१७ जेष्ठ २०७७ शनिबार
राजनीति

नेपाल प्रहरीमा १ सय ४४ अधिकृतको बढुवा पछाडि धकेलिँदै

काठमाडाैं – नेपाल प्रहरीभित्र समयमै बढुवा प्रक्रिया अघि नबढ्दा १ सय ४४ भन्दा बढी प्रहरी अधिकृतको वृत्ति विकास अन्योलमा परेको छ। नेपाल प्रहरीमा प्रहरी नायब महानिरक्षक(डिआइजी)देखि प्रहरी निरीक्षक(इन्स्पेक्टर) सम्म ठूलो संख्यामा दरबन्दी खाली भए पनि गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठक बस्न नसकेका कारण प्रहरी अधिकृतको वृत्ति विकासमा असर परेको हो। बढुवा समितिको बैठकमा गृहसचिव अनिवार्य हुन्छ। तर तत्कालीन सचिव प्रेमकुमार राई अवकाश हुनुअघि विदेश भ्रमणमा गएकाले बढुवा समितिको बैठक बस्न सकेको थिएन। उनले शुक्रबार राजीनामा दिएपछि अहिले गृह मन्त्रालयले नयाँ सचिव पाए पनि अझै बढुवा समितिको बैठक बस्न अझै एक हप्ता लाग्ने सम्भावना छ।

समितिको बैठक नबस्दा प्रहरी प्रधान कार्यालयले पनि बढुवा हुने प्रहरी अधिकारीको फाइल मन्त्रालयमा पठाएको छैन। केही दिन गृहसचिव विदेश भ्रमण रहेको र त्यसपछि मन्त्रालयकै काममाव्यस्त भएकाले सिफारिस गर्न नसकिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। ‘बढुवाबारे प्रहरी प्रधान कार्यालयले सिफारिस गर्न बढुवा समितिमा लैजान खोजिरहेको छ तर समितिकै बैठक बस्न निश्चित नभएकाले प्रस्ताव लान सकिएको छैन,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘अब आइजिपीलगायत २१ जना उच्च प्रहरी अधिकारी अनिवार्य अवकाशमा जाने भएकाले पनि अन्य तहको बढुवा प्रक्रिया तत्कालै अघि नबढ्ने सम्भावना रहेको छ।’ उनीहरूले अवाकाश पाएपछि सरकार आइजिपी नियुक्त गर्न लाग्ने भएकाले पनि अन्य अधिकृतको बढुवा पछि धकेलिने भएको हो।

आइजिपी, एआइजी र डिआइजीसहित उच्च प्रहरी अधिकारीले एकैसाथ अवकाश पाउँदैछन्। हाल नेपाल प्रहरीमा डिआइजीसहित रिक्त भएको तीन हप्ता भएको छ भने ८ एसएसपीसहित अन्य ३४ जना एसपीको पद रिक्त रहेका छन्। डिआइजीका लागि एसएसपी ईश्वरबाबु कार्की, प्रकाश कार्की, अघिल्लो व्याचबाट र पछिल्लो व्याचबाट धिरजप्रतापसिंह, उत्तम सुवेदी, दिवेश लोहनी, रवीन्द्र धानुक, सहकुल थापा, वसन्त लामा, वसन्त पन्तलगायतका प्रतिस्पर्धामा छन्। उनीहरूको व्याजबाट विश्वराज पोखरेल डिआइजी भैसकेका छन्।

एक महिनाअघि ३० वर्षे सेवाहदका कारण एसएसपीद्वय बिभुतिराज पाण्डे र भोजजंग शाहले एकसाथ अवकाश पाएका थिए। उनीहरुको अवकाशसँगै एसएसपीको दरबन्दी संख्या आठ पुगेको हो। नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त आठ एसएसपीका लागि २० भन्दा बढी एसएसपी बढुवाको प्रतिस्पर्धामा छन्। प्रहरी नियमावली २०७१ मा डिआइजी र एसएसपी बढुवा सिफारिसको लागि गृहसचिव अध्यक्ष, प्रहरी महानिरीक्षक(आइजिपी) सदस्य र प्रहरी महानिरीक्षक(आइजिपी) ले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सदस्यसचिव रहने व्यवस्था छ। ३० वर्षे सेवा अवधिकै कारण आउँदो माघ २८ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित ३ एआएजी १८ डिआइजीको पद रिक्त हुँदैछ। सशस्त्र प्रहरीले भने केही दिनअघि ६ डिआइजीका लागि बढुवा सिफारिस गरिसकेको छ।

