४ वैशाख २०८१ मंगलबार
राजनीति

राजधानी र नाम तोक्न सकेन, स्थापना दिवसमा ३४ जना सांसद

प्रदेशसभा स्थापना दिवस मूल समारोहमा उपस्थित अतिथिहरु । मूल समारोहमा सांसदका लागि राखिएका खाली कुर्ची । तस्बिर विनोद/नागरिक

रुपन्देही- प्रदेश न. ५ प्रदेशसभाले मंगलबार दोस्रो स्थापना दिवस मनायो । २०७४ साल माघ २१ गतेका दिन पहिलो बैठक बसेको थियो । त्यहि दिनलाई गत वर्षदेखि प्रदेशसभाले स्थापना दिवसका रुपमा मनाउन थालेको हो । दुई वर्षसम्म पनि प्रदेशको नामाकरण र स्थायी केन्द्र तोक्न नसकेकोमा प्रदेशसभाको निकै आलोचना भएको छ ।

मूलुक संघियतामा गएपछि प्रदेशको संरचना शून्यमा थियो । त्यो आधारमा प्रदेशका आधारभूत संरचना बनाउन भने प्रदेशसभा सक्षम देखिएको छ । तर, प्रदेशसभाकै अधिकारभित्र पर्ने स्थायी केन्द्र र नामाकरण गर्न नसकेकोमा भने विपक्षी मात्रै होईन सत्तासिन सांसदहरु समेत असन्तुष्ट छन् ।

राजनीतिक लडाईँको विषय भएकाले पनि प्रदेशसभाले राजधानीको विषय टुग्याउन सकेन । राजधानी सिफारिस समितिले प्रतिवेदन प्रदेशसभामा बुझाएपनि त्यसमाथि छलफल सुरु नै भएको छैन । प्रदेशसभामा गत वर्ष गाडी खरिदमा अनियमितता गरेको विषयमा निकै आलोचित बन्यो । तर, सरकार र प्रदेशसभा भने प्रदेशको जग बसाल्न सफल भएकोमा आफ्नो सफलता मानेको छ ।

प्रदेशसभाको दोस्रो स्थापना दिवस मूल समारोहमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले छोटो समयमा कानुनी शासनलाई सबल बनाउन प्रदेशसभा सफल बनेको बताए । उनले नेपालको संघियता बिशिष्टखालको भएको भन्दै प्रदेशसभाले छोटो अवधिमा पूर्वाधार निर्माणदेखि व्यवस्थापकीय काम चुस्त बनाउन सफल भएको भन्दै प्रदेशसभाको प्रशंसा समेत गरे । उनले ७ वटै प्रदेशसभा मध्ये प्रदेश ५ को प्रदेशसभा भने सहकार्यको सस्कृति स्थापित गर्न सफल बनेको बताए ।

‘अन्य प्रदेशमा भन्दा यहाँ विपक्षी र सत्तापक्षका सांसदहरुबीच सहकार्यको सस्कृति छ, यसका लागि प्रदेशसभालाई धन्यवाद दिन्छु’ मुख्यमन्त्री पोखरेलले भने । मुख्यमन्त्रीले दुई वर्षे प्रदेशसभाको कार्यकालमा विधेयक निर्माणमा अझै पनि गहिरो छलफल हुन नसकेको भन्दै सांसदको ध्यानआकर्षण गराए । ‘प्रदेशसभाकने मुल काम विधायिका कार्य नै हो । जति गहिराईमा गएर छलफल गर्नुपर्ने त्यो जोड पुगेको छैन’ मुख्यमन्त्रीले भने ।

प्रदेशसभामा समेत जनताको आवाजलाई मुखरित गर्ने काम व्यवस्थित नभएको भन्दै विशेष र शून्य समयको ओझलाई बढाउनतर्फ पनि सांसदहरुलाई आग्रह गरे । अस्थायी राजधानी बुटवलमा तत्तकालिन समयमा बुटवल उद्योग वाणिज्य संघको एउटा मात्रै हल लिएर प्रदेशसभाको सञ्चालन सुरु भएको थियो । तर पछि विस्तारै प्रदेशसभाले प्रदेशसभा, सचिवलाय, विषयगत समितिका कार्यालय, संसदीय दल र संवाद केन्द्रहरु निर्माण गरेको सभामुख पूर्ण घर्तीले बताए । उनले भने ‘यो नयाँ अभ्यास भएकाले कतिपय कुराहरु सिक्दै पनि गरियो, कमजोरी भयो होला तर आधारभूत संरचना भने बनेको छ, यो हाम्रो सफलता नै हो ।’

