१६ चैत्र २०८० शुक्रबार
राजनीति

पुस्तकको व्यापार हो ज्ञानको होइन, कर जायज छ : मन्त्री खतिवडा

काठमाडौं- अर्थ मन्त्री एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले विकास खर्च गत वर्षको तुलनामा कम नभएको स्पष्ट पारेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार नेपाल सरकारको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा उनले समग्र मुलुकको एकीकृत वित्तिय विवरणले विकास खर्च राम्रो भएको देखाएको बताएका हुन्।

उनले आर्थिक वर्षको अन्त्यसम्ममा बजेटको ९० प्रतिशत भन्दा बढी खर्च हुने दाबी गरे। निर्माण व्यवसायी, ठेक्का पट्टा सम्बन्धिी विवाद लगायतका कारण आर्थिक वर्षको सुरुवाती दिनमा विकास खर्च हुन नसकेपनि पछिल्लो अवस्था सन्तोषजनक रहेको उनले दाबी गरे।  

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन सम्बन्धि अडियो प्रकरण छानविनका सम्बन्धमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिदै मन्त्री खतिवडाले सरोकारित र सम्बन्धीत निकायहरुले अध्ययन गरिरहकाले उनीहरुबाट आउने नतिजा पर्खन आग्रह गरे।

ठूला भ्रष्टाचार अभावजन्य भ्रष्टाचार नभएको भन्दै उनले कर्मचारीको तलब बढाएर साना साना भ्रष्टाचार घटाए पनि त्यसले समग्र मनोवृति परिर्वतन नगर्ने स्पष्ट पारे।

पुस्तक बिक्रीमा लगाएको करका सम्बन्धि सञ्चारकर्मीको जिज्ञासामा उनले राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण दिन सरकारले कर लगाएको बताए। पुस्तक बिक्रीमा धेरै मुलुकले मूल्य अभिवृद्धि कर लगाउने गरेको र त्यो कर १८ प्रतिशतसम्म रहेको उल्लेख गर्दे उनले अरबौं रुपैयाँ लगानी गरेर स्वदेशमा स्थापना भएका प्रेसले गर्ने कागज आयातमा पनि कर लगाएकाले पुस्तकमा लगाईएको कर जायज भएको बताए। उनले पुस्तकको बिक्री व्यापार भएकाले सरकारले ज्ञानमा कर लगायो भनेर भ्रम फैलाउने काम नगर्न सचेत गराए। उनले भने 'पुस्तकको व्यापार हो ज्ञानको व्यापार होइन ज्ञानको व्यापार भनेर दिग्भ्रमित नगरौ।'

मौरिससबाट आउने लगानी रोकिएको सम्बन्धमा उनले स्रोत खुलेका र बैकिङ प्रणालीबाट आउने लगानी प्रभावित नहुने स्पष्ट पारे। सञ्चारकर्मीले मौरिससबाट आउने लगानी रोक्दा समग्र अर्थतन्त्रमा प्रतिकुल प्रभाव पार्न सक्ने भन्दै त्यसबारे जिज्ञासा राखेका थिए।

त्यस्तै, उनले राष्ट्र बैकको गर्भनर नियुक्तिमा भएको ढिलाई बारे सञ्चारकर्मीको जिज्ञासामा चैत ५ भन्दा अगाडी नै नियुक्त हुने बताए।

 

प्रकाशित: १५ फाल्गुन २०७६ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App