१६ चैत्र २०८० शुक्रबार
राजनीति

कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १० करोडको कोष स्थापना

विराटनगर – मुलुक लकडाउन गरेर सीमा नाका थुनिएपछि प्रदेश र स्थानीय सरकारलाई कोरोनाविरुद्धको तयारीमा जुट्न सहज भएको छ। लकडाउन नहुँदासम्म सम्पुर्ण ध्यान खुला सीमातिर केन्द्रीत गर्नुपर्ने बाध्यतामा रहेका सरकारी अङगहरुले अन्य तयारीमा सहयोग भएको बताएका छन।

सीमा बन्द भएपछि सम्पुर्ण ध्यान सम्भावित संक्रमणलाई झेल्ने गरी कसरी तयारी गर्ने भन्नेमा केन्द्रित छ, प्रदेश १ जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले भने अहिले अस्पताल निर्माण , तिनलाई आवश्यक पर्ने सामग्री लगायतको प्रवन्ध भैरहेको छ। उनका अनुसार प्रदेश १ का विभिन्न अस्पतालमा १ सय १५ वटा आइसोलेशन बेड तयार भैसकेको छ। प्रदेश १ सरकारले विराटनगरका नोबेल, कोशी, विराट, विपी प्रतिष्ठान धरान, झापाको मेची र वीएन्डसीलगायतका अस्पतालमा आइसोलेसन वार्ड तयार भएको जनाएको छ।

जनस्वास्थ्य महाशाखा प्रमुख मेहताले दिएको जानकारी अनुसार मोरङ , झापालगायतका स्थानमा ४५० जना अट्ने  क्षमताको क्वारेन्टाइन  तयार भएको छ। प्रदेशको १४ वटै जिल्लामा दुई दुई वटाको दरले एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। अब एम्बुलेन्स सेवा हरेक स्थानीय तहमा पुर्याउने तयारीमा प्रदेश सरकार लागेको मेहताले जानकारी दिए। स्वास्थ्यकर्मीको सुरक्षाको लागि आवश्यक पर्ने सामग्री र स्वास्थ्यकर्मीको अभाव हुन नदिने बताउदै उनले थपे अहिलेसम्म प्रदेशमा देखिएको छैन। यदि त्यस्तो देखिएमा उपचारका लागि केही पनि कमी हुने छैन।
सरकारी निकायले यस्तो दाबी गरे पनि अहिलेसम्म प्रदेशमा कोरोना परिक्षणको ब्यवस्थापन भने भएकै छैन। महाशाखा प्रमुख मेहताले धरानमा केहीदिन भित्रै परिक्षण सुरु हुने बताए।

 १० करोडको कोष स्थापना

प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ। मंगलबार  बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको छ। उक्त कोषमा मुख्यमन्त्री सहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ।
 
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय भएको छ। साथै सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन इन्फरमेशन डेक्समा कोरोना सम्बन्धि सूचनाहरु उपलब्ध गराउने छन्। विराटनगरमा प्रदेश सरकारले ५० बेडको कोरोना विशेष अस्पताल धमाधम बनाइरहेको छ।

प्रकाशित: ११ चैत्र २०७६ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App