१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेकपामा फ्लोर क्रसको त्रास

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्न निर्देशन जारी गरेपछि उत्पन्न विवाद साम्य पार्न शीर्ष नेताहरुले प्रयास थालेका छन्। नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती प्रस्ताव गरेसँगै सत्तारुढ दलभित्रै विवाद उत्पन्न कायम भएको छ।

‘मंगलबार तीन घण्टा लामो छलफलमा अध्यक्षद्वय र प्रदेशका नेताहरुबीच भएको छलफलमा सचिवालयको निर्णय कार्यान्वयन गर्नेगरी टुंगिए पनि कार्यक्षेत्रमा भने फ्लोरक्रसको सम्भावना रहेको छ’, बैठकपछि स्रोतले भन्यो, ‘अध्यक्षद्वयले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै कायम गर्न पुनः निर्देशन दिनुभएको छ।’

नेकपा प्रदेश ३ की पार्टी इन्चार्ज अष्टलक्ष्मी शाक्यका अनुसार बैठकमा नेताहरुलाई सांसदले उठाएका सबै प्रश्न सुनाइएको थियो। ‘रामेछाप, दोलखा, रसुवालगायतका जिल्लाका सांसदले के भनेका छन्, उनीहरुलाई न्याय भयो कि भएन भन्नेबारेमा नेताहरुलाई सुनाइएको थियो। उहाँहरुले गल्ती भयो भन्ने महसुस गरे पनि पार्टीको निर्णय भएकाले पछाडि फर्किन नसकिने बताउनुभयो’, शाक्यले भनिन्।

नेकपाका प्रदेशसभा सांसदले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयको निर्देशन नमान्ने बताएपछि नेताहरु संसदीय दलको बैठक रोकेर काठमाडौं आएका थिए। प्रदेशका नेताहरु आएको जनाकारी पाएपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकबाट सीधै बालुवाटार पुगेका थिए। उनले प्रदेशका नेताहरुलाई सम्झाउने कोसिस गरेका थिए। नेताहरुले फ्लोर क्रस हुनसक्ने सम्भावनाबारे जानकारी गराएका थिए। प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले हेटौंडालाई नै राजधानी मान्न पार्टीले पुनः निर्देशन दिएको बताए।

एक सय १० सांसद रहेको प्रदेश ३ मा नेकपाका ८० जना छन्। राजधानीसम्बन्धी प्रस्ताव पास हुन ७४ सांसदको समर्थन आवश्यक पर्छ।

हेटौंडाबाट आएको टोलीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलसँग छलफल गरेको थियो। टोलीमा शाक्य, मुख्य सचेतक रामेश्वर फुयाल, आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसदहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, दीपक निरौला, आनन्द पोखरेललगायत थिए। उनीहरुसँग बालुवाटारमा तीन घन्टा छलफल भएको थियो।

हेटौंडा राजधानी राख्नुपर्ने र राख्न नहुने भनी नेकपा संसदीय दल बैठकमा विवाद बढेको थियो। काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा, नुवाकोट, काठमाडौंलगायतका जिल्लाका सांसदले हेटौंडालाई राजधानी मान्न नसकिने बताएका थिए। मकवानपुर र चितवनका सांसद हेटौंडाको पक्षमा छन्।

‘संसदीय दलको बैठकमा अधिकांश सांसदले हेटौंडालाई प्रदेश राजधानी मान्न नसकिने भनेपछि हामी दलको बैठक स्थगित गरेर काठमाडौं आएका थियौं’, प्रदेश इन्चार्ज शाक्यले भनिन्, ‘नेताहरुसँगको छलफलपछि भोलि (बुधबार) हेटौंडा गएर दलको बैठकमा नेताहरुको कुरा सुनाउनेछौं।’ उनले पार्टीको निर्णय सबै सांसदले कार्यान्वयन गर्ने विश्वाससमेत व्यक्त गरिन्

एक सय १० सांसद रहेको प्रदेश ३ मा नेकपाका ८० जना छन्। राजधानीसम्बन्धी प्रस्ताव पास हुन ७४ सांसदको समर्थन आवश्यक पर्छ। नेपालको संविधान धारा २८८ अनुसार प्रदेश राजधानीको निर्णय प्रदेश संसद्बाटै हुने व्यवस्था छ।

प्रकाशित: २३ पुस २०७६ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App