७ वैशाख २०८१ शुक्रबार
राजनीति

सञ्चार माध्यमले राज्यलाई कमजोर बनाए: मुख्यमन्त्री पोखरेल

रुपन्देही - प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लोकतन्त्रका नाममा नेपाली मिडियाहरु गैर जिम्मेवार भएको आरोप लगाएका छन्। आफुलाई ठूला भन्ने मिडिया हाउसहरुले नै अल्प सूचनाका आधारमा निष्कर्ष निकाल्ने गरी समाचारहरु सम्प्रेशण गर्ने गरेको आरोप मुख्य मन्त्री पोखरेलले लगाएका हुन्।

बुटवलबाट प्रकाशित एक दैनिक पत्रिकाको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकारिता र बौद्धिक जगतले नै राज्यलाइ कमजोर बनाउन लागि परेको बताए। केही दिनअघिको अमेरिकी राष्ट्रपती डोनाल्ट ट्रपको भारत भ्रमणमा त्यहाँका मिडियाले खेलेको सराकात्मक भूमिकाको प्रसंग उल्लेख गर्दै उनले नेपालमा चिनियाँ राष्ट्रपतीको भ्रमणमा भने यहाँका मिडीयाहरुले नकारात्मक भूमिका मात्रै खेलेको आरोप पनि लगाए। सम्बोधनका क्रममा आधा भन्दा धेरै समय मिडिया हाउस, पत्रकार र बौद्धिक जगतलाइ गाली गर्न खर्चेका मुख्य मन्त्रीले  लोकतन्त्रको नाममा मिडिया जगतले गैरजिम्मेवार पन देखाइरहेको टिप्पणी गरे।

‘भारतमा अमेरीकी राष्ट्रपती आउदा गुजराँतलाई एक महिनासम्म सजाइयो। सडकमा नागरिकले अभिनन्दन गरेँ। तर भारतीय मिडियाले सकरात्मक मात्रै देख्यो नकरात्मक लेखेन। ‘तर चिनियाँ राष्ट्रपती नेपाल आउँदा नेपाली मिडियाले के लेखे, दाँजेर हेरे पुग्छ’ मुख्यमन्त्री पोखरेले भने। लोकतन्त्र भारतमा पनि भएको स्मरण गराउदै उनले भारतका मिडियाले जस्तै सरकारलाई नेपाली मिडियाले सहयोग नगरेको बताए।

नेपालका ठूला मिडिया हाउसहरुले राज्यलाई कमजोर बनाउन एजेण्डा सेटिङ गर्ने गरेको आरोप पनि उनले लगाए। भारतको दिल्लीमा दंगा फसाद हुँदा पनि त्यहाँको सुरक्षा हेरेर मुख्यमन्त्रीको अभिव्यक्तिलाई प्राथमिकता दिएको उल्लेख गर्दै नेपालको टिकापुरमा शान्ति सुरक्षाका लागि गएको प्रहरी अधिकृत मारिदा नेपाली मिडियाले नकारात्मक कुराहरु मात्रै उछालेको उदाहरण दिए।

गल्ती र कमजोरी राजनीतिक पार्टी तथा सत्तामा बस्नेले मात्रै गर्छन् भन्ने मान्यता मिडियाहरुले जबरजस्ती स्थापित गर्न खोजेको आरोप पनि लगाए।  ठूला भनिने मिडियाहरुले दुई महिनाअघि लेखेको समाचारको दुई महिनापछि आफैले खण्डन गर्नु पर्ने तर त्यसलाइ गल्तीको रुपमा स्विकार नगर्ने प्रबृत्ति रहेको बताए।

नेपालको बौद्धिक क्षेत्रले पनि राज्यलाई बलियो बनाउने दिसातर्फ चिन्तन गर्न नसकेको बताए। ‘आफूलाई ठूला भन्ने मिडियाहरुलाइ म आग्रह गर्छु सरकारले गरेका राम्रा कामलाइ राम्रो भन्न प्रशंसा गर्न संकोच लाग्छ भने चुप लागेर बस्नुस्। तर अल्पज्ञानका आधारमा दृष्टिकोण निर्माण नगरिदिनुस’ मुख्यमन्त्रीले भने।

कार्यक्रममा राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, प्रदेशसभा सदस्या रमा अर्याल, दैनिक लुम्बिनीका अध्यक्ष मोहन चापागाँइ लगायतले बोल्दै पत्रकारिता जगतले सधै जनताको नजरबाट हेर्न बुझन र तीनै जनताका आवाज सुनाउन सक्नु पर्ने बताए।

प्रकाशित: १६ फाल्गुन २०७६ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App