व्यवस्थामन्त्री बनेका थिए ।

प्रकाशित: २२ वैशाख २०७७ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App