१५ चैत्र २०८० बिहीबार
राजनीति

स्थायी राजधानी बिहीबार तोक्ने सम्भावना

मकवानपुर – लामो समय यथावत रहेको प्रदेश ३ को स्थायी राजधानी अर्को साता पाउने सम्भावना भएको छ। बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले राजधानीबारे आगामी मंगलबार प्रदेशसभामा मतदान गर्ने निर्णय गरेपछि स्थायी राजधानी तोकिने भएको हो। प्रदेशसभामा नाम र राजधानीको विषयमा दलबीच सकेसम्म सहमति गर्ने र नभए मतदानमा जाने सहमति भएको बैठकमा सहभागी नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले बताइन्।

मंगलबार बस्ने प्रदेशसभाको पहिलो बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले समितिको प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। सांसदले छलफल गरेपछि उठेका प्रश्नको सभापति निरौलाले जवाफ दिनेछन्।

प्रदेशसभा बैठकले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधिको अधिनमा रही कार्यसूचीको अनुसूची १ को ढाँचामा प्रस्ताव पेस गर्न समय तोक्नेछ। मंगलबारै बस्ने प्रदेशसभाको दोस्रो बैठकले पेस भएका प्रस्तावमध्ये जिल्लाको वर्णानुक्रमअनुसार निर्णयार्थ प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ। साथै सोही दिन बस्ने तेस्रो बैठकमा नामकरणसम्बन्धी पेस भएका प्रस्तावमाथि छलफल गरी निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। सोमबार बस्ने बैठकले भने प्रदेशको नामकरण सम्बन्धमा प्रदेशसभामा प्रस्ताव पेस गर्ने, छलफल गर्ने र निर्णय प्रक्रियासम्बन्धी कार्यविधि प्रस्तुत गरी पारित गर्नेछ। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मुख्य सचेतक रामेश्वर फुयाँलले कार्यविधि प्रस्ताव गर्ने र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले समर्थन गर्ने निर्णय भएको राप्रपा सांसद रिता माझीले बताइन्।

त्यस्तै, प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पेस गर्न प्रदेशको नामकरणसम्बन्धी कार्यविधि २०७६ को अनुसूची १ बमोजिम सांसदलाई प्रस्ताव दर्ता गराउने प्रस्ताव दर्ताका लागि मंगलबार दिउँसो १ बजेसम्म तोक्ने कार्यसूची तय गरिएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा नाम र राजधानीका विषयमा छलफल गर्न समय माग गरेको थियो। तर सत्तारूढ नेकपा मुख्य सचेतक रामेश्वर फुयाँलले राजधानी र नामकरण हिउँदे अधिवेशन सुरु भएको भोलिपल्ट(मंगलबार) तोक्ने गरी मिति तोक्न आग्रह गरेका थिए।

‘यो विषयमा सर्वसम्मत नभएपछि सोमबार बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंग्याउने निर्णय भएको छ,’ कांग्रेसकी सचेतक घलेले भनिन्। प्रदेशसभाको २०७४ माघ १८ गते पहिलो बैठक बसेपछि स्थायी राजधानी र नाम तय गर्न बहस र विवाद भएपछि गठन गरिएको विशेष समितिले २०७५ असारमै प्रतिवेदन बुझाए पनि छलफल गरिएको छैन। विशेष समितिले बर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तताका आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको थियो।

संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुईतिहाइ बहुमतले निर्णय गर्ने उल्लेख छ। १ सय १० जना सांसद रहेको प्रदेशसभामा नेकपाको दुईतिहाइ बढी अर्थात् ८० सांसद छन्। त्यस्तै, नेपाली कांग्रेसको २२, विवेकशील साझा, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्रगरी ८ सांसद रहेका छन्।

प्रकाशित: १८ पुस २०७६ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App