पाँचौ अधिवेशनसम्म आइपुगेको प्रदेशसभाले अहिलेसम्म ४८ वटा कानुन निर्माण गर्न सफल रहेको उपसभामुख कृष्णि थारुले बताईन् । उनले अब बनेका कानुनको कार्यान्वयन गर्दै नागरिकमा आशा जगाउने दायित्व थपिएको बताए ।

प्रदेसभाको स्थापना दिवसमा विपक्षी दलहरुले भने राजधानी र नामाकरण नभएकोमा घुमाउरो रुपमा असुन्तुष्टि नै पोखेँ । विपक्षी दलका सासद निर्मला क्षत्रिले राजधानि चाडो टुंग्याउन आग्रह गरिन् । पाचौ अधिवेशन मार्फत राजधानि टुग्याउन काग्रेस सघाउन तयार रहेको उनले बताईन् । सासद क्षत्रिले संघियता कार्यान्वयनका लागि प्रदेश र स्थानिय तहबीच समन्वयका लागि साझा सुचिका कानुन निर्माण चाडो गर्नुपर्ने बताईन् ।  

समाजवादि पार्टीका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेले प्रदेशसभाको दुई वर्षे कार्यकाल वितेपनि जनताले स्थायि राजधानी र नामाकरणन भएको बारेमा प्रश्न गरेको बताए । उनले ७७ साल अगावै नाम र स्थायी केन्द्र तोक्न तर्फ प्रदेशसभाको ध्यानाकर्षण गराए । प्रदेशसभाले स्थापना दिवसका अवसरमा प्रदेशसभा सचिवहरू सुरेन्द्र अर्याल, डा. मानबहादुर विके, प्रेमप्रसाद भट्टराईलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेको छ । यसैगरि पुस्तक प्रदेशसभा दर्पण २०७६ र  चाथौ अधिवेशन विधेयक विमोचन समेत गरेको छ ।

३४ जना मात्रै सांसद उपस्थित
प्रदेश ५, प्रदेशसभाले विभिन्न कार्यक्रमसहित प्रदेशस्थापना दिवस मनाएको हो । मूल समरोह निकै तामझामका साथ सजाइएको थियो । मध्यान्ह १२ बजे सुरु हुने भनिएको कार्यक्रम सुरु हुन नै ढिलाई भयो । प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतथ्यितामा भएको प्रदेशसभा स्थापना दिवस मूल समरोहमा प्रदेशसभा सदस्यहरु नै निकै न्यून उपस्थिती भए । मुख्यमन्त्री शंकर पोखरेल समेत कार्यक्रम सुरु भएको २ घन्टापछि मात्रै उपस्थित भए । ८७ जना प्रदेश सभा सदस्यमध्ये ३४ जना मात्रै मन्त्री र सांसदहरु उपस्थित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सरकारका तर्फबाट मुख्यमन्त्रीसहित कानुन मन्त्री कुलप्रसाद केसी, भूमि कृषि तथा सहकारी मन्त्री आरती पौडेलको मात्रै उपस्थिती रह्यो ।

३ जना मन्त्री भने उपस्थित भएनन् । प्रदेशसभाको वार्षिक कार्यतालिकाको कार्यक्रममै सांसदहरु किन आएनन् भन्ने विषयमा संसद सचिवालय नै आश्चर्यचकित परेको छ । प्रदेशसभा सदस्यहरुलाई एक महिनाअघि नै कार्यक्रमबारे जानकारी थियो । तर आफ्नै सभाको स्थापना दिवसमा सहभागी नहुनुलाई सदस्यहरुको गैरजिम्मेवारी भएको एक प्रदेशसभा सदस्यले बताए ।
 

प्रकाशित: २१ माघ २०७६ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App