coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘जाडो छ, पारिलो सूर्य ताप्नोस अनि गर्मी हुने वितिकै छाता ओड्न नबिर्सनोस्’

सर्लाहीको हरिवनमा आयोजित जेबी टुहुरेको एकल सांगीतिक कार्यक्रममा बोल्दै नेता नेपाल । तस्बिर:टंक/नागरिक

सर्लाही- सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सूर्य र छाता चुनाव चिन्हबाट उठेका उम्मेदवारलाई भोट हाल्न नबिर्सन आग्रह गरेका छन्।

बुधबार सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत घुर्कौलीस्थित द्वन्द्वपीडित बालगृहमा जेबी टुहुरे फाउण्डेशनले आयोजना गरेको जेबी टुहुरेको निरन्तरता भाग–४ एकल सांगीतिक प्रस्तुतीको उद्घाटन गर्दै नेकपा नेता नेपालले यस्तो आग्रह गरेका हुन्। ‘निकट भविष्यमा हुन गईरहेको राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईमा नेकपा र राजपाबीच गठबन्धन भएको छ’, नेता नेपालले भने, ‘त्यसैले म यो कार्यक्रममा उपस्थित प्रदेश सांसद्, नगरपालिकाका मेयर/उपमेयर एवं गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षलाई नेकपा–राजपा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिन्छु।’

उनले नेकपाका दुईजना तथा राजपाका दुईजना उम्मेद्वारहरुको नाम नै लिएर मतदान गर्न आग्रह गरे। ‘यताउता चाँही नगर्नोस् है, जाडो छ, सूर्य हेर्न नबिर्सनुहोला, पहिला पारिलो सूर्य ताप्नोस् अनि गर्मी हुने वितिकै छाता ओड्न नबिर्सनोस्’, नेता नेपालले भने, ‘म राजपाबाट निर्वाचित प्रदेश सांसद्सहितका सबै मतदाता साथीहरुमा पनि यही आग्रह गर्दछु।’

कार्यक्रममा बोल्दै नेता नेपालले जेबी टुहुरे नेपालको राजनैतिक परिवर्तनमा युगिन गायक रहेको उल्लेख गरे। ‘पञ्चायती कालरात्रीविरुद्ध लड्ने जोश जाँगर बोकेर राजनैतिक सिद्धान्तका आधारमा हिँडेका योद्धाहरुलाई जेबी टुहुरे लगायत जनवादी गीत संगितकर्मीले ठूलो उर्जा दिएको थियो’, नेता नेपालले छेउमै रहेका टुहुरेप्रति नजर लगाउँदै थपे, ‘राजनैतिक दलहरुले सूरु गरेको राजनैतिक परिवर्तनको अभिभारा पूरा गराउन उहाँहरु जस्ता जनवादी संगितकर्मीहरुको ठूलो योगदान रहेको थियो।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले मुलुकमा राजनैतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन गर्न अझै बाँकी रहेको उल्लेख गरे। ‘राजनैतिक परिवर्तन त भयो, अब आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन पनि गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ’, नेपालले थपे, ‘जनतालाई शिक्षा र स्वास्थ्यको सर्वसुलभ पहुँच, बेरोजगारी अन्त्य अनि समान अधिकार स्थापित गराउनु पर्ने जस्ता मुख्य कामहरु बाँकी नै छ।’

 

प्रकाशित: १ माघ २०७६ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App