गत असोज ७ को मन्त्रिपरिषद् बैठकले प्राविधिक एसएसपी एक र दुई एसएसपीसहित ३ हजार ५ सय ९६ जनाको दरबन्दी थप गरेको थियो। गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले तिहारलगत्तै पदपूर्ति गर्ने तयारी गरे पनि प्रतिस्पर्धी एसपीहरुको अनावश्यक दबाबको कारण बढुवा निकाल्न हम्मेहम्मे परेको थियो। तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) यादवराज खनालले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गर्दै पद रिक्त भएको तीन महिनाभित्रै पदपूर्ति गर्न निर्देशन दिएको थियो। तर पद रिक्त भएको छ महिनाभन्दा बढी हुँदा समेत बढुवाको प्रक्रिया अन्योलपूर्ण बन्दै गएको छ। गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले प्रहरीको बढुवा प्रक्रियाबारे आफूलाई त्यति जानकारी नभएको बताए। ‘बढुवा हुने क्रममै होला वृत्ति विकासम असर नपर्नेगरी प्रहरी प्रधानकार्यालय प्रस्ताव ल्याउन लगाइन्छ तर यो विषय के भैरहेको छ भन्नेबारेमा भने म बुझेर मात्रै बताउँछु,’ प्रवक्ता शर्माले भने।

प्रहरी नियमावलीअनुसार एसपीबाट एसएसपीमा बढुवाको लागि तीन वर्ष पदावधि पूरा गरेको हुनुपर्छ। पुस १३ पछि तीन वर्ष सेवा अवधि पुगेका एसपीहरू चन्द्रकुवेर खापुङ, अनुरागकुमार द्विवेदी, विद्यानन्द माझी, मधुसूदन लुइँटेल, डिल्लीराज पन्त, ध्रुवराज राउत, मोहनप्रसाद पोखरेल, राजेन्द्रसिंह खड्का, टिकाबहादुर केसी, योगबहादुर पाल समेत बढुवाको प्रतिस्पर्धी भएका छन्। उनीहरूको व्याचभन्दा अघिल्लो व्याचबाट आठ एसएसपीका लागि भरतबहादुर बोहरा, रवीन्द्र केसी, कुबेर कडायत, विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, सुदीप गिरी, दुर्गा सिंह (चन्द), जनक भट्टराई, केदार ढकाल, विकासराज खनाल, हृदय थापा, अशोक सिंह, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमाशंकर पन्जियार, किरण राणा, चक्रबहादुर सिंह, अर्जुनचन्द ठकुरी, मुकेशकुमार सिंह, कृष्णकुमार महत, गोविन्दकुमार शाह, जनकराज पाण्डे, यज्ञविनोद पोखरेल, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, भोलाबहादुर रावल, राजकुमार बैदवार, रमेश थापा, सुदीप राजभण्डारी लगायतका अधिकृतहरू एसएसपी बढुवाका प्रतिस्पर्धी हुन्।

त्यसैगरी ३० वर्षे सेवा अवधिपूरा गरी एसपीहरु राजकुमार लम्साल, अच्युतप्रसाद पुडासैनी, बिद्यानन्द माझी, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु शिवराज बस्नेत, मनोहरराज श्रेष्ठ, सुभाष गैह्रे, प्रदीप डिसी, कृष्णदत्त भट्ट, बिनोदबिक्रम शाह, विनोद खड्का, कृष्णगोपाल पनेरु, कृष्णराज सापकोटा, कृष्णसुन्दर बिष्ट, चिनकपुर गुरुङ, निर्मल लामाले अवकाश पाएका छन् भने राजकुमार खिउजीले राजिनामा दिएका छन्। त्यस्तै प्रहरी निरीक्षक विष्णुप्रसाद पोखरेल, योगेन्द्रबहादुर हमाल, हरीदास श्रेष्ठ, राजेश राईलगायतले पनि अवकाश पाएका छन्। प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार सिनयिर अधिकृतमा मात्रै १ सय ४४ पद रिक्त भएको छ।

प्रकाशित: २३ माघ २०७६ ०८:०१ बिहीबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App