११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध तीन दलको मोर्चाबन्दी, ‘प्रधानमन्त्री सर्वसत्तावादतर्फ अग्रसर’

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित तीन राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिँदै सर्वसत्तावादतर्फ अग्रसर भएको ठहर गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो बसेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी रराष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठकले स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध एकताबद्ध भएर संघर्ष गर्ने निर्णय पनि गरेको छ।

कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा सरकार र स्वयं प्रधानमन्त्रीले नै अन्य राजनीतिक दल विभाजन गर्न अध्यादेश ल्याउनेमात्र नभई सांसद अपहरणमा अप्रत्यक्ष संलग्नता देखिएको विश्लेषण गर्दै तीन दलले सरकार सञ्चालनको नैतिक धरातल प्रधानमन्त्रीले गुमाएको निष्कर्ष निकालेका छन्। प्रधानमन्त्रीको हैसियतमा केपी ओलीलाई पदमा एक मिनेट पनि बस्ने नैतिक अधिकार नभएको धारणा बैठकमा सहभागी नेताहरुले राखेका थिए। बुधबारदेखि कांग्रेसकोकेन्द्रीय समिति बैठक भएकाले त्यसपछि मात्र प्रधानमन्त्रीको राजीनामाको विषय उठाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए।

बैठकपछि कांग्रेस नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री ओली हरेक क्षेत्रमा असफल भएको जनाउँदै उनले पदमा बसिरहने नैतिक हैसियत गुमाएको बताए। कोरोनासँग लड्नुपर्ने बेलामा राजनीतिक दल विभाजन गर्न अध्यादेश ल्याउने, अर्को दल विभाजनको प्रयास गर्नुका साथै तत्कालीन समाजवादी (हाल जनता समाजवादी) पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणको विषयले प्रधानमन्त्रीमाथि नैतिक प्रश्न खडा गरेको श्रेष्ठले सुनाए।

कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा अन्य राजनीतिक दल विभाजन गर्न अध्यादेश ल्याउने र सांसद अपहरणमासंलग्न देखिएबाट प्रधानमन्त्रीले सरकार सञ्चालनको नैतिक धरातल गुमाएको निष्कर्ष तीन दलको छ।

‘सांसद यादव प्रकरणमा दुई सांसद र एक अवकाशप्राप्त प्रहरी प्रमुख सिनमा देखिएपनि त्यसको व्याकअपमा प्रधानमन्त्री नै देखिनुभयो,’ श्रेष्ठले भने, ‘मेरो होइन, अर्काको पार्टी फुटाउन ध्यादेश ल्याएको हुँ भन्ने र जालझेल एवं षड्यन्त्रको राजनीति गर्ने व्यक्ति मुलुकको कार्यकारी प्रमुखकारुपमा रहिरहने नैतिक धरातल कसरी बाँकी हुन्छ ?’

बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे सबै कोणबाट छलफल भएको जानकारी दिंदै नेता श्रेष्ठले कांग्रेस केन्द्रीय समितिको बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय लिइने बताए। श्रेष्ठले भने, ‘पर्सि (बुधबार) बस्ने केन्द्रीय समितिबाट प्रधानमन्त्रीको राजीनामा माग्छौं।’
प्रधानमन्त्री ओली देश र जनतालाई कोरोना भाइरसबाट जोगाउन भन्दा लकडाउनलाई बहाना बनाएर राजनीतिक षड्यन्त्र गर्न सक्रिय रहेको तीन दलको ठहर छ। ‘कोरोनासँग लड्न लकडाउनबाहेक कुनै तयारी नगर्ने तर त्यसलाई ढाल बनाउने काम प्रधानमन्त्रीबाट भयो,’ श्रेष्ठले भने, ‘उहाँ राजनीतिक षड्यन्त्र गर्न र एकदलीय बाटोमा हिँड्न खोज्दैहुनुहुन्छ। त्यसलाई हामी एकताबद्ध भएर रोक्छौं।’

सरकार र शक्तिको आडमा सांसद अपहरणमा संलग्नलाई जोगाउन जाहेरीसमेत नलिएको प्रति तीन दलले असन्तुष्टि जनाएका छन्। सरकारले लोकतान्त्रिक मूल्यमान्यता तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सहयोग गरेको ठहर बैठकले गरेको छ। सरकारको समेत संलग्नतामा सांसद यादवको अपहरण भएबाट नेपाली जनता आक्रोशित भएको जनाउँदै तीन दलले कानुनी कारबाही प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेका छन्। ‘यस्ता आपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गर्दछ।’

बैठकमा सांसद यादव अपहरणका विषयमा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले जानकारी गराएका थिए। उनका अनुसार अवकाशप्राप्त प्रहरी प्रमुख सर्वेन्द्र खनालले सांसद यादवसँगको टेलिफोन संवादमा आफू छिटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्न लागेको सुनाएका थिए। सांसद यादवको सम्पत्तिका विषयमा विवाद रहेको भन्दै खनालले त्यस्तो लफडामा पर्नभन्दा पार्टी परिवर्तन गरेर मन्त्री बन्नुस् म लिन आउँछु भनेको भट्टराईले बैठकमा सुनाएको सहभागी एक नेताले जानकारी दिए। ‘आश र त्रास दुवै देखाएर सांसद यादवलाई जबर्जस्ती लिएर आएको नेताहरुको कुराले स्पष्ट भएको छ,’ स्रोतले भन्यो।

नेताहरुले बैठकमा अपहरणका विषयमा मंगलबार कानुनी उपचार खोज्ने बताउँदै आइतबार प्रहरीले जाहेरी लिन अस्वीकार गरेको जानकारी गराएका थिए।जनता समाजवादी पार्टीका नेता महेन्द्र यादवले सांसद अपहरणको विषयमा कानुनी कारबाही अघि बढाउने सहमति भएको जानकारी दिए। छिटै बस्ने तीन दलको अर्को बैठकले आगामी रणनीति बनाउने उनले बताए। 

बैठकले लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्न तथा अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यून गर्न आवश्यक राहत र कुनै ठोस कार्ययोजना दिन सरकार असफल भएको ठहर गरेको छ। तीन दलले राहत वितरण पारदर्शी नभएको र पक्षपात गरिएको आरोपसहित असन्तुष्टि जनाएका छन्। तीन दलका शीर्ष नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछौं।’स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताले सरकारले संकटमा पनि ¥याल चुहाएको देखिएको तीन दलको बुझाइ छ। 

तीन दलले कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेस्टिङमा असाधारण ढिलासुस्ती भएको आरोप लगाएका छन्। ढिलासुस्ती तत्काल अन्त्य गरी परीक्षणलाई तीव्रता दिन बैठकले माग गरेको छ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय  विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह,विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारीसहभागी थिए। जनता समाजवादी पार्टीका महन्थ ठाकुर, बाबुराम भट्टराई,उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरद्सिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाशचन्द्र लोहनी सहभागी थिए।

प्रकाशित: १६ वैशाख २०७७ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App