१६ चैत्र २०८० शुक्रबार
राजनीति

गिरिजाप्रसाद कोइरालाले ठूला ठूला आक्रमण गर्न भन्नु भयो : अध्यक्ष दाहाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनआन्दोलन चलिरहेको समयमा नेपाली कांग्रेसका तत्कालिन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले ठूला आक्रमण गरिदिन आग्रह गर्ने गरेको बताएका छन्।

जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै दाहालले भने, 'गिरिजाप्रसाद कोइराला र मेराबीच दिनदिनै फोनमा कुरा हुन्थ्यो। उहाँले अली ठूला आक्रमण गर्न पर्‍यो भन्नु हुन्थ्यो। जिल्ला सदरमकाम हान्न पर्‍यो भन्नुहुन्थ्यो। संसारमा यस्‍तो कमै छ।'

त्यही विचित्रको संयोगले राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भएको उनले बताए।

त्यति धेरै हतियार, त्यत्रो युद्ध, सेना र आधार इलाका छोडेर  शान्ति प्रक्रियामा आउने कुरा सानो नभएको उनले बताए। समकालिन विश्वमा धेरै विद्रोहीले शान्ति प्रक्रियामा आउन पनि नसकेको उनले बताए। 'तमिलहरु फौजि हिसावमा निकै शक्तिशाली थिए। तर त्यो सफल हुन सकेन। मुख्य नेतृत्वकै हत्या भयो', उनले भने, 'पेरुमा जनयुद्ध भयो। एउटा उत्कर्षमा पुग्यो। तर गोन्जालो पक्राउ परेपछि त्यहाँ पनि आन्दोलन सकियो।'

नेकपा उपाध्यक्ष बामदेव गौतमले जनयुद्ध जनताको मुक्तिको लागि भएको बताए। जनयुद्धको समयमा तत्कालिन नेकपा एमालेले पनि ठूलो क्षति भोगेको उनले बताए।

 

प्रकाशित: १ फाल्गुन २०७६ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App