७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमसीसी नेपालको हितमाः नेता गौतम

कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरुलाई सम्मान गर्दै गौतम, राई र चौधरी । तस्विरः महेश्वर

उदयपुर- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रेस संगठन इन्चार्ज राजेन्द्र गौतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाली जनताको हितमा रहेको बताएका छन्। उदयपुरमा शुक्रबार आयोजित पार्टीनिकट प्रेस संगठन उदयपुरको प्रथम भेला तथा अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै गौतमले बाहिर हल्ला र अफवाह फैलाइएजस्तो एमसीसी नेपालको अहितमा नरहेको भन्दै यसले लोकतान्त्रिक गणतन्त्रलाई नै संस्थागत गर्न सहयोग गर्ने बताए।

विश्वका ४७ देशमा अमेरिकाले एमसीसी लागू गरेको उदाहरण दिँदै नेता गौतमले यसबाट नेपाली जनताको हितमा विकास निर्माणका कार्यक्रम गर्ने भएकाले यसलाई संसदबाट पारित गरेर अघि बढाउनुपर्नेमा जोड दिए। ‘अमेरिकाले जुन देशमा लोकतान्त्रिक व्यवस्था छ, त्यहाँ मात्र यो कार्यक्रम लागू गर्दै आएको छ’ गौतमको भनाई थियो ‘तर, धेरैलाई यो कुरा जानकारी नभएर वा स्वार्थवश घुमाउरो र सोझो पाराले नेपालमा विरोध भईरहेको छ। एमसीसी लागू गर्दा कुनै नेपालमा समस्या हुँदैन, बरु नेपालकै हितमा हुन्छ।’

गौतमले एमसीसी र इन्डो प्यासिफिक स्ट्राटेजी (आईसिसी) को कुनै सम्बन्ध नरहेको बताउँदै नेपालमा एमसीसीको विरोधमा बहस सुरु भएपछि अमेरिकन दुताबासले आप्mनो आधिकारिक भनाई सार्वजनिक गर्दै एमसीसी र आईपिएससँग कुनै सम्बन्ध नभएको प्रष्ट पारिसकेको बताए। तर, नेकपाभित्रकै केही नेताहरुले यसको विरोध गरिरहेकोमा असहमति जनाउदै उनले अमेरिका आफै लोकतान्त्रिक मुलुक भएकाले उसले एमसीसी लागू गर्नुअघि लोकतन्त्र र मानवअधिकारको ग्यारेन्टी हुनुपर्ने शर्त राख्ने गरेको बताए।

‘एमसीसी लागू गर्नुअघि सर्त अमेरिकाले जहाँ तानाशाही व्यवस्था छ त्यहाँ एमसीसी लागू नगर्ने र जहाँ लोकतन्त्र र मानवअधिकारको ग्यारेन्टी छ त्यहाँ मात्र लागू गर्ने गरेको छ’ गौतमको भनाई थियो ‘लोकतन्त्र र मानवअधिकारको ग्यारेन्टी नहुने देशमा एमसीसी लागू भएको देखिएको छैन।’ उनले ४७ मध्ये तानाशाही व्यवस्थाका दुई मुलुकमा लागू भएको कार्यक्रम फिर्ता लिएको बताउँदै तान्जानीयाले भने आफै सो कार्यक्रम देशका लागि उपयुक्त छैन भन्दै फिर्ता गरेको बताए।

अर्का केन्द्रीय सदस्य १ नं. प्रदेश सचिव तथा उदयपुर प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई (हिमाल) ले अहिले संघ, प्रदेश र स्थानीयतह तीनैवटा सरकारमा स्पष्ट बहुमत पाएको नेकपाले जनभावनाको कदर गर्दै काम गर्नुपर्नेमा जोड दिए। सार्वभौमसत्ता सम्पन्न जनताले स्पष्ट बहुमत पाउँदा राम्रो काम गर्न नसके आउँदो चुनावमा पार्टी पराजित हुनेतर्फ सचेत रहन आग्रह गर्दै राईले नेकपाको सरकारले ल्याएका जनमुखी काममा सहयोग गर्न प्रेस संगठनमा आबद्ध पत्रकारहरुको दायित्व भएको बताए।

सुखी नेपाली र समृद्ध नेपालको नारालाई साकार पार्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने र पार्टीनिकट पत्रकार र अन्य भ्रातृसंघसंस्थामा आबद्ध सबै एकजुट भएर अघि बढ्नपर्नेमा उनको जोड थियो। कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा त्रियुगा नगरप्रमुख बलदेव चौधरी, जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस), प्रदेश सांसदहरु क्रमशः नारायण वुर्जा, विमल कार्की, अम्बिका थापा र सुनिता चौधरी तथा प्रेस संगठन लेखा संयोजक विक्रम लुईटेल, प्रदेश इन्चार्ज लिलाराज भट्टराई, संयोजक राजन केडीलगायतले पनि बोलेका थिए।

नेकपाले भर्खरै जारी गरेको आचारसंहितामा हरेक महिना वनभोज गर्ने, परिवारमा ‘तँ’ जस्ता अनादरार्शी शब्द छोराछोरीलाईसमेत सम्बोधन गर्न नपाइने निर्देशन दिए अनुसार सहभोजको आयोजना गरिएको प्रेस संगठन उदयपुरमा संयोजक गणेश उप्रेतीले बताए। कार्यक्रममा केन्द्रीय सदस्य गौतम, राई र चौधरीले बिभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरेका थिए।  

 

प्रकाशित: १० माघ २०७६ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App