coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सशस्त्र प्रहरीको खोज तथा उद्दारमा असाधारण योगदान : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बल खोज तथा उद्दारमा असाधारण योगदान रहेको बताएका छन्। सशस्त्र प्रहरीको १९ आैं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थापनाको छोटो समयमा असाधारण योगदान पु‍-याएको बताएका हुन्। बिरामी भएपछि सार्वजनिक कार्यक्रममा कम उपस्थित हुने गरेका प्रधानमन्त्री ओलीले बिहीबार सशस्त्र प्रहरीको स्थापना दिवसमा सम्बोधन गरेका थिए। उनले त्यस क्रममा सशस्त्र प्रहरीले सरकारले तोकेको दायित्व निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन्।

‘विगतमा सशस्त्र प्रहरी बलले गरेका कामबाट सरकार सन्तुष्ट छ। खासगरी विपद व्यवस्थापन र उद्धारको काममा संगठनले गरेका कामबाट जनता प्रभावित छन्। अब पनि देश र जनताका लागि अतुलनीय योगदना गर्ने विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भने। त्यसक्रममा सशस्त्र प्रहरीले बहुआयामिक ढंगले सुन्दर परिचय स्थापित गरेको उनले बताए। ‘सशस्त्र प्रहरीले शान्ति सुव्यवस्था कायम गर्नेदेखि लिएर स्वच्छता पारदर्शिता, भष्टाचार नियन्त्रण जस्ता कुरामा आफूलाई नमूनाको रूपमा प्रस्तुत गर्दै आएको छ। बेरुजु फस्र्यौट जस्ता कुरामा पनि अग्रणी स्थानमा रहेको जानकारी पाउँदा खुसी लागेको छ,’ प्रधानमन्त्री ओलीले भने।

उनले जस्तो सुकै कठिनाइको समयमा खोज तथा उद्दारमा असाधारण योगदान दिएको बताए। ‘२०७२ सालमा भएको महाभूकम्पका बेला सशस्त्र प्रहरीले खोज तथा उद्दारमा असाधारण योगदान पु‍-याएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो। ओलीले सशस्त्र प्रहरी बललाई सुदृढ र सबल बनाउनलाई राज्यले धान्न सक्ने सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। सकेसम्म राम्रा तालिम प्रदान गर्ने र सुविधा सम्पन्न बनाउने योजना रहेको सुनाउँदै प्रधानमन्त्री ओलीले सकेसम्म सरकारले विश्वमा आधुनिक उपकरण उपलब्ध गराउन सरकार तयार रहेकोसमेत बताए। प्रधानमन्त्री ओलीले समग्र राष्ट्र सुशासन र विकासको कार्यमा अगाडि बढेको बताउँदै आमनागरिकले पनि यसमा साथ दिनु आवश्यक रहेको बताए।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाउनका लागि थप जनशक्तिको आवश्यकता महसुस भैरहको बताए। गृहमन्त्री थापाले सीमा सुरक्षाका लागि आवश्यक बोर्डर अब्जरवेसन पोष्ट (बीओपी)को संख्या बढाइएको बताए। हाल सशस्त्र प्रहरीलाई थप मजवुद बनाउदै लैजाने सरकारको योजना रहेको छ। सशस्त्र प्रहरीले मागेको जनशक्ति र आवश्यक भौतिक पूर्वाधारको बारेमा मन्त्रालय सकारात्मक रहेको छ,’ गृहमन्त्री थापाले भने।

कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीका आफ्नै समस्या भए पनि सरकारले खटाएको संगठनले पाएको जिम्मेवारी पूरा गर्न अविच्छिन्न खटिएको बताए। ‘संगठनले पाएको स्रोतसाधानलाई अधिकतम उपयोग गर्दै सशस्त्र प्रहरी बलले काम गरिहेको छ। सरकारले दिएको जिम्मेवारी र ऐनले निर्दिष्ट गरेको जिम्मेवारी दृढतापूर्वक पूरा गरेको छ।’ महानिरीक्षक खनालले भने।

प्रकाशित: १० माघ २०७६ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App