५ वैशाख २०८१ बुधबार
राजनीति

रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिइने

कोरोना भाईरस रोकथाम तथा प्रतिकार्यको समीक्षा गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री र सचिवहरु।

सुर्खेत - कर्णाली प्रदेशमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिइने भएको छ। बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विषयगत मन्त्री र सचिवहरुको संयुक्त वैठकले हालसम्म भएका कामको समीक्षा गर्दै आगामी दिनमा प्रतिकार्यको कामलाई थप तिव्र र प्रभावकारी बनाउने निर्णय गरेको हो। 
बैठकमा मुख्यमन्त्री शाहीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संकटको सामाधान सरकारको तात्कालिन प्राथमिकतामा रहेको बताउँदै रोकथाम तथा प्रतिकार्यको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन सरोकारवालाहरुलाई निर्देशन दिएका थिए।

विपद् व्यवस्थापन कार्यकारी समिति, अनुगमण समिति, आपुर्ति समिति तथा जिल्ला र स्थानीय तहका समितिहरुलाई थप सक्रिय बनाउन र कोरोना रोकथाम तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन पनि मुख्यमन्त्री शाहीले निर्देशन दिए। 

बैठकले स्वास्थ्यकर्मीहरुका लागि आवश्यक उपकरण, औजार, सुरक्षा सामाग्री र औषधिलगायतका सामाग्री तत्काल आपूर्तिका लागि संघीय सरकार, निजी आपुर्तिकर्ताहरु, वाह्य आपुर्तिकर्ताहरुलाई अनुरोध गर्नुको साथै सम्भावित सवै उपायहरु अवलम्वन गर्ने निर्णय गरेको छ।

बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट जुम्ला, कालिकोट, मुगु, र हुम्ला जिल्ला, चौरजहारी सामुदायिक अस्पत्तालबाट रुकुम पश्चिम, जाजरकोट, डोल्पा र पूर्वी सुर्खेत जिल्लाको कार्यक्षेत्र तोकी जनशक्ति परिचालन गरि गर्न निर्देशन गर्ने निर्णय गरेको छ। 

प्रतिकार्य योजनाको लागि आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी दिने, प्रदेश राजधानी र जिल्ला र स्थानीय तहमा रहेका क्वारेन्टाईनको समन्वय सहजीकरण गर्न भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीलाई जिम्मेवारी प्रदान गर्ने, प्रदेश अस्पताल र जिल्ला अस्पतालहरुमा संकास्पद विरामीहरुलाई आईसोलेशनमा राख्ने, उपचार गर्ने र जनशक्ति परिचालन गर्ने कार्यको समन्वयको लागि सामाजिक विकास मन्त्री दल रावललाई जिम्मेवारी दिने निर्णय गरेको छ। 
दश वटै जिल्लामा आपुर्ति व्यवस्थालाई प्रभावकारी वनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढाको नेतृत्वमा रहेको समितिलाई थप सक्रिय वनाउने पनि वैठकले निर्णय गरेको छ। 

प्रतिकार्य तथा पुर्वतयारीका कार्यहरुमा खट्ने समिति तथा युनिटहरुको नियमित बैठक, प्रतिवेदन कार्यका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा हेल्प डेस्क संचालनमा ल्याउने र प्रतिवेदन, समन्वय तथा संचारको कामलाई विद्युतीय तथा सामाजिक संजालको माध्यमबाट गर्ने निर्णय पनि वैठकले गरेको सुचना अधिकारी केशव उपाध्यायले जानकारी दिए।

प्रकाशित: १३ चैत्र २०७६ ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App