७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनावी रणनीति बनाउँदै दलहरू

लहान – राष्ट्रियसभा निर्वाचन नजिकिएसँगै दलहरू चुनावी रणनीति बनाउन व्यस्त छन्। आफ्ना उम्मेदबवरलाई जिताउन चुनावी तालमेल गर्नमा दलहरूको सक्रियता बढेको हो। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेपाल संघीय समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ। यसअघि नै राष्ट्रिय जनता पार्टी(राजपा)सँग राष्ट्रियसभाका लागि प्रदेश २ मा चुनावी तालमेल गरेका छन्। आइतबार यी दुई दलले रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीसँग(नेसंसपा) चुनावी तालमेलको सहमति गरेर आफ्ना उम्मेदवारको जित थप सुनिश्चित बनेको दाबी गरेका छन्। प्रदेश २ को प्रदेशसभामा नेसंसपाको एउटा मात्र मत रहेको छ।

४ सदस्यका लागि हुने निर्वाचनमा नेकपा र राजपाले २२ सिटमा तालमेल गरेका छन्। राष्ट्रियसभा निर्वाचनमा राजपाले मृगेन्द्रसिंह यादवलाई अन्य समूहबाट र शेखरकुमार सिंहलाई अल्पसंख्यक समूहबाट उम्मेदवार बनाएको छ। दुवैजना सप्तरी निवासी हुन्। नेकपाले महिला समूहबाट तुलसा दाहाल र दलित समूहबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाइएको छ। दहाल र पासवान सर्लाही निवासी हुन्।

यस्तै प्रदेश २ का चार सिटमा प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ताधारी समाजवादी पार्टीको गठबन्धनबाट चारजना उम्मेदबार छन्। कांग्रेसको तर्फबाट नगिना यादव र भोला पञ्जियार उम्मेदबार छन् भने समाजवादी पार्टीको तर्फबाट रामलाल पासवान र अनिरुद्रसिंह यादव उम्मेदबार छन्।

चुनावी गणित
राष्ट्रिय सभाका लागि प्रदेश २ मा चार सिटमा प्रतिस्पर्धा हुँदै छ। यसका लागि दुईवटा गठबन्धनबाट ८ जनाको उम्मेदवारी परेको छ। निर्वाचनमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदान गर्न पाउँछन्। प्रदेश २ को १३६ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ७२ जना मतदाता छन्। प्रदेशसभामा १ सय ७ सांसद मतदाता छन्। स्थानीय तहका प्रमुख, उपप्रमुख र सांसद गरी मुल ३ सय ७९ जनाले राष्ट्रसभा निर्वाचनमा मतदान गर्नेछन्। मत संख्याको हिसावमाा राजपा–नेकपाको गठबन्धन नेपाली कांग्रेस–समाजवादी पार्टीको गठबन्धनभन्दा बढी सिट छ।

प्रदेश २ को संसदमा नेकपाको ३२ सिट(सांसद) छ भने स्थानीय तहमा ८३ सिट(प्रमुख,उप प्रमुख) छ। संसदमा राजपाको २५ सिट(सांसद) छ भने स्थानीय तहमा ४४(प्रमुख,उप प्रमुख) छन्। यता नेपाली कांग्रेसको संसद्मा १९ सिट(सांसद) छ भने स्थानीय तहमा ८१ सिट (प्रमुख, उप प्रमुख) छन्। समाजवादी पार्टीको संसदमा २९ सिट(सांसद) छ भने स्थानीय तहमा ५२ सिट(प्रमुख,उप प्रमुख) छ।

नेपाली जनता दलको संसद्मा १ सिट(सांसद) छ भने स्थानीय तहमा २ सिट(प्रमुख,उप प्रमुख) छ। स्वतन्त्र सांसद १ जना छन्। नेपाल संघीय समाजवादी फोरमको संसदमा १ सिट(सांसद) छ। नेकपा–राजपा गठबन्धको संसद र स्थानीय तहमा गरी १९४ मतदाता रहेको छन्। कांग्रेस– समाजवादी गठबन्धनको १८२ मतदाता छन्। यसरी मतदाताको हिसावले राजपा–नेकपा गठबन्धनको स्पष्ट बहुमत देखिन्छ।

प्रकाशित: ७ माघ २०७६ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App