१५ चैत्र २०८० बिहीबार
राजनीति

कीर्ते उपभोक्ता समिति खडा गर्नेमाथि कारबाही गर्न कांग्रेसको माग

सहायक प्रमुख जिल्ला अधिकारी टिकाराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसका छायाँ सरकार प्रमुख तिर्थराज भट्टराई(बायाँ)। तस्बिर:दमन/नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विधिवत गठन गरिएको उपभोक्ता समितिलाई लत्याएर किर्ते कागजात खडा गरी गठन गरिएको अर्को उपभोक्ता समितिलाई योजना सम्झौता गराइएको भन्दै कांग्रेसको छायाँ सरकार बिरोधमा उत्रिएको छ।

संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरको ३० लाख रुपैयाँ बजेटबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालन हुने भुते जिरो किलोबाट आयुर्वेद कार्यालयसम्म एकीकृत बस्ती विकास तथा पूर्वाधार निर्माणका लागि विधिसंगत गठन गरिएको उपभोक्ता समितिलाई लत्याएर अर्कै उपभोक्ता समितिलाई योजना सम्झौता गराउन स्वीकृति दिएको भन्दै कांग्रेसको छायाँ सरकारले बिरोध गरेको हो।

छायाँ सरकारले शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी टिकाराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै किर्ते हस्ताक्षर गरेर किर्ते उपभोक्ता समिति खडा गर्नमा संलग्न व्यक्तिको पहिचान गरेर कारबाही गर्न माग गरेको छ। किर्ते उपभोक्ता समितिलाई सम्झौताका लागि सिफारिस दिने मेयर दिपनारायण रिजाल र प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईलाई समेत कारबाही गर्न माग गरिएको छायाँ सरकार प्रमुख एवं कांग्रेसका क्षेत्रीय सभापति तिर्थराज भट्टराईले बताए।

नगरपालिकाको मंसिर ३० गते प्राप्त पत्र अनुसार वडा कार्यालयले पुस ९ गते भवप्रसाद आचार्यको अध्यक्षतामा गठन गरेको ९ सदस्यीय उपभोक्ता समितिलाई लत्याएर मंसिर ६ गते युवराज आचार्यको अध्यक्षतामा गठन गरिएको ५ सदस्यीय उपभोक्ता समितिलाई योजना सम्झौताका लागि सिफारिस दिइएको खुलेपछि छायाँ सरकार बिरोधमा उत्रिएको हो। नगरपालिकाले युवराज अध्यक्ष रहेको उपभोक्ता समितिलाई पुस ९ गते नै सम्झौताका लागि संघीय आयोजना कार्यान्वयन इकाई बिराटनगर समक्ष सिफारिस दिइसकेको पाइएको छ। योजनाबाट गैर–लाभ लिने मनसायले हिरा आचार्यको किर्ते हस्ताक्षर गरेर युवराज अध्यक्ष रहेको उपभोक्ता समितिको कोषाध्यक्ष राखिएको ज्ञापनपत्रमा उल्लेख छ।

योजनाको उपभोक्ता समिति गठन र सम्झौता गर्नका लागि मंसिर २३ गते नगरपालिकालाई पत्र प्राप्त भएको थियो तर मंसिर ६ गते नै युवराजको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको र सोही समितिलाई योजना दिलाउने गलत नियत देखिएको भट्टराईले बताए। युवराजको अध्यक्षतामा बनाइएको उपभोक्ता समितिमा रहेकी कोषाध्यक्ष हिरा आचार्यले आफ्नो किर्ते हस्ताक्षर गरेर समितिमा राखेको भन्दै बुधबार वडा कार्यालयमा उजुरी दिएकी थिईन्।

सम्झौताका लागि नगरपालिका पुग्दा अर्कै उपभोक्ता समितिलाई सम्झौताका लागि सिफारिस दिइसकेको पाइएपछि भवप्रसादको अध्यक्षतामा गठित उपभोक्ता समितिले वडा कार्यालयमा ताला लगाउने धम्की दिएपछि वडाध्यक्ष आचार्यले बुधबार साँझ पत्रकार सम्मेलन गरेका थिए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर रिजालले भने समस्या देखिएपछि तत्कालका लागि सम्झौताको काम रोकेको बताए। भवप्रसादलाई कांग्रेस र युवराजलाई नेकपाको समर्थन र उक्साहट छ। छायाँ सरकारले विगतमा समेत नगरपालिकाका विभिन्न योजनामा भ्रष्टाचार भएको ज्ञापनपत्र प्रशासनलाई बुझाएको स्मरण गराउँदै निष्पक्ष छानवीन कार्य अघि बढाउन माग गरेको छ।

 

प्रकाशित: १९ पुस २०७६ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App