८ वैशाख २०८१ शनिबार
राजनीति

अफताब आलमको मुद्दामा सुनुवाई लम्बिदै

file photo

वीरगन्ज- २०६४ चैत २७ राति रौतहटको राजपुर फरदवामा भएको बम विस्फोटको घटनापछि मानिसहरुलाई इटा भट्टामा जिउँदै जलाएर नरसंहार गरेको भनिएको नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा सुनुवाईको तिथी सरेको छ। बिहीबार जनकपुर उच्च अदालतको वीरगन्ज पिपरास्थित अस्थायी इजलासमा मुद्दाको पेशी राखिएको थियो।

१२ वर्षअघिको बम विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेका आलम अहिले पुर्पक्षका लागि नख्खु कारागारमा छन्। सो सम्बन्धि मुद्दा जिल्ला अदालत रौतहटमा चलिरहेको छ। सुरक्षा चुनौतिका कारणले रौतहटमैं सो मुद्दाको सुनुवाईमा असहजता हुने दावी गर्दै सरकारी पक्षले उक्त मुद्दा जिल्ला अदालत पर्सामा सार्ने माग गर्दै पेश गरेको निवेदन उपर जनकपुर उच्च अदालतको अस्थायी इजलास, वीरगन्जमा बिहीबार भएको सुनुवाईमा आदालतले समय बढाएको हो।

‘नेपाल सरकारको तर्फबाट पेश भएको रौतहटबाट पर्सामा सुनुवाई सार्ने सम्बन्धमा दुबै पक्षबाट बिहीबार बहस भएको थियो, यसै मुद्दासँग जोडिएको अर्को मुद्दाको कागजात पनिसँगै राखेर सुनुवाई गर्ने भनी आदालतले माघ २ गतेको लागि अर्को पेशी दिएको छ,’ जनकपुर उच्च अदालतको वीरगन्ज अस्थायी इजलासका श्रेस्तादार ठाकुरप्रसाद खरेलले नागरिकलाई भने, ‘प्रतिवादी (आलम)को पक्षबाट थुनामा नराख्न माग गर्दै अर्को निवेदन परेकोले त्यसलाईसमेत राखेर एकसाथ सुनुवाई हुने भएको छ।’

‘प्रतिवादी मोहम्मद अफताब आलमले रौतहट जिल्ला अदालतको थुनछेक आदेश उपर यस अदालतले दिएको निवेदनमा सम्बन्धित सक्कलमिसिल साथै राखि कैफियत प्रतिवेदन गर्नु भन्ने आदेश एक न्यायाधीसको इजलासबाट २०७६/०९/१० मा भएकोमा हालसम्म उक्त प्रतिवेदन एवं सक्कलमिसिल प्राप्त भएको देखिएन,’ न्यायाधीस डिल्लीराज आचार्य र सत्यमोहन जोशीको संयुक्त इजालासले दिएको आदेशमा भनिएको छ, ‘उक्त अनुसारको कैफियत प्रतिवेदन र सम्बन्धित सक्कलमिसिल २०७६/०९/२९ गतेभित्र यस अदालतमा प्राप्त हुने गरी पठाउनु भनी रौतहट जिल्ला अदालतलाई छिटो साधनद्वारा लेखी पठाउनु।’

यस अगाडीको बुँदामा माघ २ गतेको लागि पेशी तोकिएको छ। नेपाल सरकारको तर्फबाट सहन्यायधिवक्ता कृष्णमोहन कोइराला उपन्यायधिवक्ता रुद्रनाथ पन्थी र मुहम्मद मुन्नाले बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट अधिवक्ताहरु इदुनाथ खनाल, विनय सिंह र सुधीरनाथ कर्णले बहस गरेका थिए। आदालतलाई सघाउन ‘एम्युक्सि क्युरी’मा पर्सा बार इकाईको तर्फबाट ३ जना बरिष्ठ अधिवक्ताहरुलाईसमेत बहसमा राखिएको थियो।

प्रकाशित: १८ पुस २०७६ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App