coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आयोगका पदाधिकारीले लिए शपथ

काठमाडौं – संक्रमणकालीन न्याय प्रक्रिया टुंगाउन बनेका दुई आयोगका पदाधिकारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। नौ महिनादेखि रिक्त सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष गणेशदत्त भट्ट र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीलाई प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले पद तथा गापनीयताको सपथ गराएका हुन्। लगत्तै दुवै अध्यक्षले आ–आफ्ना चार–चारजना सदस्यलाई शपथ गराएका थिए।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित समितिले माघ ४ मा आयोगका पदाधिकारीको नाम सिफारिस गरेको थियो। गत बिहीबार मन्त्रिपरिषद् वैठकले सिफारिस समितिले पठाएका नाम अनुमोदन गरेको थियो। सत्यनिरूपण आयोगको सदस्यमा वरिष्ठ अधिवक्ता प्रचण्डराज श्रेष्ठ (काभ्रे), वरिष्ठ अधिवक्ता तथा नेपाल ल क्याम्पसका पूर्वप्रमुख गोविन्द गौतम (दाङ), अधिवक्ता मन दाहाल(मोरङ), अधिवक्ता विष्णु पोखरेल(बर्दिया) छन्।

त्यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सदस्यमा वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारी (चितवन), अधिवक्ता गंगाधर अधिकारी पिएचडी (बागलुङ), अधिवक्ता सुनिल रञ्जन सिंह (सर्लाही), अधिवक्ता सरिता थापा मगर(तनहुँ) छन्।

प्रकाशित: १० माघ २०७६ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App